सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

श्रम मन्त्रालयको सेवा प्रविधिमार्फत, नागरिक एपमा जोडियो श्रम संसार

सोमबार, साउन १२ २०८२

काठमाडौँ(जस)–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन पोर्टल ‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर वैदेशिक रोजगारलाई व्यवस्थित गरिने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम संसार ‘पोर्टल’को थप सुधारका विषयमा जानकारी दिँदै मन्त्री भण्डारीले पोर्टलमा आपत्कालीन सहायताको व्यवस्थाबारे गरिने जानकारी दिए । श्रम संसार पोर्टलमा वैदेशिक रोजगारका क्रममा उद्घारको ‘मोड्युल’ तयारबारे उनले बताउनभयो ।
श्रम संसारमा कन्सुलर सेवासहित विस्तार गरिएकाले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलब्ध भएको मन्त्री भण्डारीले बताए । “यस पोर्टलमा ‘च्याट बट’को व्यवस्था गर्दैछौँ । प्रयोगलाई थप सरल र सहज बनाउनका लागि विकल्पका रूपमा प्रयोगकर्ताले बोलेर पनि सेवा लिन सक्नुहुनेछ”, उनले भने, “अहिले सामाजिक सञ्जालमा उद्घारका लागि याचना गरिरहनु भएकाले यस पोर्टलमा फोटो र भिडियो राख्नसक्नुहुन्छ । उनहरू कहाँ छन् त्यस ठेगाना तुरुन्त पत्ता लगाउन सक्नेगरी यसमा सुधारको काम हँुदैछ ।” कार्यक्रममा मन्त्री भण्डारीले यस पोर्टलले बेरोजगार व्यक्तिलाई शिक्षा, सीप तथा दक्षता अभिवृद्धिका लागि सहयोग गर्ने बताए । उनले एकीकृत श्रम व्यवस्थापन पोर्टल श्रम संसारले रोजगारदाता (व्यक्ति वा प्रष्ठिान)लाई श्रमिकसँग जोडनका साथै स्वरोजगारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार यसले स्वरोजगारलाई समेत प्रवर्द्धन गर्नेछ ।
सोही कार्यक्रममा मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बद्ध सेवाहरूलाई ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजनाबारे समेत चर्चा गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले आन्तरिक रोजगारको ‘रोडम्याप’ बनाउने काममा आयोग लागिपरेको बताए । उनले ‘डिजिटल डिभाइट’बारे स्मरण गराउँदै पोर्टलको प्रयोग सबैले गर्नसक्ने बनाउनुपर्नेतर्फ पनि सचेत गराए । यस पोर्टलमा अहिलेसम्म देशभरका ६८९ पालिका आबद्ध भएको मन्त्रालयले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा व्यवस्थापनका लागि डिजिटलाइजेसन कार्ययोजना (मस्यौदा)बारे मन्त्रीको श्रम विज्ञ सल्लाहाकार युवराज बस्नेतले चर्चा गरे । उनले पोर्टलमा स्वास्थ्य परीक्षण र अभिमुखीकरण, आर्टिफिसियल इन्टेलिजेन्स र वैदेशिक रोजगारका क्रममा उद्घारको मोडयुल तयार भएको जानकारी दिए । मन्त्रालयअन्तर्गतको आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाले पोर्टलले श्रम बजारका सूचना अद्यावधिक र एकीककृत श्रम तथा रोजगार तथ्याङ्क व्यवस्थापन गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार