सोमबार, भाद्र २३ २०८२
गोदावरी (ललितपुर), २२ भदौ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधनसम्बन्धी प्रस्ताव, साङ्गठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएका छन् ।
महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्ताव सर्वसम्मत पारित भएको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आ–आफ्ना निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
महाधिवेशनमा तीनवटा दस्तावेज र सातवटा प्रतिवेदनमाथि छलफल गरी सुझाव प्रस्तुत गर्न दशवटा समूह निर्माण गरिएका थिए । ती समूहमा खासगरी राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि घनिभूत छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
छलफलपछि सबै समूहबाट टोली नेताहरूले सुझाव प्रस्तुत गर्नुभएको थियो । सुदूरपश्चिम समूहबाट पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, कर्णाली प्रदेश समूहबाट प्रदेश अध्यक्ष गुलावजङ्ग शाह, लुम्बिनी प्रदेश समूहबाट प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, गण्डकी प्रदेश समूहबाट प्रदेशका कार्यवाहक अध्यक्ष मीनप्रसाद गुरुङ, बागमती प्रदेश समूहबाट प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, मधेस प्रदेश समूहबाट प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल र कोशी प्रदेश समूहबाट प्रदेश अध्यक्ष घनश्याम खतिवडा आआफ्ना समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै, केन्द्रीय निकाय, विभाग र केन्द्रीय कार्यालय समूहबाट केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, सल्लाहकार तथा आयोजक समूहबाट केन्द्रीय सदस्य चूडामणि जङ्गली र उपत्यका, जनसङ्गठन, सम्पर्क कमिटी तथा प्रवास कमिटी समूहका तर्फबाट भक्त गुरुङले समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
समूहगत प्रस्तुतिपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासा, उपाध्यक्ष पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले साङ्गठनिक प्रतिवेदनमाथिका सुझाव र जिज्ञासाबारे जवाफ दिनुभएको थियो ।
प्रतिवेदनमाथि प्रतिनिधिहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज) देशलाई हरेक क्षेत्रमा बाटो देखाउने मार्गदर्शक सिद्धान्त भएको बताउनुभयो । उहाँले माक्र्सवादलाई पार्टीले जबजका रूपमा कार्यान्वयन गर्न चाहेको र गरिरहेको बताउनुभयोे ।
“जबज सिद्धान्त हो, मूल कानुन होइन । यो मार्गदर्शक सिद्धान्त हो, यसको मार्गदर्शनमा समाजवादका आधार तयार गर्दै अगाडि बढ्दैछौँ । यस्तै परिस्थिति, कार्यनीति, रणनीतिसहित स्पष्ट भिजन राखेर हामी अगाडि बढ्नेछौँ”, अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले पार्टी निर्माणको काम गर्दा बिग्रेका मानिसहरूसँग एकता खोज्दै हिँड्नु आवश्यक नरहेको भन्दै सही नीति र विचारलाई जनतामा पुर्याएर पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
विधान संशोधनसम्बन्धी प्रस्तावबारे प्रष्ट पार्दै उपाध्यक्ष पौडेलले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जबजबाट एमाले ‘डिरेल’ भयो भनी भ्रम सिर्जना गर्न प्रायोजित प्रचार गरिएको र त्यो निन्दनीय भएको बताउनुभयो ।
उहाँले विधानको प्रस्तावनामा राखिएको नेपाली मौलिकता र विशेषतामा आधारित समाजवादबारे चर्चा गर्दै नेपालले अन्य मुलुकका समाजवादको नक्कल नगर्ने बताउनुभयो ।
उपाध्यक्ष पौडेलले पार्टी सही नीति, सक्षम तथा भरोसायोग्य नेतृत्वका साथ अगाडि बढिरहेको बताउँदै पार्टीका नीतिलाई राष्ट्रका नीतिमा अनुमोदित गर्न मिसन–२०८४ मा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार गठन गर्नु आवश्यक रहेको धारणा राख्नुभयो । सोही उत्साह र आत्मविश्वासका साथ कार्यक्षेत्रमा फर्कन सहभागी प्रतिनिधिहरूलाई उहाँले आग्रह गर्नुभयो ।
महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदनमाथि आएका सुझावका लागि धन्यवाद दिँदै जिज्ञासाबारे स्पष्ट पार्नुभयो । उहाँले जबजलाई अझ विकसित र समुन्नत बनाउँदै पार्टी अगाडि बढ्ने बताउनुभयो । जबजले दिशानिर्देश गरेबमोजिम पार्टी निर्माणमा लोकतान्त्रिकरणको अगुवाइ पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको महासचिव पोखरेलको भनाइ थियो ।
उहाँले पार्टी निर्माणको केन्द्रविन्दु मिसन २०८४ हुनुपर्ने र पार्टीलाई आगामी निर्वाचनमा एकल बहुमत दिलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले राजनीतिक प्रतिवेदन पारित भएसँगै त्यसको आधार र प्राप्त सुझावअनुसार अन्य प्रतिवेदनहरू परिमार्जन र परिस्कृत गरिने स्पष्ट गर्नुभयो ।
यही भदौ २० देखि आजसम्म सञ्चालन भएको विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता रहेको थियो । एमालेले विसं २०७८ असोजमा सोही ठाउँमा पहिलो विधान महाधिवेशन सम्पन्न गरेको थियो । दोस्रो विधान महाधिवेशन सम्पन्नसँगै अब एमाले राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुनेछ ।
एमालेको विधान २०४९ (दशौँ राष्टिय महाधिवेशन २०७८ संशोधनसहित) को धारा–१५ मा विधान महाधिवेशनको व्यवस्था गरिएको छ । सोही धाराअनुसार विधान महाधिवेशन केन्द्रीय कमिटीले दुई राष्ट्रिय महाधिवेशनको बीचमा आयोजना गर्ने उल्लेख छ ।
ओली फेरि अध्यक्ष बन्ने बाटो खुला, कार्यकाल र ७० वर्षे उमेरहदको सीमा खारेज
नेकपा एमालेको विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो औपचारिक रूपमा खुला गरिदिएको छ । ओली हाल दोस्रो कार्यकालको अध्यक्ष छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गत शुक्रबारदेखि सुरु भएर आइतबार सम्पन्न भएको दोस्रो विधान महाधिवेशनले विधान संशोधनमार्फत अध्यक्षमा दुई कार्यकाल मात्र रहने सीमा हटाइएको हो । यसैगरी ७० वर्षको उमेर हद पनि खारेज गरिएको छ । यससँगै ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुलेको हो । महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका विभिन्न प्रतिवेदनहरू पारित गरेको छ ।
यस पटकको महाधिवेशनमा सबैभन्दा बढी चासोको विषय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको प्रसंग बनेको थियो । तर प्रतिवेदनमा उक्त विषयमा कुनै प्रष्ट निर्णय नलिइएपछि केन्द्रीय कमिटीको अघिल्लो निर्णय कायम भएको एमाले नेताहरूले बताएका छन् । महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूलाई शनिबार प्रदेशगत समूहमा छलफल गरिएको थियो भने आइतबार ती समूहहरूले सुझाव प्रस्तुत गरेका थिए । विधान महाधिवेशन समापन समारोहलाई आइतबार गोदावरीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चरित्र मिल्दोजुल्दो भएकाले नजिक भएको बताए ।
‘मिल्दोजुल्दो चरित्र र राजनीतिक विचारका कारण प्रचण्ड र माधवकुमार नेपाल नजिकै नजिकै छन्’, ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘जनतालाई साथी बनाउनु र तिनको सारथि बन्नु नै हाम्रो बिचार मिल्नु हो, त्यो तागत जनमतमा छ ।’ उनका अनुसार ओलीले सडेगलेका र विचार बिग्रेकाहरूसँग एमाले सहमत र सहकार्य गर्ने पक्षमा नरहेको प्रस्ट पारे । ‘सडेगलेका र विचार बिग्रेकासँग सहमत र सहकार्य हुन सक्दैन’, ओलीले भने, ‘कम्युनिस्ट नाम र झन्डा उस्तै उस्तै हुँदैमा एकता हुँदैन ।’ उनले नेकपा एकताको प्रक्रियामा देखिएका केही बेइमानहरू अलग्गै भएको टिप्पणी गर्दै एकता प्रक्रियाका केही सारथिहरू सँगसँगै रहेको बताए । ओलीले प्रचण्डले पहिल्यैदेखि अदालतलाई आफ्नो पार्टी अलग्गै गर्न हारगुहार गरेको समेत बताए ।
यसैगरी महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताए । आइतबार पार्टी नेताहरूले सङ्गठनात्मक प्रस्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले एमालेले जबज छोड्यो भनेर अनर्गल प्रचार नगर्न पनि चेतावनी दिए । केही मिडियाले एमालेले जबज छोड्यो भन्ने खालको प्रचार गरेको भन्दै उनले त्यस्तो अनर्गल प्रचार गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
महासचिव पोखरेलले जबजलाई अघि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाइ गर्दै आएको दाबी पनि गरेको पनि उनले बताए । पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताएका छन् । ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उनले सरकारले गरेका कामलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताए । महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिए । उनले वडातहबाट काम सुरू भयो भने प्रत्यक्ष देखिनेसमेत बताए । महासचिव पोखरेलले जुन कमिटीबाट बिदा वा प्रवेश गरेको हो त्यही कमिटीले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्ने बताए । उनले नेताको व्यवस्थापन सम्बन्धित तहले गर्नुपर्नेमा जोड दिए । उनले पार्टीमा युवा र जनसङ्गठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्ने बताए ।
महासचिव पोखरेलले प्रदेशदेखि तल्लो तहमा युवाको प्रतिनिधित्व कम रहेको बताए । “४० वर्षका युवा प्रदेश र जिल्ला कमिटीमा जो प्रतिनिधि बनेर आए ती सबै नेता मात्र बने । पार्टीमा ४० वर्षमुनिका युवालाई पार्टी काममा जोड्ने काम कमजोर रहेको छ । हामीले ४० वर्ष मुनिका युवालाई पार्टी काममा लगाउन भनिए पनि सुधार हुन सकेन”, उनले भने । महासचिव पोखरेलले पार्टीले केन्द्रीय कमिटीमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेपछि पार्टी सदस्यमा महिला ३३ प्रतिशत नपुगेको बताए । “महिलाको पार्टी सदस्यता २६ प्रतिशत मात्र रहेको छ । पाटी सदस्य विस्तार नगरिकन सक्षम नेतृत्व निर्माण हुन सक्दैन”, उनले जवाफ दिने क्रममा भने ।
महासचिव पोखरेलले २०४३ सालमा स्ववियु निर्वाचनमा पार्टीले एउटा मोटरसाइकल उपलब्ध गराउँदा खुसी भएको प्रसङ्ग उल्लेख गर्दै आइतबारको सामाजिक अपेक्षाअनुसार नेताको जीवन सरल हुनुपर्ने बताए । “पार्टी नेता तथा कार्यकर्ताको जीवनशैली तडकभडक जुन बढेको छ त्यसलाई जनताले निगरानी गरिरहेका छन्”, उनले भने । उनले समूह नेताबाट आएका लिखित प्रस्तावलाई साङ्गठनिक प्रतिवेदनमा समेट्ने जानकारी दिए ।
भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको सङ्गठनलाई गतिशील, प्रभावकारी र चलायमान बनाउन भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक रहेको बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आइतबार विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्नको जवाफ दिँदै उपाध्यक्ष पौडेलले केन्द्रीय कमिटीको अनुमतिमा राजधानी बाहिरका सहरी क्षेत्रमा पनि सम्पर्क समिति बनाउनुपर्नेमा जोड दिए ।
उपाध्यक्ष पौडेलले महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटी १५ जना पदाधिकारीसहित २५१ हुने र सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षको उमेर हदलाई हटाइएको उपाध्यक्ष पौडेलले जानकारी दिए । त्यस्तै, पार्टी सदस्यतामा पनि पार्टी सदस्य र सङ्गठित सदस्य गरी दुई खालको हुनुपर्ने उनको भनाइ थियो । प्रदेश अधिवेशन चार–चार वर्षमा, केन्द्रीय महाधिवेशन पाँच वर्ष हुने उपाध्यक्ष पौडेलले जवाफका क्रममा बताएका छन् । “सही र सूचित नीति, भरोसायोग्य नेतृत्वलाई आधार बनाएर अगाडि बढौँ, एकताबद्ध भएर एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानका साथ अगाडि बढौँ, एउटै व्यक्ति पार्टी र जनसङ्गठनको सदस्य हुन पाउँछ, तर एउटा व्यक्ति एउटामात्रै जनसङ्गठनमा बस्न पाउँछ”, उनले भने ।
उपाध्यक्ष पौडेलले हरेक प्रदेशबाट एक जना केन्द्रीय प्रतिनिधि राख्ने कुरा राम्रो भए पनि विधानमा नै उल्लेख गर्न आवश्यक नरहेको बताए । समूहगत छलफलबाट प्रदेश र स्थानीय तहमासमेत नीति अनुन्धान प्रतिष्ठान बनाउन गरिएको प्रस्तावमाथि जवाफ दिदैं उपाध्यक्ष पौडेलले पार्टीको नीति तय गर्ने एउटामात्रै नीति अनुन्धान प्रतिष्ठान केन्द्रीय तहमा हुने र स्थानीय कमिटीले सुझाव दिन सक्ने बताए ।
उनले सहकारीलाई पार्टीको संरचनामा समेट्नु उपयुक्त नहुने धारणा राखे । उनले प्रदेश र स्थानीय कमिटीमा १५ प्रतिशत र आयोगका कमिटीमा १० प्रतिशत मनोनयनको व्यवस्था उचित समेत उल्लेख गरे । स्थानीय, प्रदेश र केन्द्रीय तहबाट हुने मूल्याङ्कनलाई व्यवस्थित र वैज्ञानिक बनाउन जरुरी रहेको चर्चा गर्दै उनले नेता तथा कार्यकर्तालाई उत्पादनसंग जोड्नुपर्नेमा जोड दिए । “पार्टी अभ्यासमा भएको कमजोरीले कारबाहीमा समस्या भएको छ, अन्तरघातका सम्बन्धमा थाहा पाउनेबित्तिकै विधानको व्यवस्थाको कार्यान्वयन गरेर कारबाही गर्नुपर्छ, उत्पादन, विकास निर्माण, समृद्धि र जनताका सरोकारसँग जोडिएका कार्यकर्ता निर्माणका लागि ध्यान दिऔँ”, उनले भने । उनले प्रदेश र स्थानीय कमिटीमा पूर्वअध्यक्ष वा निवर्तमान अध्यक्षलाई दोस्रो वरियता दिनु घातक हुन्छ र यसले समस्या सृजना गर्ने बताए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij