कास्की । कस्कीको पोखरामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका निम्ति निषेधाज्ञा जारी गरिएको छ । “…निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला, जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,” कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रूद्रादेवी शर्माले जारी गरेको आदेशमा उल्लेख छ ।
आदेशको उल्लंघन गर्ने जोसुकैमाथि कारबाही गरिने जनाइएको छ ।
‘जेनजी’ पुस्ताको प्रदर्शन उग्र बनेको भन्दै यसअघि पोखरामा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो । सामाजिक सञ्जाल निष्क्रियको विरोधमा जेनजीले प्रदर्शन गरेका हुन् ।