काठमाडौं । २०८२ भाद्र २३–२४ गते नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति नेपाली जनसम्पर्क समिति, भारत ले गहिरो दुःख प्रकट गरेको छ। समितिका अध्यक्ष बालकृष्ण पाण्डेद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका आमाबाबुका सपना बोकेका छोराछोरी र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, जनधनमा भएको ठूलो क्षतिप्रति गम्भीर चिन्ता प्रकट गरिएको छ।
विज्ञप्तिमा तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू लोकतान्त्रिक आन्दोलनको मर्मसँग मेल नखाने उल्लेख गरिएको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत अंगमाथि भएको आक्रमणलाई अत्यन्तै गम्भीर र चिन्ताजनक भन्दै यसले लगानीको वातावरण कमजोर पारेको र पुनःस्थापनामा लामो समय लाग्ने चेतावनी दिइएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायतका नेतामाथि भएको आक्रमणको विरोध गर्दै समितिले युवाहरूका भावनाको सम्मान हुनुपर्ने भए पनि अराजक तत्वहरूको संलग्नताले आन्दोलनको उद्देश्य नै कमजोर भएको टिप्पणी गरेको छ।
विज्ञप्तिमा हाल देश राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा परेको भन्दै राष्ट्रपतिको नेतृत्वमा सुरक्षा निकायले शान्ति–सुरक्षा कायम गर्नु अपरिहार्य भएको उल्लेख गरिएको छ। साथै, सबै राजनीतिक दल, नागरिक समाज, युवा र सुरक्षा निकायलाई “पहिले देश बचाऔं” भन्ने साझा प्रतिवद्धतामा एकजुट हुन आह्वान गरिएको छ।
समितिले शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपति ज्युको पहललाई समर्थन जनाएको छ। साथै, मित्रराष्ट्र र अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई हिजोको घटनाको यथार्थ बुझेर नेपालप्रति धारणा बनाउन आग्रह गरिएको छ।
युवाहरूप्रति विशेष अपिल गर्दै समितिले भनिएको छ — “तपाईंहरूको भावना र देश बनाउने सपना अराजक तत्वहरूले दुरुपयोग गरिरहेका छन्। नेपाल आमालाई साक्षी राख्दै देश बचाउन सबैजना एकजुट हुन आवश्यक छ।”