शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

आइतबार, भाद्र १५ २०८२

काठमाडौं(जस)–रुपन्देही–३ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापा उम्मेदवार हुने भएका छन् । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आइतबार थापालाई चुनाव चिह्न ‘घण्टी’ प्रदान गर्दै उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन् । रुपन्देहीको सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा पार्टीको प्राइमरी इलेक्सन, लिडरशिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीको विधिबाट अन्य आठ आकांक्षीलाई पछि पार्दै उम्मेदवार चयन भएका हुन् । उक्त प्रतिस्पर्धामा सुलभ खरेल (बुटवल–१६), पार्थिवेन्द्र उपाध्याय (सिद्धार्थनगर–७), ज्ञानु पौड्याल (सिद्धार्थनगर–८), जीतबहादुर गुप्ता (सिद्धार्थनगर–१), कुसुम महर्जन (मध्यपुर ठिमी–६, भक्तपुर), रचना क्षेत्री (सिद्धार्थनगर–३), पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर–८) र मधुप्रसाद अर्याल (बुटवल–१७) आकांक्षी बनेका थिए ।
डा. थापाले नेपाली न्युरो–साइन्सको विकास, स्ट्रोक उपचार र अनुसन्धानमा करिब १६ वर्ष बिताएका छन् । पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र चितवनको कलेज अफ मेडिकल साइन्सेजबाट डीएम न्युरोलोजी गरेका उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’ कार्यक्रम समेत पूरा गरेका छन् । उनका ८० भन्दा बढी अनुसन्धानात्मक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षका रूपमा उनले स्ट्रोक उपचार, निदान र सचेतनामा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनको नेतृत्वमा स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको राष्ट्रिय स्ट्रोक उपचार प्रोटोकल जारी भएको छ ।
थापाले आफ्नै पहलमा हजारौँ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत तालिम दिँदै आएका छन् । काठमाडौँको व्यस्त जीवनशैलीलाई पन्छाउँदै उनले डेढ दशकदेखि हरेक हप्ता दुई दिन जन्मभूमि भैरहवा पुगेर बिरामीको उपचार गर्दै आएका छन् । उम्मेदवार घोषणा कार्यक्रममा डा. थापाले आफ्नो उम्मेदवारीलाई सामान्य निर्वाचन नभई ‘क्रान्ति’ को सुरुवातका रूपमा चित्रित गरे । “मेरो ९६ वर्षीया आमाले अझै परिवर्तनको प्रतीक्षा गर्नुभएको छ । यो चुनाव होइन, क्रान्ति हो,” उनले भने ।
थापाले पार्टीका नेता डीपी अर्याल, स्वर्णिम वाग्ले, विपिन आचार्यलगायतलाई विशेष धन्यवाद दिंदै आफूलाई राजनीतिमा होमिन प्रेरित गरेको उल्लेख गरे । “मैले आफ्ना व्यक्तिगत पेसागत अवसरलाई पछाडि पार्दै सामाजिक क्षेत्रमा योगदान गर्नुपर्ने अठोटका साथ राजनीतिमा प्रवेश गरेको हुँ,” उनले भने । थापाले रुपन्देहीका जनताले देखाएको सद्भाव र विश्वासले आफूलाई थप जिम्मेवारीबोध भएको बताए । उनले आमाबुबाप्रति कृतज्ञता प्रकट गर्दै आमाको जीवनकालमै अपेक्षित परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गरे । “रुपन्देहीका जनतालाई म कहिल्यै नबिर्सनेछु । उनहरुले दिएको माया र विश्वास नै आइतबार म यो स्थानमा आइपुग्नको कारण हो,” उनले भने ।
थापाले पार्टी सभापति रवि लामिछानेको ‘यो इलेक्सन होइन, यो रिभोलुसन हो’ भन्ने भनाइ उद्धृत गर्दै अभियानलाई रुपन्देही–३ बाट परिवर्तनको मोडलका रूपमा अघि बढाउने संकल्प व्यक्त गरे । “यदि छोटो यात्रा गर्न चाहनुहुन्छ भने एक्लै जान सक्नुहुन्छ, तर टाढा जान सँगै जानुपर्छ भन्ने भावना बोकेर हामी अघि बढ्नेछौं,” उनले भने । उम्मेदवार घोषणासँगै थापाले सञ्चारकर्मी, देश–विदेशमा रहेका नेपाली डायस्पोरा र प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आशा गुमाएका जनतालाई फेरि आशा गर्ने आँट गर्न आग्रह गर्दै “हामी निराशा दिनेछैनौं” भन्ने वाचा गरे । रास्वपाले रुपन्देही–३ को उपनिर्वाचनलाई संगठन सुदृढ पार्ने अवसरका रूपमा लिएको छ । डा. थापाले उम्मेदवारीसँगै रुपन्देहीमा रास्वपाको उपस्थितिलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् । थापो अब रास्वपाबाट उम्मेदवारी दर्ता गराउनेछन् । उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार