काठमाडौं(जस)–गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले अबदेखि अनुमान, शंका र यात्रुको भौतिक हैसियतका आधारमा मात्र विदेश यात्रामा रोक नलगाउने स्पष्ट पार्दै नयाँ निर्णय सार्वजनिक गरेको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले वैध कागजातसहित आएका नेपाली नागरिकलाई विभेदपूर्ण ढङ्गले व्यवहार नगर्न सबै अध्यागमन अधिकृतलाई निर्देशन दिइएको जानकारी दिए ।
विभागका अनुसार, विगतमा पर्यटक भिसामा विदेश जान चाहने नेपालीहरूमाथि अध्यागमन प्रक्रियामा अनावश्यक छानबिन र रोक लगाउने गरिएको भन्ने गुनासो बारम्बार आउने गरेको थियो । ’नेपालको संविधान प्रदत्त नागरिकको मौलिक हक र स्वतन्त्र हिँडडुल गर्न पाउने अधिकार सुनिश्चित गर्न अब अध्यागमन प्रक्रियामा अनुमान र शङ्काका आधारमा मात्र रोक लगाइने छैन,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा तिवारीले बताए ।
अध्यागमन विभागले यात्रा गर्न चाहने सबै नेपाली नागरिकलाई वैध राहदानी, प्राप्त गरेको भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा आफन्तसँग बस्ने भएमा सोको प्रमाण, आवश्यक डलर सटही र स्वःघोषणा जस्ता कागजात पेश गरेमा सहज प्रवेश दिने स्पष्ट गरेको छ । विभागले यसअघि अनावश्यक जाँचपछि यात्रुहरूलाई भिजिट भिसामा प्रस्थान गर्न अवरोध गर्ने वा विभिन्न बहानामा यात्रु फर्काइदिने जस्ता गतिविधि भइरहेका सूचनाहरू प्राप्त गरेको भन्दै अब यस्ता कार्य नगर्न निर्देशन दिएको हो ।
विभागले वैदेशिक रोजगारी, अस्थायी वा स्थायी आप्रवासन तथा पर्यटनको उद्देश्यसहित विदेश जान चाहने सबै यात्रुलाई स्पष्ट चेतावनी दिँदै नक्कली वा फर्जी कागजात प्रयोग नगर्न आग्रह गरेको छ । ‘यस्ता कार्यमा संलग्न व्यक्तिलाई प्रस्थान अनुमति नदिने मात्र नभई प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, अवैधानिक मार्ग वा अनधिकृत व्यक्तिको प्रलोभनमा परी विदेश भ्रमण नगर्न विभागले विशेष अनुरोध गरेको छ । अवैधानिक रूपमा विदेश गएका व्यक्तिहरुको विवरण राज्यको अभिलेख प्रणालीमा नहुने भएकाले भविष्यमा उद्धार वा कानुनी सहजीकरणमा समस्या पर्ने विभागले चेतावनी दिएको छ । अध्यागमन प्रक्रियामा दलाल वा विचौलियाको संलग्नता देखिएमा तत्काल कारबाही गरिने पनि विभागले जनाएको छ । विभागले कुनै पनि व्यक्ति वा संस्थाले अध्यागमनमा सहयोग गर्ने नाममा रकम मागेमा तत्कालै सम्बन्धित अधिकारी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोल फ्री नम्बरमा जानकारी दिन यात्रुहरूलाई अनुरोध गरेको छ ।
यसैगरी विभागले वायुसेवा कम्पनीहरूलाई समेत निर्देशन दिँदै यात्रुलाई विमान उडानभन्दा कम्तीमा एक घण्टा अगाडि अध्यागमन क्षेत्रभित्र पठाउन अनुरोध गरेको छ । कतिपय कम्पनीहरूले अत्यधिक ओभरबुकिङ गर्ने, बोर्डिङ पास दिन अस्वीकार गर्ने वा यात्रुको हैसियतका आधारमा विभेद गर्ने गतिविधि बढेको भन्दै विभागले यस्ता कार्य तुरुन्त रोक्न निर्देशन दिएको छ । यदि कुनै कारणवश यात्रुलाई बोर्डिङ पास उपलब्ध गराउन नसकिने अवस्था भएमा यात्रुलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था मिलाउन वायुसेवा कम्पनीलाई भनिएको छ ।
विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दलालहरूको प्रलोभनबाट नागरिकलाई जोगाउन अभियान सञ्चालन गर्न आग्रह गरेको छ । साथै, आम सञ्चारमाध्यमलाई वैदेशिक यात्रामा हुने ठगी, फर्जी कागजात र अध्यागमन नाममा हुने दुरुपयोगबारे नागरिकलाई सचेत बनाउन सहयोग गर्न आग्रह गरिएको छ । त्यस्तै, विदेशस्थित नेपाली नियोगलाई आफ्ना कार्यक्षेत्रका नेपाली नागरिकबारे आवश्यक सूचना अध्यागमन विभागलाई नियमित रूपमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।
यसैगरी कतिपय ट्राभल एजेन्सी, टुर कम्पनी र कन्सल्टेन्सीहरूले यात्रुसँग अनावश्यक बार्गेनिङ गर्ने, नक्कली कागजात बनाउन सहयोग गर्ने वा टिकट काटेर आफैं रद्द गर्ने गरेको पाइएको भन्दै अब यस्ता गतिविधिमा संलग्नलाई प्रहरीमार्फत कानुनी कारबाही अगाडि बढाइने चेतावनी दिइएको छ । यसैगरी, डलर सटही कारोबार गर्ने इजाजतप्राप्त संस्थाहरूमाथि पनि निगरानी बढाइनेछ । विभागका अनुसार कतिपय संस्थाले वास्तविक कारोबार नगरी सटही भएको भनी प्रमाणित गर्ने गरेका कारण यात्रुहरू समस्यामा पर्ने गरेका छन् । अध्यागमन विभागले भविष्यमा नागरिक एप मार्फत नै यात्रुहरूले यात्रा अघि स्वःघोषणा र आवश्यक कागजात अपलोड गर्न सक्ने व्यवस्था सुरु गर्ने तयारी भइरहेको जानकारी पनि दिएको छ । यसले अध्यागमन प्रक्रियालाई थप सहज, पारदर्शी र छिटो बनाउने विश्वास विभागले लिएको छ ।