क्वालालम्पुर । नेपाली राजदूतावास, क्वालालम्पुरको आयोजनामा बिहीबार नेपालमा लगानी वातावरण र उद्यमशीलताको सम्भावनाबारे विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधि, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, राजदूतावासका कर्मचारी लगायत व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा नेपालमा वैदेशिक लगानीका सम्भाव्यता, लगानीमैत्री कानूनी संरचना, ऊर्जा, पर्यटन, पूर्वाधार, कृषि, सूचना प्रविधि तथा उत्पादन क्षेत्रका अवसरबारे छलफल भएको दूतावासले जनाएको छ ।
डा. खतिवडाले नेपाल सरकार लगानी प्रोत्साहनका लागि अनुकूल नीतिहरू लागू गरिरहेको उल्लेख गर्दै विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले “नेपाल भौगोलिक हिसाबले विशाल बजारसँग नजिकको अवसरयुक्त मुलुक भएकाले मलेसियाली लगानीकर्ताले पर्यटन, जलविद्युत्, उत्पादन र सेवा क्षेत्रमा लाभदायी रुपमा लगानी गर्न सक्ने” विश्वास व्यक्त गर्नुभयो ।
यस अवसरमा मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिहरूले पनि नेपालप्रतिको चासो व्यक्त गर्दै, भविष्यमा दुवै देशबीच व्यापार र लगानी प्रवर्द्धनका लागि सहकार्य गर्न इच्छुक रहेको बताए ।
डा. खतिवडा Boao Forum for Asia–Pacific Regional Cooperation Roundtable मा सहभागी हुन क्वालालम्पुर आउनुभएको हो ।