काठमाडौं(जस)–वामदेव गौतमले आफूलाई नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता पद मन नपरेको बताएका छन् । सोमबार पार्टी पूनर्गठन दिवस–२०८२ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वरिष्ठ नेताको पद आफू्रलाई त्यो बेला पनि मन नपरेको र अहिले पनि मन नपरिराखेको बताए ।
‘मलाई वरिष्ठ नेता भन्ने मन परेको छैन । अहिले पनि परेको छैन, त्यसबेला पनि परेको थिएन । किन वरिष्ठ भनेको ? लामो समय, धेरै बुढो, त्यसो हो भने त म स्वतः वरिष्ठ छदैछु । यो पार्टीमा रहनका लागि त्यो संरचना मैले बोक्नुपर्छ भन्ने बुझेको हुनाले मैले त्यो बोकेको छु । मैले खुसी भएर बोकेको होइन । कुनै पनि पद यस्तो किसिमको सिर्जना गर्नुपर्छ कम्युनिष्ट पार्टीले जसको जनतासित सम्बन्ध हुने पद हुनुपर्यो,’– उनले भने । गौतमले अध्यक्षको सम्बन्ध सिधै जनता र पार्टीका सबैसित हुने, महासचिवको सम्बन्ध संगठनसँग हुने बताउँदै वरिष्ठ नेताको पद केसँग सम्बन्धित छ ? भन्दै प्रश्न गरे । उनले आफूले के काम गर्ने भन्ने कुराको थाहा नपाएको बताए ।
‘पार्टी अध्यक्ष जनतासित पनि भयो, पार्टीका सबैसित भयो । महासचिव संगठनसित सम्बन्धित भयो । संगठन विभाग भन्ने छ, त्यो संगठनसित सम्बन्धित भयो । वरिष्ठ नेता के–सँग सम्बन्धित छ ? मलाई भन्दिनुस् त ? मैले के काम गर्ने ? त्यसो भएर पदले काम बोक्नुपर्छ,’– उनले भने । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच गत साउन २ गते एकता भएको थियो । एकतापछि गौतमलाई वरिष्ठ नेतासहित पार्टीमा तेस्रो वरियता दिइएको थियो । गौतमले संगठन विभागको जिम्मा मागे पनि उनलाई त्यो जिम्मेवारी नदिइसकेपछि असन्तुष्टि व्यक्त गरेका हुन् ।
पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन ः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा अनुशासनहीन काम गर्ने कसैलाई पनि छुट नदिने चेतावनी दिएका छन् । पार्टी पूनर्गठन दिवस २०८२ को अवसरमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले भने पार्टी उद्देश्यअनुसार अघि बढेको भन्दै कोही पनि विचलित हुन नपर्ने बताए । तर, पार्टी सिध्याउन खोज्नेलाई नछोड्ने उनको चेतावनी छ । उनले भने,‘जे गर्नुछ भित्र राख्ने हो । अनुशासनहिनतालाई छुट दिन सकिँदैन । ज–जसले अनुशासनहीन काम गर्छ भने छुट दिन सकिँदैन, पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा होइन । त्यस्तालाई छुट दिन सकिँदैन । पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन ।’
मुलुकको सार्वभौमिकताको रक्षाका लागि पहलकदमी गर्न आग्रह
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सार्वभौमिकता, भूगोलको रक्षाका लागि आवश्यक सबैखाले पहलकदमी लिन सरकारलाई आग्रह गरेका छन् । पार्टीको चौथो स्थापना दिवसका अवसरमा सोमबार एक विज्ञप्ति जारी गर्दै उनले देशको सार्वभौमिकता रक्षाका लागि सम्बन्धित पक्षलाई सबैको सहकार्य र समन्वयबाट दबाब दिनुपर्ने बताउँदै नेपाली भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरूलाई समेत आह्वान गरे ।
मजदुर, किसान तथा उत्पीडित वर्गलाई राजनीतिक तथा सामाजिक अधिकार उपलब्ध गराउने उद्देश्यले कम्युनिष्ट आन्दोलनको मूल उद्देश्यले स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले चार वर्ष पूरा गरेको जनाउँदै अध्यक्ष नेपालले सम्पूर्ण पार्टी पङ्क्ति, समर्थक, शुभचिन्तकलगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्दै जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र जनजीविकाको प्रश्नलाई प्रमुख ‘एजेण्डा’ बनाउँदै आएको एकीकृत समाजवादीले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई आफ्नो आधार मानेर श्रमिक–किसान, दलित, महिला, उत्पीडित तथा अवसरबाट वञ्चित वर्गको हितमा दृढतापूर्वक अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
समाजवाद उन्मुख लोकतन्त्रलाई मजबुत पार्ने, समतामूलक समाज निर्माण गर्ने र गरिब, किसान तथा उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने सङ्कल्प गर्नुपर्ने बताउँदै उनले कम्युनिष्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गरी आन्दोलनलाई शुद्धीकरण तथा एकीकरण गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, समानता र शोषणमुक्त समाजवादी व्यवस्था स्थापना गर्नु अहिलेको आवश्यकता भएको बताए ।
एमसीसी देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकी विकास परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउनुलाई नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात भनेका छन् । सोमबार पार्टीले आयोजना गरेको नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमसीसीको दस्ताबेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य उल्लेख रहेको बताएका हुन् ।
‘हरेक दस्तावेजमा अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कहीँ छुटेको छैन । प्रत्येक दस्ताबेजमा अमेरिकी सुरक्षा किन लेख्नुप¥यो ? यो अत्यन्त आत्मघाती कुरा छ । यो देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो, सामान्य घात होइन,’– उनले भने । एमसीसीमा राष्ट्रघात हुनेखालका दर्जनौं शर्तहरु समावेश रहेको उनको दाबी छ । एमसीसीको सन्दर्भमा दर्जनौं डकुमेन्ट बनाइएको पनि उनले खुलासा गरे । एमसीसीको सन्दर्भमा १३ वटा डकुमेन्ट आफूले पनि फेला पारेको, तर विस्तृत रुपमा अध्ययन गर्न नपाएको उनले बताए ।
साथै, एमसीसीसम्बन्धी दस्तावेजमा उल्लेख सबै कुरा कुनै पनि नेताले नपढेको उनको दाबी छ । एकाध व्यक्तिहरुको लहड, उनीहरुको निजी स्वार्थ र गुट स्वार्थ, पारिवारिक स्वार्थलगायतका आधारमा यस्ता प्रकारका सम्झौता हुनेगरेको उनले बताए । एमसीसी संसद्बाट पारित गरेर गलत गरिएको उनको भनाइ छ । यसैका आधारमा आगामी दिनमा अरु देशहरुले पनि अन्य परियोजना संसद्बाट पारित गर्नुपर्छ भनेर माग गर्न सक्ने बताए ।