शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

‘वर्तमान सरकार स्थिर सरकार’

सुशासनका लागि विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस : प्रधानमन्त्री

मंगलबार, साउन २७ २०८२

काठमाडौं(जस)–प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । आयोगको वार्षिक समीक्षा गोष्ठीलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरुलाई अबको दुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए ।
“यो आयोग काम नगर्नका लागि वा विगतका जस्तै असफल हुनका लागि गठन गरिएको होइन । काम गर्नका लागि, परिणाम निकाल्नका लागि र लालपूर्जाबिहीनलाई त्यसबाट मुक्त बनाउनका लागि गठन गरिएको हो ।’ प्रधानमन्त्री ओलीले भने, ‘भूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनु पर्छ । त्यसका लागि कामका सन्दर्भमा सरकारको कुनै सहयोग वा कानुन संशोधन आवश्यक भएमा हामी गर्छाै । मुलुकको विशेष परिस्थितिमा दुई ठुला दलको सहकार्यमा बनेको यो गठबन्धन ढुक्कका साथ २०८४ सम्म जान्छ । हामी टालाटुली बाटुली, कति राम्री पुतली भने जस्तो गरेर के–के भेला पारेर सरकार बनाउने पक्षमा छैनौं । यस्तो स्थिर सरकारको समयमा आयोगलाई काम गर्न कुनै दुविधा हुँदैन र हुन दिइँदैन ।’
उनले अनेक स्वार्थ समूहको प्रभावमा पर्न सकिने भएकाले त्यसबाट बचेर बदनाम नहुने गरी काम गर्न पनि आयोगको नेतृत्वलाई आग्रह गरे । उनले आफूलाई केही मानिसले कांग्रेसभित्र ठूलो समस्या भयो, संसदीय दलको नेता फेर्न १२ जना अभाव रहेको, पु¥याएर सरकार ढाल्ने षड्यन्त्र भइरहेको भनेर सुनाउन आएको समेत उल्लेख गरे । ‘सरकार परिवर्तन हुन्छ, हुन्छ, हुन्छ,’ ओलीले अगाडि भने, ‘आज बिहान आएर मात्रै मलाई एक जनाले भन्यो–नेपाली कांग्रेसभित्र एकदम ठूलो समस्या हुने भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन, १२ जना पु¥याएर ढाल्ने भए भनेर सुनाएको थियो । यो कथा कति सुन्नु, कान टट्याइसक्यो । यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन । यो सरकार स्थिर सरकार हो ।’ यो सरकार ०८४ को पुससम्म जाने समेत उनको भनाइ ।
सुशासनका लागि विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताए ।
नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शीता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्नेमा जोड दिए । भ्रष्ट आचरण र पथभ्रष्ट भएका व्यक्ति छन् भने पदासिन भएपनि तिनले मनदेखि अरुको सम्मान नपाउने उनको भनाइ थियो ।
‘विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस् । देखिएका कुरा यस्तै बैठकमा आएर खुलस्त भन्नुस् । मेरै (प्रधानमन्त्रीकै) कमजोरी देखिए पनि आएर भन्नुस् । मेरो नाम भजाएर कसैले गलत काम गराउन खोज्न भने त्यस्तो काम नगर्नुस्, झपारेर पठाउनुस् । ओलीले भने,‘आफूभन्दा मातहतका मानिस वा सार्वजनिकरुपमा गिर्ने गरी कुनै काम नगर्नुस् । अरुको आँखाबाट नझर्नुस् । आफ्नो आँखाबाट पनि नझर्नुस् । त्यसो गरेर सुशासनलाई सघाउनुस् ।’
उनले संयुक्त राष्ट्रसङ्घले भने झैँ कोही पनि पछि नपरुन् (नो वान लेफ्ट बिह्याण्ड) भनेर मानिसका जैविक आवश्यकता परिपूर्ति र सम्मानित एवं सुरक्षित जीवनयापनका लागि दृढ संकल्प गर्न आग्रह गरे । ‘नेपाललाई विकसित मुलुकमा रुपान्तरणका लागि हामीले सुशासनको दृढ संकल्प लिएर छिटो छिटो दौडन आवश्यक छ । अहिले असन्तुष्टि भड्काएर अराजकता मच्याउन खोजिएको छ । त्यसबाट बच्न हामीले मानिसलाई ज्ञानसँगै राम्रो कामका लागि सचेतना गराउनुपर्छ । पथभ्रष्ट हुनेलाई कानुनको नियन्त्रणमा ल्याइयोस्,’ओलीले भने,‘प्राकृतिकरुपमा उर्बर र ज्ञानको उद्भवभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण छैन । अब हामीले मुलुकबाट सबै प्रकारका पछौटेपन हटाउन लाग्नुपर्छ । देखिएका कमजोरी छन् त्यस क्रममा सतर्कता केन्द्रले आफ्नो सक्रिय भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार