काठमाडौं(जस)–नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको काठमाडौं क्रोनिकल्स एक नयाँ अनि रमाइलो अनुभव हो । एमक्यूब नेपाल अन्तर्गत म्यारियट काठमाडौंद्वारा हरेक वर्ष आयोजना हुने रिट्रिटका रूपमा ल्याइिएको यो पहलले सहकार्य र सम्बन्धलाई सम्मेलन हलमा मात्र सीमित नराखी नेपालको जीवित सम्पदासम्म पु¥याउने प्रयास गरेको छ ।
यो कार्यक्रम म्यारियटका एमआईसीई (मीटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) पार्टनर र सरोकारवालाहरूका लागि विशेष रूपमा तयार पारिएको हो। यसले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै काठमाडौंको सांस्कृतिक सम्पदालाई पर्यटकीय यात्रामार्फत चिनाउने लक्ष्य राखेको छ । काठमाडौं क्रोनिकल्सको मूल आकर्षण भनेको काठमाडौं उपत्यकाका तीन प्रमुख सम्पदा स्थलहरू काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथमा आयोजना गरिने ‘ट्रेजर हन्ट’ हो । सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी बीवाईडीका गाडीमार्फत यी स्थलहरूमा लगिनेछ, जहाँ उनीहरूले विभिन्न पजलहरू समाधान गर्ने, टास्कहरू पूरा गर्ने र ती स्थलका कथालाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाउनेछन् ।
यसले नेपाललाई एमआईसीई (मीटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) गन्तव्यका रूपमा प्रस्तुत गर्दै यहाँका व्यवसायिक भेला र सम्मेलनहरूलाई अनौठा सांस्कृतिक अनुभवसँग संयोजन गर्न सकिने प्रमाणित गरेको छ । ऐतिहासिक चौतारोदेखि प्राचीन मन्दिरसम्म, प्रत्येक स्थानहरू रमाइलो गर्न, ज्ञान साटासाट गर्न र टिम स्पिरिट जगाउन सहयोग हुने अनुभवहरूमा परिणत हुनेछन्। कार्यक्रम म्यारियट काठमाडौंबाट सुरु भएर फेयरफिल्ड बाइ म्यारियटमा गएर समापन हुनेछ, जहाँ विजेता टोलीलाई ‘काठमाडौं एक्सपट्र्स’ को उपाधि समेत प्रदान गरिनेछ । एमक्यूब र बीवाईडीबीचको यस सहकार्यले सहभागीहरूलाई केवल मीठा सम्झनाहरू मात्र नभई काठमाडौंलाई सम्पदा र अतिथ्यको सहरका रूपमा चिन्ने नयाँ दृष्टिकोण पनि प्रदान गर्नेछ ।