शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना

आइतबार, भाद्र १ २०८२

एजेन्सी । रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ । यसका लागि तयारी कार्यहरू सुरु भइसकेको स्थानीय मिडियाले आइतबार जनाएको छ ।

यो परियोजना अब देशको नयाँ राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको हिस्सा हो । स्पेस रिसर्च इन्स्टिच्युट ९आइकेआई० का ग्रह भौतिक विज्ञान विभाग प्रमुख ओलेग कोराबलेभका अनुसार प्रारम्भिक डिजाइन कार्य सन् २०२६ जनवरीबाट सुरु हुनेछ ।

मस्यौदा डिजाइन चरण पूरा गर्न करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ । यस अवधिमा विभिन्न समन्वय बैठकहरू हुने र लाभोच्किन एसोसिएसनसहित रूसी अन्तरिक्ष उद्योगका अन्य संस्थासँग सहकार्य गरेर प्रगतिलाई अघि बढाइने उहाँले बताउनुभयो ।

कोराबलेभका अनुसार डिजाइन चरण सकिएपछि प्रक्षेपणको मिति निर्धारण गरिनेछ । उहाँले भन्नुभयो, “तर यो निश्चय नै हालको योजना अवधिभित्र हुनेछ, सन् २०३६ भन्दा पछि होइन ।”

भेनेरा–डी मिसनमा ल्यान्डर, बेलुन प्रोब र कक्षीय अन्तरिक्ष यान रहनेछ । यस वर्षको सुरुआतमा आइकेआईका वैज्ञानिक निर्देशक लेभ जेलेनीले पनि यो मिसन सन् २०३४ वा सन् २०३५ अघि प्रक्षेपण हुने सम्भावना कम रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार