काठमाडौँ(जस)–नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले बिहीबार दज्र्यानी चिन्ह् लगाएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन् । सो अवसरमा गृहसचिव दुवाडीले सरकारले क्षमता, कार्यदक्षता, जेष्ठतालगायत आधारमा प्रहरीको सर्वोच्च पदमा खापुङलाई नियुक्त गरी जिम्मेवारी प्रदान गरेको बताए । मुलुकमा शान्ति, सुव्यवस्था र सुुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न र सामाजिक न्याय कायम गर्न प्रहरीको अहम भूमिका रहेको उनले बताए ।
“आम नागरिकलाई सुरक्षित छु भन्ने महसुश गराउनु नै हामी सबैको कर्तव्य हो । आम नागरिकको नजिक रहेर उनीहरूको सुखदुःखको साथी बन्न सक्नु प्रहरीको प्रभावकारीताको मापन पनि हो । नेपाल प्रहरीको साख अझ बढी राम्रो बनाउन सफल हुनुहोस”, सचिव दुवाडीले भने, “सकल दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च बनाइ प्रहरी सङ्गठनको उद्देश्य पुरा गर्न सफल हुनेमा आशावादी छौँ ।”
समाजमा अपराधिक गतिविधि चुनौती बन्दै गएको उल्लेख गर्दै सचिव दुवाडीले भने, “अपराधका नयाँ नयाँ श्रृङ्खला बढिरहेका छन् । सबै अपराधका गतिविधि नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्न जुरुरी छ ।”
त्यसैगरी नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले आफूले सकेको राम्रो गर्ने बताए । “सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन”, उनले भने, “सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छु ।” अपराध अनुसन्धानमा चुनौती रहेको उल्लेख गर्दै नवनियुक्त महानिरीक्षक खापुङले कृत्रिम बुद्धिमत्ता (एआई), साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तरराष्ट्रियस्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उनले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन आवश्यक रहेको बताए ।
खापुङको निर्देशन
नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सामूहिक भावना र भातृत्वभावका साथ आ–आफ्नो जिम्मेवारी बहन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहमा उनले सङ्गठनको दीर्घकालीन श्रीवृद्धि, व्यावसायिकता र प्रतिष्ठाको प्रवद्र्धनका लागि सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व बोध गरी खटिन निर्देशन दिए । प्रहरी महानिरीक्षक खापुङले फौजदारी न्याय प्रणालीको प्रमुख अङ्गका रूपमा प्रहरीले देशव्यापी सञ्जालमार्फत अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका साथै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापनलगायत कार्यमा राज्यको पहिलो प्रतिनिधिको रूपमा आफ्नो उपस्थिति देखाउनुपर्ने बताए ।
उनले आमनागरिकको अपेक्षालाई शिष्ट आचरण एवम् व्यवहारका साथ सम्बोधन गर्दै आम नागरिकको हृदयमा आस्था, विश्वास र भरोसा कायम राख्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । प्रहरी महानिरीक्षक खापुङले राष्ट्र र नागरिक सेवामा आफ्नो निजी स्वार्थ तथा व्यक्तिगत लाभभन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै संगठनले निर्दिष्ट गरेको अनुशासन पालना र व्यावसायिक प्रहरी कर्मचारीको मर्यादाको सीमाभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न सचेत गराए ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, शिक्षालयका प्राचार्यलगायत उपस्थिति थिए । यही भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी सङ्गठनको ३२ औँ महानिरीक्षक पदमा पदोन्नति गर्ने निर्णय गरेको थियो । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले महानिरीक्षक खापुङलाई दज्र्यानी चिन्हबाट सुशोभित गरेका थिए ।
तेह्रथुमको मेन्छयायेम गाउँपालिका–६ मा पिता ललितबहादुर र माता गङ्गामायाको परिवारमा २०२७ मङ्सिर २३ गते जन्मनुभएका प्रहरी महानिरीक्षक खापुङले २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गरेका थिए । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको पहिचान बनाउनुभएका उन २०६४ मा प्रहरी नायब उपरीक्षक, २०७३ मा प्रहरी उपरीक्षक, २०७७ मा प्रहरी वरिष्ठ उपरीक्षक, २०८० मा प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लैङ्गिक अध्ययनमा स्नातकोत्तर गरेका प्रहरी महानिरीक्षक खापुङले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, प्रोग्राम अन क्यापासिटी बिल्डिङ फर क्राइम प्रिभेन्सन् स्ट्राटेजी डेभलपमेन्ट, एसिया रिजन ल इन्फोर्समेन्ट मेनेजमेन्ट प्रोग्राम, अपराध अनुसन्धानलगायत विभिन्न १४ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् । उन प्रवल जनसेवा श्री र गद्दी आरोहण रजत पदकलगायत विभूषणबाट विभूषित छन् ।