काठमाडौं(जस)–नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बुधबार इन्द्रबहादुर बानियाँ निर्वाचित भए पनि मुख्यमन्त्री बन्ने उनको प्रयास अझै पेचिलो बनेको छ । उनले हालका मुख्यमन्त्री बहादुरसिंह लामालाई ८ मतान्तरले हराएका हुन् । ३७ सदस्यीय संसदीय दलमा बानियाँले २२ मत ल्याए भने लामाले १४ मत पाए, एक मत बदर भयो । पार्टीको आन्तरिक राजनीति झन् जटिल बन्दै गएको छ । लामालाई नजिक मानिने नेतृ महालक्ष्मी उपाध्याय डिना र प्रकाशशरण महतको समर्थनले लामाको पक्षमा कांग्रेसभित्रै विभाजन आएको हो । शेखर कोइराला पक्षले पनि लामालाई साथ दिँदा बानियाँको मुख्यमन्त्री बन्ने बाटो सहज छैन ।
लामाले संसदीय दलको नेता गुमाए पनि संविधानको धारा १६८ (२) र १८८ को व्याख्या गर्दै आफूले राजीनामा दिनुपर्ने आधार नरहेको दाबी गरेका छन् । “राजीनामा दिने आधार छैन, स्थिर सरकारको मर्म संविधानले बुझेको छ“, उनको भनाइ छ । उनले आफूविरुद्ध षडयन्त्र भएको आरोपसमेत लगाएका छन् । तर बानियाँको पक्षमा एमाले खुलेर उभिएपछि लामाको कुर्सी झनै जोखिममा परेको छ । उनले हतारमा तीन मन्त्री नियुक्त गरे पनि एमालेको असहमतिको कारण उनीहरूको शपथ रोकिएको छ । एमालेले समर्थन फिर्ता लिएमा लामाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ, जुन चुनौतीपूर्ण देखिन्छ । प्रदेशसभामा ११० सदस्य छन् । बहुमतको लागि ५६ मत आवश्यक पर्छ । लामाले बानियाँको पक्षमा लागेका २३ जना कांग्रेस सांसदबाहेक अन्य दलको समर्थन जुटाउनु पर्नेछ, जुन सम्भावना न्यून छ ।
यसैबीच लामाको सरकारमा सहभागी पाँच मन्त्रीले राजीनामा दिएर बानियाँको पक्षमा स्पष्ट सन्देश दिएका छन् । आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेसहितका मन्त्रीहरूको राजीनामाले लामा एक्लिँदै गएका छन् । यद्यपि उनी अझै मुख्यमन्त्री पद नछाड्ने अडानमा छन् । कांग्रेस नेतृत्व भने लामालाई सहजै हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउने प्रयासमा छ ।
‘राजीनामा नभए विधिसम्मत प्रक्रियाबाट अघि बढ्छौं,’ बानियाँ पक्षको चेतावनी छ । बानियाँको पक्षमा शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विनु रायमाझी, यमुनादेवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीनकृष्ण महर्जन, विमल ठकुरी, मधुकुमार श्रेष्ठ, मीना पराजुली, याङ्किला शेर्पा (रुइत), सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्याम खड्का र कृष्णबहादुर तामाङ (समीर) उभिएका छन् । यसैगरी लामाको पक्षमा कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेश महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, क्षेत्रबहादुर बम्जन, गीता गुरुङ, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी श्रेष्ठ उभिएका छन् । अब लामाले मार्ग प्रशस्त गर्छन् वा बानियाँले प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्छन् भन्ने प्रश्न निकट भविष्यमा स्पष्ट हुने देखिन्छ ।