ललितपुर(जस)–नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान महाविधेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सकिएको छ । ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हिजोदेखि जारी दोस्रो महाधिवेशनमा शनिबार प्रस्तुत गरिएका सात वटा प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न भएसँगै शनिबारको बन्दसत्र सकिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनमा सहभागी प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै छलफल गरेका थिए । यस्तै, उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना तथा केन्द्रीय निकायले प्रतिवेदनमाथि छलफल गरेका थिए ।
प्रतिनिधिहरुलाई महाधिवेशनमा प्रस्तुत गरिएका दस्तावेजमा मात्र छलफल गर्न निर्देशन दिइएको भएपनि प्रतिनिधिहरुले विद्या भण्डारीको सदस्यताको विषय पनि उठाएका छन् । उद्घाटन सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेसनमा प्रस्तुत भएका विषय बाहेक अन्य विषय छलफल नहुने स्पष्ट गर्दै भण्डारीको सदस्यता विषय छलफल नहुने संकेत गरेका थिए । तर प्रतिनिधिहरुले अध्यक्ष ओलीको निर्देशनलाई अवज्ञा गर्दै भण्डारीको सदस्यताको विषयमा कुरा उठाइरहेको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । महाधिवेशनमा मन्तव्य दिने क्रममा पनि अध्यक्ष ओलीले राजनीतिक, सांगठनिक र विधान संशोधनको बिषयमा केन्द्रीत हुन निर्देशन दिएका थिए । आफ्नो राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले पेश गरेको सांगठनिक प्रतिवेदनमाथि केन्द्रीत हुन ओलीको निर्देशन थियो ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढंगले उचालिएको भन्दै भण्डारीको पार्टी सदस्यताको विषय महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल नै हुन नसक्ने बताएका थिए । उनले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषय कमिटीगत छलफलको विषय भएकाले सोही ठाउँमा त्यस विषयसँग छलफल हुने भन्दै छलफल नगर्न निर्देशन दिए । ‘विधान महाधिवेशनको बेला केही विषयहरू अनावश्यक ढंगले अघि बढाइएका छन् । ती कुराहरू विधान महाधिवेशनसँग सम्बन्धित छैनन् । ती विषयहरू अन्यत्रै कमिटीगत छलफलका विषय हुन् । ती स्थायी कमिटी वा केन्द्रीय कमिटीमा छलफलका विषय बनाउँछौँ । विधान महाधिवेशनमा विधानको विषयमा केन्द्रित भएर छलफल हुन्छ,’ ओलीले भनेका थिए । शनिबार १० वटा समूहमा विभाजन गरी प्रतिनिधिहरूलाई आ–आफ्ना क्षेत्रमा तोकिएको प्रतिवेदनमाथि छलफल गर्न लगाइएको छ । तर अध्यक्ष ओलीको निर्देशन विपरित बहस पूर्व उपाध्यक्ष समेत रहेका भण्डारीको सदस्यता विवाद केन्द्रीत भएको छ । १० वटै समूहमा भण्डारी सदस्यता विवादको बारेमा प्रतिनिधिहरुले प्रश्न उठाएका छन् ।
प्रचार विभाग प्रमुख गौतमले आइतबार बिहान ८ बजेबाट सुरु हुने महाधिवेशनमा शनिबार प्रतिवेदनमाथि छलफल गरेका समूहका टोली नेताले आआफ्नो समूहका तर्फबाट प्रतिवेदनमाथि सुझाव दिने कार्यक्रम रहेको जानकारी गराए । उनले भने, “त्यसरी आएका सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । भोलि नै समसामयिक प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न हुनेछ ।” आइतबार ८ बजेदेखि विधान महाधिवेशनको बन्दसत्र आह्वान हुने गौतमले बताए । उनले बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूह नेताहरुले आफ्नो प्रस्तुति राख्ने र त्यसको जवाफ पार्टी अध्यक्षले दिने समेत कार्यसूची रहेको बताए । ‘भोलि ८ बजेदेखि बन्दसत्र आह्वान भएको छ । बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूह नेताहरुले आफ्नो प्रस्तुति राख्नुहुनेछ । ति प्रस्तुतिहरुपछि पार्टी अध्यक्षले त्यसको जवाफ दिनुहुनेछ,’ उनले भने, ‘र कुनै मुद्दामा विवाद भएमा त्यसमा निर्णयार्थ प्रस्तुत गरेर एउटा प्रक्रियाबाट निष्कर्षमा पुर्याउने काम हुन्छ । त्यसपछि समसामयिक घटनाक्रममा आधारित भएर केही महत्वपूर्ण प्रस्तावहरु पारित भएपछि अधिवेशन समाप्त हुन्छ ।’
महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आआफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेका थिए । स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतसम्बन्धी प्रस्तावमा पनि समूहगत छलफल गरिएको थियो । महाधिवेशनमा आइतबार केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची रहेको एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।