काठमाडौं(एजेन्सी)–इङल्याण्डले जारी टी–२० सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा इङल्याण्डले दक्षिण अफ्रिकालाई १४६ रनले पराजित गरेको हो । इङल्याण्डले दिएको ३०५ रनको विशाल लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा अल आउट हुदै १५८ रन मात्र बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि कप्तान एडन माक्र्रमले ४१ रन बनाए भने बजोर्ण फच्र्युनले ३२ रनको योगदान गरे । त्यस्तै इङल्यान्डका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने साम करण, लियाम डवसन र विल ज्याकले २–२ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा २ विकेट गुमाउदै ३०४ रन बनाएको थियो । इङल्याण्डका लागि फिल साल्टले ६० बलमा १४१ रनको आक्रामक शतकीय पारी खेलेका थिए । त्यस्तै जस बटलरले ३० बलमा ८३ रन बनाएका थिए भने ह्यारी ब्रुकले ४१ र जाकोब बेथेलले २६ रन बनाएका थिए । यो जितपछि इङल्याण्डले ३ खेलको सिरिजमा कमब्याक गर्दै १–१ को बराबरी गरेको छ । अब सिरिजको अर्को खेल आइतबर हुने छ ।