शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

भारतमा अनौठो विवाह : एक बेहुली, दुई बेहुला !

मंगलबार, साउन १३ २०८२

एजेन्सी, १३ साउन । भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लाको शिलाई गाउँमा हालै भएको एउटा ‘अनौठो’ विवाहबारे निकै चर्चा र बहस भइरहेको छ।

कुम्हाट गाउँकी सुनिता चौहानले दुई सहोदर दाजुभाइ प्रदीप नेगी र कपिल नेगीसँग एकैसाथ विवाह गरेकी हुन्। उक्त विवाह अनुसूचित जनजातिको दर्जा पाएको हाटी समुदायको एउटा प्रचीन बहुपति प्रथाअनुरूप भएको हो। त्यसलाई स्थानीय भाषामा ‘जोडीदारा’  वा ‘जाजडा’ भनिन्छ।
उक्त विवाहमा सयौँ गाउँले तथा आफन्तहरू सहभागी भए। पारम्पारिक व्यञ्जन, लोकगीत तथा नृत्यले उक्त समारोहलाई स्मरणीय बनाएको थियो।

सांस्कृतिक परम्पराको उदाहरण बनिरहँदा उक्त विवाहबारे कैयौँ प्रश्न पनि खडा भएका छन्।

बीबीसीले विवाहितका परिवारजनसँग यसबारे कुरा गर्ने कोसिस गरेको थियो तर बारम्बारको अनुरोधपछि पनि उनीहरूले कुनै टिप्पणी गरेनन्।

कति पुरानो परम्परा :

दुलहाहरू र दुलहीको गाउँ १५ किलोमिटरको दूरीमा छ। उक्त क्षेत्र प्रदेश राजधानी शिमलाबाट करिब १३० किलोमिटरको दुरीमा पर्छ।

दुवै परिवार हाटी समुदायका हुन्। उक्त समुदायको मूल रूपमा सिरमौर जिल्लाको गिरीपार (गिरी नदीको पारि) क्षेत्रका अलावा उत्तराखण्डको जोनसार–बाबर तथा रवाई–जोनपुर क्षेत्रमा पनि बसोबास छ।

यस समुदायमा बहुपति प्रथा लामो समयदेखि प्रचलनमा छ। परिवारमा एकता कायम राख्नु र पैतृक सम्पत्तिको भागबन्डा रोक्नु उक्त विवाहको उद्देश्य भएको यसका जानकारहरू बताउँछन्।

यस प्रथामा एक महिलाले दुई वा धेरै दाजुभाइसँग विवाह गर्छिन् र घरको जिम्मेवारी आपसी सहमतिमा पूरा गर्ने गरिन्छ। उक्त परम्परा सिरमौरका अलावा शिमला, किन्नौर तथा लाहौलका केही हिस्सामा समेत देख्न पाइन्छ।
स्थानीय कपिल चौहान भन्छन्, ‘जोडीदारा प्रथा हाम्रो पहिचान हो। यो प्रथाले सम्पत्तिको भागबन्डा रोक्न, दाइजो प्रथाबाट जोगिन, दाजुभाइबीच एकता कायम राख्न तथा सन्तानको पालनपोषण गर्न मद्दत गर्छ।’

उनका अनुसार शिलाई क्षेत्रका लगभग हरेक गाउँमा चारदेखि छ परिवारले उक्त प्रथाको पालना गर्छन्।

हालै चर्चामा आएको विवाहबारे सोधिएको प्रश्नमा चौहान भन्छन्, ‘मलाई धेरै अघिदेखि यसबारे थाहा थियो। यो अचानक भएको होइन। यो एउटा प्रथागत परम्परा हो। यो हाम्रा निम्ति गर्वको कुरा हो र दुलहादुलही तथा उनका परिवारजन यसप्रति सहज हुँदासम्म यो अरूको लेनादेनाको विषय होइन।’

उनले अगाडि भने, ‘यसलाई स्वीकार गर्नुपर्छ। मान्छेहरू लिभ–इन रिलेशनशिपप्रति पनि त सहज छन् नि।’

सांस्कृतिक पहिचान :

बाह्र जुलाईदेखि सुरु भएको यस विवाह समारोहको एउटा पक्ष के पनि हो भने दुलही तथा उनका दुवै पति पढेलेखेका व्यक्ति हुन्। दुलही सुनीता आईटीआईमा पढेकी हुन्।

प्रदीप राज्य सरकारको जलशक्ति विभागमा काम गर्छन् भने कपिल विदेशमा हस्पिटालिटी क्षेत्रमा क्रियाशील छन्।

आफ्नो विवाहबारे सुनीताले भनिन्, ‘यो मेरो आफ्नै निर्णय हो। मलाई उक्त परम्पराबारे थाहा थियो र मैले यसलाई अपनाएँ।’

त्यस्तै प्रदीप भन्छन्, ‘हाम्रो संस्कृतिमा यसलाई विश्वास, हेरचाह र साझा जिम्मेवारीको सम्बन्धका रूपमा लिइन्छ।’

कपिलले भने, ‘विदेशमा बस्ने भए पनि म यो सम्बन्धप्रति प्रतिबद्ध छु र आफ्नी पत्नीलाई स्थिरता र प्रेम दिन चाहन्छु।’

पारम्पारिक रमलसार पूजापद्धतिअनुरूप उक्त विवाह सम्पन्न गरियो। यस विधिमा अग्निको वरिपरि घुम्नेभन्दा त्यसको अघिल्तिर उभिएर कसम खाइन्छ। त्यसलाई ‘सिन्ज’ भनिन्छ।

‘जोडीदारा’ प्रथामा दुलहीको घरबाट दुलहाको घर जन्ती जान्छ। यसैले पनि उक्त प्रथालाई प्रचलितभन्दा भिन्न ठानिन्छ। बीबीसीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार