काठमाडौं(जस)–ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङको हल्ला निरर्थक भएको बताउँदै सरकारको ऊर्जा आपूर्ति सुधारको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जिकिर गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक अधिकांश स्थानमा विद्युत् आपूर्ति सहज रूपमा भइरहेको जानकारी दिएका थिए ।
‘हामीले सुधारलाई तीव्रताका साथ अघि बढाएका छौं र विद्युत् उत्पादनलाई निरन्तरता दिएका छौं। त्यसैले लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु,’ मन्त्री खड्काले आफ्नो उत्तरमा भने । मन्त्री खड्काले विद्युत् आपूर्ति र विस्तारमा सरकारले तीव्र गति ल्याएको र वर्तमानमा १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको जानकारी पनि दिएका थिए । साथै, १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको पनि उनले बताए ।
‘विद्युत् निर्यात र आयातको सन्दर्भमा हामीले ५ अर्ब रुपैयाँको मुनाफा लिइरहेका छौं । देशभरका केही क्षेत्रमा अझै विद्युत् पु¥याउन बाँकी रहेको भए पनि ती ठाउँहरूमा पनि आपूर्ति जारी छ,’ मन्त्री खड्काले थपे । मन्त्री खड्काले सरकारको ऊर्जा क्षेत्रमा भइरहेको सुधारका कदमलाई निरन्तरता दिने र सबै नागरिकलाई विश्वास दिलाउने गरी कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी’
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाइएको जानकारी दिए । यी आधारभूत अस्पतालहरूमा चिकित्सक र उपकरण पु¥याउने तयारी भइरहेको उनले बताए ।
बैठकको प्रश्नोत्तर कार्यक्रममा उनले मन्त्रालयबाट प्रतिबद्धता गरिएका दायित्वहरू प्रक्रियागत ढङ्गबाट समयमा सम्पन्न गरिएको दाबी गरे । कतिपय अस्पताल भने प्रक्रियागत विषय टुङ्गो लाग्न बाँकी रहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ । “बाहिरबाट भवन उभिएको देख्छाँै । तर त्यस्ता भवनहरू हस्तान्तरण नभएका, निर्माण सम्पन्न नभएका, मुद्दा परेकालगायत अनेकौँ समस्याहरू छन्”, मन्त्री पौडेलले भने, “प्रक्रियागत विषयहरू नटुङ्गिएका कारण आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकिएको छैन ।” बाँके जिल्लाको राप्तीको सोनारी नरैनापुर–४ मा अस्पतालको भौतिक प्रगति शतप्रतिशत भई हस्तान्तरण गर्न बाँकी रहेको जानकारी दिँदै उनले स्तान्तरणलगत्तै सञ्चालनमा आउने उल्लेख गरे । उनका अनुसार अस्पताल सञ्चालनसम्बन्धी कार्यविधि बनेर पारित भइसकेको छ ।