काठमाडौं, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित विकासशील देशको प्रगतिका निम्ति भौगोलिक अवरोध महत्त्वपूर्ण संरचनात्मक बाधा बनेको बताएका छन् ।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत दक्षिण–दक्षिण सहकार्यसम्बन्धी सत्रमा उनले भौगोलिक अवरोधले विश्वव्यापी संकटको चुनौतीलाई तीव्र पारेको उल्लेख गरे । भूराजनीतिक तनाव, खाद्य र ऊर्जा असुरक्षा, बढ्दो मुद्रास्फीति र वित्तीय स्थान समेत साँघुरिँदै गएको उनले बताए ।
बढ्दो दबाबको सामना गर्दै भूपरिवेष्ठित विकासशील राष्ट्र घरेलु स्रोत परिचालन, विदेशी लगानी आकर्षण गर्न र विकास सहायताका निम्ति प्रयासरत रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
जलवायु परिवर्तनका कारण भूपरिवेष्ठित विकासशील राष्ट्रले कठिनाइको सामना गरिरहेको उनले बताए । सम्मेलनबाट रूपान्तरणमा आधारित एक अग्रगामी र व्यावहारिक ‘रोडम्याप’ प्रस्तुत गर्नुपर्ने उनले बताए ।
दक्षिण–दक्षिण सहयोगअन्तर्गतको साझेदारीले ज्ञान आदानप्रदान र मापनयोग्य र दिगो परिणाम प्रदानका निम्ति स्रोत परिचालन गर्न पनि सक्षम बनाउने उनले विश्वास व्यक्त गरे । उनले लचिलो भौतिक र डिजिटल पूर्वाधारमा लगानी गरेर क्षेत्रीय एकीकरणलाई प्रवद्र्धन गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगलाई बढावा दिनुपर्नेमा जोड दिए ।
व्यापार र ट्रान्जिट कोरिडोर विकास, पूर्वाधारलाई आधुनिकीकरण र सीमापार व्यापार र लगानी बढाउन भन्सार प्रक्रिया मिलाउन सामूहिक रूपमा काम गर्ने उनको भनाइ थियो ।
विशेष अतिथिका रूपमा सम्बोन गरेका प्रधानमन्त्री ओलीले डिजिटल रूपान्तरणलाई अँगाल्नु र गति दिनुपर्ने औँल्याए ।