शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

विकासमा क्रान्तिकारी छलाङ : जमाना एआई र आइसीटीको

बिहिबार, भाद्र ५ २०८२

:आजको युग सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को युग हो । आईटीले सिर्जना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युग हो । सूचना प्रवाह र सञ्चारको तीव्रता, पहुँच र प्रभावकारिता यस अघिका कुनैपनि युगभन्दा २१ औँ सताब्दी असाधारण बनेको छ । सूचना प्रविधिले अहिले विश्वमा छलाङ मार्दै विश्वलाई नै एउटा गाउँ (ग्लोबल भिलेजज)मा रुपान्तरण गरेको छ । यसको प्रयोगले पृथ्वी मात्र होइन, अन्य ग्रह, बायुमण्डल, सौर्यमण्डल, तारापुण्जको बारेमासमेत छिनभरमा जानकारी प्राप्त गर्न सकिने भएको छ । कम्प्युटर, इन्टरनेट, मोबाइल फोन, स्मार्ट उपकरण, क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन, इन्टरनेट अफ थिङ्स (आईओटी) आदि यस्ता प्रविधिहरु हुन् जसले संसारलाई पूर्णरुपमा बदल्दै लगेको छ । नेपालको सन्दर्भमा पनि आईसीटीको प्रयोग तीव्र गतिमा बढिरहेको छ । यद्यपि, यससँगै केही चुनौतीहरु पनि छन्, जसलाई सम्बोधन गर्दै अघि बढ्नु अपरिहार्य छ ।
आईसीटीको प्रयोगका क्षेत्रहरु
विज्ञान र प्रविधिको प्रयोग लगभग सबै क्षेत्रमा भइरहेको छ । यसको प्रयोगले शिक्षामा गुणस्तरात्मक सुधार ल्याएको छ । अनलाइन कक्षा, डिजिटल पुस्तक, स्मार्ट बोर्ड, इ–लर्निङ प्लेटफर्महरु (जस्तै गुगल क्लास रुम मोडल) ले विद्यार्थीलाई नयाँ तरिकाले सिक्ने अवसर दिएका छन् । कोभिड–१९ महामारीको बेला अनलाइन शिक्षाले यसको प्रभावकारिता प्रमाणितसमेत गरिसकेको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा पनि आईसीटीको प्रयोग आजकल व्यापक मात्रामा हुँदै आएको छ । टेलिमेडिसिन, डिजिटल रिपोर्टिङ, अनलाइन स्वास्थ्य परामर्श, इएमआर (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) जस्ता प्रविधिले स्वास्थ्य सेवालाई पहुँचयोग्य, छिटो र प्रभावकारी बनाएको छ । दुर्गम क्षेत्रका बासिन्दाले समेत आईसीटीको माध्यमबाट विशेषज्ञ परामर्श प्राप्त गर्न सक्ने अवस्थाको विकास भएको छ ।
नेपालको प्रशासन प्रणालीलाई प्रभावकारी, चुस्त र जजनउत्तरदायी बनाउन पनि आईसीटीको प्रयोग हुन थालेको धेरै वर्ष भइसकेको छ । डिजिटल नेपाल अभियान अन्तर्गत धेरै सरकारी सेवा अनलाइन माध्यमबाट उपलब्ध हुँदै आएका छन् । सूचना प्रवाहको स्वतन्त्रता र डिजिटल रेकर्डिङ प्रणालीले पारदर्शी शासन प्रणाली निर्माण गर्न सहयोग पु¥याएको छ । नागरिकता सिफारिस, जग्गा धनी प्रमाणपत्र, जन्म–मृत्यु प्रमाणपत्र, इ–सेवा, इ–बैंकिङ आदिले जनताका काम छिटो छरितो एवम् प्रभावकारी ढंगबाट हुन थालेका छन् । यसले पारदर्शिता, उत्तरदायित्व र समयको बचत गराइदिएको छ । त्यसैगरी माध्यमबाट ई–कमर्श, फ्रीलान्सिङ, डिजिटल मार्केटिङ, अफिस अटोमेसन, अनलाइन भुक्तानी प्रणालीहरुमा व्यापकता ल्याएको छ । विशेषगरी युवावर्गका लागि यो रोजगारीको नयाँ ढोका भएको छ । अमेजन, फिभर, अपवर्क जस्ता प्लेटफर्महरुमा नेपाली युवाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न थालेका छन् ।
पछिल्लो समय आईसीटीले प्रत्यक्ष रुपमा समेटका क्षेत्रहरुमध्ये कृषि पनि हो । स्मार्ट कृषि प्रणाली, मौसम पूर्वानुमान, बाली सम्बन्धी जानकारी, मलखाद व्यवस्थापन, बिमा तथा बजार मूल्य सूचनामा आईसीटैकै माध्यमले किसानलाई सजिलो बनाइएको छ । नेपालजस्तो विकासोन्मुख देशका लागि यसले ठूलो सम्भावना बोकेको छ । तर यसलाई सही रुपले प्रयोग गर्न भन्ने जानुुपर्छ । होइन भने यो प्रविधि ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ भन्ने उखान भने झैँ हुनसक्छ ।
आईसीटीको माध्यमबाट दुर्गम क्षेत्रका जनतालाई समेत शिक्षा, स्वास्थ्य, रोजगारी तथा प्रशासनिक सेवा दिन सकिन्छ । यसले सहरी–ग्रामीण विकासको अन्तर घटाउने सम्भावना राख्दछ । हिजोआज विद्यालय तहदेख विश्वविद्यालय तहसम्म नैं कम्प्युटर, आईटी, आईसीटीबारे अध्ययन अध्यापन सुरु हुनुले पनि अहिलेका विद्यार्थीहरु विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने, टिक्ने र बिक्ने खालका उत्पादन हुन थालेका छन् । आईटीको प्रयोगबाट फ्रीलान्सिङ, सफ्टवेयर विकास, डेटा इन्ट्री, अनलाइन टिचिङ, डिजिटल कन्टेन्ट क्रिएसनजस्ता माध्यमले युवालाई वैकल्पिक रोजगारी दिने सम्भावना बढाउनुका साथै नयाँ विचार, स्टार्टअप र प्रविधिमा आधारित व्यवसायलाई बढावा दिएको छ । यसले देश र व्यक्तिको दीगो आर्थिक विकासमा योगदान पु¥याउँने विश्वास गर्न सकिन्छ । आईटीको डिजिटल प्रविधि प्रयोगले कागजको उपयोग घटाउने, अनलाइन मिटिङ गरि समय र इन्धन बचत गर्दै प्रदूषण न्यूनिकरणमा भूमिका निर्वाह गर्ने सम्भावना पनि उत्तिकै छन् ।
आईसीटीका चुनौतीहरु ः
जसरी हामीलाई सास फेर्नको लागि स्वच्छ हावा (अक्सिन), बाँच्नको लागि खाना र जोडो र गर्मीबाट बच्नका लागि कपडा अनिवार्य छ, आईसीटी पनि हाम्रो जीवनमा उत्तिकै अत्यावश्यक बन्दै गएको छ । यद्यपि आईसीटीको प्रयोगले अनेक सकारात्मक परिणामहरु ल्याएको भएतापनि यसको प्रयोगसँगै केही समस्या र चुनौतीहरु पनि छन् । सहरी क्षेत्रमा यसको पहुँच राम्रो भए पनि ग्रामीण र दुर्गम क्षेत्रमा अझै पनि इन्टरनेट, बिजुली, उपकरणको अभाव छ । डिजिटल डिभाइडले विकासमा असमानता ल्याउने खतरा पनि उत्तिकै देखिएको छ । डाटा चोरी, ह्याकिङ, अनलाइन ठगी, गोपनीयताको हनन जस्ता साइबर अपराध आज दिनानुदिन बढ्दो मात्रामा छन् । व्यक्तिगत तथा सरकारी जानकारीको सुरक्षा गम्भीर चुनौती बनेको छ । साइबर क्राइमका घटनामा बृद्धि भएको छ । नेपालको जनसंख्याको ठूलो भाग अझै प्रविधिसँग अनभिज्ञ छ । आधारभूत कम्प्युटर ज्ञान, इन्टरनेट चलाउने सीप नहुनु आईसीटीको प्रभावकारिता घटाउने अर्कौ कारक बनेको छ । त्यसैगरी कृत्रिम बुद्धिमत्ता (एआई) र अटोमेसनको प्रयोगले केही परम्परागत रोजगारीहरुमा संकट ल्याउने सम्भावना देखिएको छ । यसले श्रमिक वर्गमा असुरक्षा बढाउँनेतर्फ सरोकारवालाहरु चिन्तित बनेका छन् ।
आईसीटीको माध्यमबाट सामाजिक सञ्जालको अत्यधिक प्रयोग, अनलाइन खेल, डिप्रेशन, साइबर बुलिङ जस्ता विषयले विशेषगरी किशोर–किशोरीको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न थालेका रिपोर्टहरु पनि बेला बेलामा सर्वजनिक हुने गरेका छन् । तसर्थ आईसीटीको सम्भावनालाई उपयोग गर्न र चुनौतीहरुलाई न्यूनिकरण तथा व्यवस्थापन गर्न सबै क्षेत्र र वर्गलाई समेट्ने डिजिटल साक्षरताको अभियान सञ्चालन गर्न जरुरी छ । ग्रामीण क्षेत्रमा तीव्र गतिका पूर्वाधार सुधार (इन्टरनेट, बिजुली, मोबाइल टावर) गर्न जरुरी छ भने साइबर सुरक्षा नीति पनि बलियो बनाउनुपर्छ । यसका लाखौँ प्रयोकर्तालाई सुरक्षा सम्बन्धी सचेतना दिन ढिला भइसकेको छ । प्रयोगकर्ताले आईसीटीमार्फत अनजानमा गरेका गल्तिले साइबर क्राइम आकिर्षित भई झण्झट, हैरानी व्यहोर्नु परिरहेको छ ।
निष्कर्ष
प्रविधिले आजको समाज, शासन, अर्थतन्त्र र व्यक्तिगत जीवनमा आमूल परिवर्तन ल्याइरहेको छ । यसको प्रयोगले जीवन सहज, छरितो र प्रभावकारी बनाएको छ । तर, यसलाई न्यायसंगत, सुरक्षित र सबैका लागि उपयोगी बनाउन रणनीतिक सोच, लगानी र जनचेतनाको खाँचो छ । सही नीति, प्रविधि साक्षरता, पूर्वाधार र साइबर सुरक्षाको संयोजनमार्फत आईसीटीको प्रयोगले नेपालको अ सक्ने अपार सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार