सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अटेरी सामाजिक सञ्जालमाथि सरकारको एक्सन मेटा सम्पर्कमा, विकल्पको खोजीमा प्रयोगकर्ता

बिहिबार, भाद्र १९ २०८२

काठमाडौँ,सरकारको औपचारिक आह्वानको बेवास्ता गर्ने स्वदेशी र विदेशी कम्पनीद्वारा सञ्चालित सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकार पुगेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट सूचीकरण नभएका वा दर्ता नभएका सामाजिक बन्द गर्ने निर्णय गरेको हो । 
यो निर्णयसँगै चौतर्फी तरंग उत्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार नै एक विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको जनाएको छ । 

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्थाका लागि निर्णयअनुसार जानकारी गराइएको छ ।’
पटक–पटक दर्ता प्रक्रियामा आउन आग्रह गरेपनि सामाजिक सञ्जालहरू दर्ता प्रक्रियामा नआएपछि सरकार ती सञ्जालहरू बन्द गर्ने निर्णयमा पुगेको प्राधिकरणको भनाइ छ । 
मन्त्रालयले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिंक्डइन, स्न्यापच्याट, रेडिट, वी च्याट, थ्रेड, इमोसहित २६ सामाजिक सञ्जाल ब्लग गर्ने निर्णय गरेको हो । 

सर्वोच्च अदालतको पूर्ण इजलासले स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालन पूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामग्रीहरूको मूल्याङ्कन र अनुगमन गर्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो । 

उक्त आदेशको परिपालनाका लागि भदौ ९ को मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले ७ दिनको म्याद दिई सामाजिक सञ्जालहरूलाई सूचीकरणका लागि भदौ १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । तर, तोकिएको समयभित्र पनि सूचीकरणका लागि नआएका सामाजिक सञ्जालहरूको हकमा ब्लक गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । 

यससँगै अब टिकटक, भाइबर, निम्बुज, विटक, पोपोलाइभमात्रै नेपालमा चल्ने भएका छन् । फेसबुक बन्द हुनुअघि भाइबरमा प्रयोगकर्ताको निकै आकर्षण देखिएको छ । आपसी सम्पर्कका लागि विभिन्न सरकारी तथा गैरकारकारी निकायले भाइबरको सम्पर्क विवरण सार्वजनिक गरिरहेका छन् । यस्तै टिकटक यसअघि नै चर्चित रहेकाले उसको पनि आकर्षण थप बढेको छ । 
यसैबीच सरकारले निष्क्रिय गर्न निर्देशन दिएका सामाजिक सञ्जालमध्ये हाम्रो पात्रो बन्द नहुने भएको छ ।  बिहीबार सरकारको निर्णयसँगै हाम्रो पात्रो सूचीकरणका लागि आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ठाकुरले जानकारी दिए ।

उनका अनुसार यो साइट ह्वाइट लिस्टमा गइसकेको छ । त्यसैले यो तत्कालै बन्द हुँदैन । फेसबुकको संस्थापक कम्पनी मेटाले पनि अहिले सूचीकरणका लागि चासो देखाएको छ । 
प्रवक्ता ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित कर्मचारीले सञ्चारमन्त्रीका स्वकिय सचिवसँग सूचीकरणका लागि आवश्यक डकुमेन्टबारे जानकारी माग गरेको र आफूहरूले यसको रेस्पोन्स गरिसकेको बताए । 

यद्यपि यही आधारमा मेटाका साइटहरू ह्वाइट लिस्टमा भने नगएको उनको भनाइ छ । अब सरकारले राखेको सर्त पूरा गरेपछि मात्रै सरकारको सूचीमा रहेका साइटहरु नेपालमा चल्नेछन् । अन्यथा बन्द निरन्तर हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार