शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

निर्वाचन आयोगको स्वमूल्यांकन कार्यविधि नौं दलले नमान्ने, कांग्रेस र एमालेकै चाहनाअनुरूप आउन लागेको ठहर

बिहिबार, साउन २२ २०८२

काठमाडौं(जस)–प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको नौं दलको सिंहदबार बैठकले निर्वाचन आयोगले पठाएको स्वमूल्याङ्कन कार्यविधि–०८२’ नमान्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुई ठूला पार्टी मात्रै रहने गरी कार्यविधि ल्याउन खोजिएको बताए ।
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बुद्धिमान तामाङ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी थिए ।
उक्त कार्यविधि सरकारमा रहेका दलहरू कांग्रेस र एमालेकै चाहनाअनुरूप ल्याउन लागिएको भन्दै आवश्यकताअनुसार संघर्ष र प्रतिवाद गर्ने कुरामा पनि दलहरूका बीचमा समझदारी बनेको बताए । उनले भने, ‘निर्वाचन आयोगले संविधान विपरित काम गर्दैछ, हामी लिखित रुपमा संयुक्त रुपमा प्रतिवाद गर्छौं । दुई ठूला दलबाहेक अरु सबै निर्वाचन आयोगका कदमका विरुद्ध एकै ठाउँमा आएका हौं ।’
निर्वाचन आयोगको कदम कानून र न्यायसम्वत नभएको भन्दै विपक्षी दलहरु एकै ठाउँमा आएको रास्वपाका नेता गणेश पराजुलीले बताए । उनका अनुसार बुधबारको निर्णयबारे जानकारी गराउन बिहीबार निर्वाचन आयोगको कार्यदलयमा जाने तय भएको छ । ‘आयोगले नयाँ ऐन बनाएर दलहरुलाई नियन्त्रण गर्ने खालको कार्यविधि रहेछ । हरेक दलले स्वमूल्यांकन गर्नुपर्ने, त्यसको आधार बनाउनुपर्ने र निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने रहेछ । यो ठ्याक्कै ऐनको ढाँचामा छ,’ पाण्डेले भने, ‘ऐन बनाउने अधिकार निर्वाचन आयोगलाई छैन । ऐन बनाउने अधिकार संसदलाई मात्र छ ।’ निर्वाचन आयोगले सबै राजनीतिक दलहरुलाई ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को प्रस्ताव पठाएको थियो । जसमा साउन २२ गतेसम्म सुझाव दिन समयसीमा तोकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार