शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री ओली र मोदीबीच अनौपचारिक भेट

सी र मोदीको भेटमा ड्र्यागन र हात्ती एकजुट हुने चर्चा

आइतबार, भाद्र १५ २०८२

काठमाडौं(जस)–प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा उनीहरूबीच अनौपचारिक कुराकानी भएको हो ।
चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओलीसँग भएको अनौपचारिक भेटको तस्बिर समकक्षी मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन् । उनले थियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको बताएका थिए । नेपालसँग भारतको सम्बन्ध निकै गहिरो र विशेष भएको पनि भारतीय प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग उभिएर भएको भलाकुसारीको तस्विर सार्वजनिक गर्दै मोदीले नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेको बताएका हुन् । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिनको लागि चीन पुगेका हुन् । प्रधानमन्त्री ओलीले शनिबार चीन पुगेकै दिन चिनियाँ राष्ट्रपति सि जिनपिङ भेटवार्ता गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले भने आइतबार तियान्जिनमा विश्वका विभिन्न देशका नेताहरुसँग उभिएर भेटेका तस्विर सार्वजनिक गरेका छन् । सुरुमा नेपालका प्रधानमन्त्री ओलीसँग उभिएर हात समाएर गरेको भेटको तस्विर सार्वजनिक गर्दै सामाजिक सञ्जाल एक्समा नेपालसँगको गहिरो सम्बन्ध रहेको लेखेका छन् ।
जहाँ प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यले मोदीलाई नमस्कार गरेकी छिन् । लगत्तै, मोदीले एक्समा माल्दिभ्सका राष्ट्रपतिसँग उभिएरै भेटेको तस्विर सार्वजनिक गरे । त्यसपछि इजिप्टका प्रधानमन्त्री, बेलारुसका राष्ट्रपति, ताजिकिस्तानका राष्ट्रपतिसँग पनि उभिएरै भेटेको तस्विर मोदीले सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओली र मोदीबीच यही भेटवार्ता नै साइडलाईन भेटवार्ता हो वा होईन भन्ने खुलेको छैन । तर, प्रधानमन्त्री ओलीले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने कार्यक्रम तय भएको छ । पुटिनपनि चीन ओर्लिएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते काठमाडौं फर्कने कार्यतालिका छ ।
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहेका दुई प्रधानमन्त्रीबीच आइतबार भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री चिङले उपराष्ट्रपति भो थि आन सुआनको हालैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका निम्ति आमन्त्रण गरे । प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लडाइँमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा सो मुलुकले गरेको प्रगति सबैका निम्ति प्रेरक रहेको बताए । प्रधानमन्त्री ओलीले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्तति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरे । उनले समकक्षी चिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गर्नुुभयो । भेटमा भ्रमण दलमा सहभागी मन्त्रीहरु, सांसदहरु र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।
ड्र्यागन र हात्ती एकजुट हुनुपर्छ
यता चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको प्रतिनिधिमण्डल स्तरको वार्तामा आफ्नो प्रारम्भिक टिप्पणीमा चीन र भारत मित्र हुनु र ‘ड्र्यागन र हात्ती’ एकजुट हुनु महत्त्वपूर्ण रहेको बताएका छन् । संसार जटिल र अस्थिर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सीले चीन र भारत दुवैका लागि – दुई प्राचीन सभ्यताहरू, दुई सबैभन्दा बढी जनसङ्ख्या भएका मुलुकहरू र विश्वव्यापी दक्षिणका सदस्यहरू – मित्र र असल छिमेकी बन्नु, एकअर्काको सफलतालाई सक्षम पार्नु र ‘ड्र्यागन र हात्ती सँगै नाच्नु नै सही छनोट हो’ भने । सीले भने, “प्रधानमन्त्री मोदीलाई फेरि भेट्न पाउनु र साङ्घाई सहयोग सङ्गठन (एससिओ) को तियानजिन शिखर सम्मेलनमा चीनमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ ।”
प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय बैठकमा उनले भने, “गत वर्ष हामीले कजानमा सफल भेटवार्ता ग¥यौँ, जसले चीन–भारत सम्बन्धलाई नयाँ सुरुआत दियो । हामीले सहमत भएका महत्त्वपूर्ण बुँदाहरूलाई दुवै पक्षले कार्यान्वयन गरेका छन् र द्विपक्षीय आदानप्रदान तथा सहयोगले प्रगति गरेको छ ।” सीले भने, “आइतबार संसार शताब्दीमा एक पटक मात्र हुने परिवर्तनबाट प्रभावित छ । अन्तर्राष्ट्रिय अवस्था अस्थिर छ । चीन र भारत दुई प्राचीन सभ्यताहरू, विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका मुलुकहरू र ग्लोबल साउथका महत्त्वपूर्ण सदस्यका रूपमा दुवैले जनताको हित सुधार्ने, विकासोन्मुख मुलुकहरूको एकता बढाउने र मानव समाजको प्रगतिलाई अघि बढाउने ऐतिहासिक जिम्मेवारी बोकेका छन् । असल छिमेकी र सौहार्दपूर्ण साथी, एकअर्काको सफलतालाई सक्षम बनाउने साझेदार र ड्र्यागन र हात्तीलाई सँगै नचाउन दिनु नै सही निर्णय हो ।” सीले यस वर्ष चीन–भारत कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सव भएको स्मरण गर्दै भने, “दुवै पक्षले सम्बन्धलाई रणनीतिक उचाइ र दीर्घकालीन दृष्टिकोणबाट हेर्नु आवश्यक छ । यसरी मात्रै सम्बन्धलाई दिगो, स्थिर र सुदृढ विकासतर्फ अघि बढाउन सकिन्छ । बहुपक्षवादलाई समर्थन गर्दै, बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा लोकतन्त्र ल्याउन, एसिया र विश्वमा शान्ति र समृद्धिको योगदान दिन हामीले मिलेर काम गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्रको अवलोकन
शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया)को भ्रमण गरेका छन् । प्रधानमन्त्री ओलीले हुवाइगाउँ भिलेजस्थित सो क्षेत्रमा जेडी ९३९ धानको बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिएका ह्न् ।
यसैगरी शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् । चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री छन् । अवलोकनमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी थिए । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ चीन आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार