शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

ईपीएस कोरिया भाषा परीक्षाका लागि आवेदन आह्वान, ५,३०० जनाको कोटा निर्धारण

सोमबार, साउन १९ २०८२

काठमाडौं(जस)–दक्षिण कोरियामा रोजगारीका लागि जान इच्छुक नेपाली युवाहरूका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् २०२५ को कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ । शाखाले सोमबार जारी गरेको सूचनामा पहिलो चरणका लागि उत्पादनमूलक र कृषि÷पशुपालन क्षेत्र गरी ५,३०० जनाको कोटा तोकिएको जनाएको छ । उक्त कोटा मध्ये ३,८०० जना उत्पादनमूलक र १,५०० जना कृषि तथा पशुपालन क्षेत्रका लागि छनोट गरिने शाखाले स्पष्ट पारेको छ । कोरियाको मागअनुसार कोटामा केही घटबढ हुन सक्ने सम्भावना रहेको सूचनामा उल्लेख छ ।
आवेदन साउन २६ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत मात्र गर्न सकिनेछ । इच्छुक आवेदकले ईपीएस नेपालको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ । परीक्षा कहिले सञ्चालन हुने भन्ने मिति भने पछि सार्वजनिक गरिने छ । शाखाका अनुसार परीक्षा काठमाडौँका विभिन्न केन्द्रहरूमा ट्याब्लेटमा आधारित प्रणालीबाट सञ्चालन हुनेछ । आवेदकले रोजगारीको क्षेत्रमा एउटा मात्र छनोट गर्न पाउने छन् । आवेदन दिने व्यक्तिको उमेर कम्तीमा १८ वर्ष र बढीमा ३९ वर्ष हुनुपर्नेछ । अर्थात् सन् १९८५ अगस्ट १२ देखि सन् २००७ अगस्ट ११ (वि.सं. २०४२ साउन २८ देखि २०६४ साउन २६) भित्र जन्मिएको हुनुपर्ने छ ।
साथै आवेदकले नेपाल सरकारद्वारा अन्य मुलुक जान रोक नलगाएको, कोरियामा ई–९ वा ई–१० भिसामा ५ वर्षभन्दा बढी नबसेको, अदालतबाट सजाय नपाएको र रंगसम्बन्धी कमजोरी नभएको प्रमाणित हुनुपर्नेछ ।आवेदनका लागि पासपोर्टको बायो पेजको रंगीन स्क्यान प्रतिलिपि, पछिल्लो ३ महिनाभित्र खिचिएको एमआरपी साइजको फोटो अनिवार्य रुपमा आवश्यक पर्छ । परीक्षामा सहभागी हुन अमेरिकी डलर २८ बराबरको शुल्क लाग्नेछ । आवेदन दिने दिनको अघिल्लो दिन नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार सो रकम नेपाली रुपैयाँमा अनलाइन प्रणालीमार्फत भुक्तानी गर्नुपर्नेछ ।
कोरियन भाषा परीक्षा दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणको भाषा परीक्षा पास गरेका आवेदक मात्र दोस्रो चरणको सीप तथा दक्षता परीक्षणमा सहभागी हुन पाउनेछन् । दुबै चरण उतीर्ण गरेपछि मात्रै रोजगारी आवेदन फाराम भर्न सकिने सूचनामा उल्लेख छ । भाषा परीक्षामा २०÷२० वटा पढाइ र सुनाइ सम्बन्धी प्रश्न रहनेछन् । परीक्षा १०० पूर्णाङ्कको हुनेछ र समयावधि ५० मिनेट निर्धारण गरिएको छ । यसैगरी शाखाले प्रकाशित सूचनामा परीक्षा उत्तीर्ण गर्नु नै कोरियामा रोजगारीको ग्यारेन्टी होइन भनी उल्लेख गरिएको छ । आवेदन फाराममा भरिने व्यक्तिगत विवरण राहदानीसँग हुबहु मिल्नुपर्नेछ । विवरण फरक परेमा परीक्षा दिन नपाउने र कोरिया जान पनि नपाउने सूचनामा भनिएको छ । त्यस्तै, नक्कल वा अरूको नाममा परीक्षा दिने÷दिने प्रयास गरेमा सम्बन्धित व्यक्तिलाई ४ वर्षसम्म परीक्षा दिन नपाउने गरी कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार