काठमाडौँ, १२ असार । “नेपाली समुदायको एकता, सहयोग र योगदान साँच्चै अनुकरणीय छ। यस्ता कार्यक्रममा सहभागी हुन पाउनु मेरो लागि गर्वको कुरा हो,” नेपालका लागि फिलिपिन्समा अवैतनिक महावाणिज्यदूत डा. जोसे पाउलो ई. क्याम्पोसले मनीलास्थित पर्ल होटलमा आयोजित एनआरएनए फिलिपिन्सको भव्य साधारणसभा तथा पदबहाली समारोहमा भने।
गैरआवासीय नेपाली संघ (एनआरएनए) फिलिपिन्सले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली र फिलिपिनी राष्ट्रिय गानसहित पानसमा दीप प्रज्वलन गर्दै पारम्परिक र सांस्कृतिक गरिमा बोकेको औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा नयाँ कार्यसमितिलाई विधिवत रूपमा स्वागत गर्दै संघले नेतृत्व हस्तान्तरणको प्रक्रियालाई उत्सवको रूप दिएको थियो।
उपाध्यक्ष डा. संगीत काशाजुले स्वागत मन्तव्यका क्रममा संघको इतिहास र योगदानको चर्चा गर्दै प्रवासी नेपालीहरूको जीवनस्तर उकास्न एनआरएनएको भूमिका निर्णायक रहेको उल्लेख गरे उनले सन् २०१५ को विनाशकारी भूकम्पपछिको चिकित्सकीय सहयोग अभियानलाई उदाहरण दिँदै संघको समर्पण र सक्रियतालाई स्मरण गरे ।
नवनिर्वाचित अध्यक्ष प्रकाश श्रेष्ठले प्रमुख सम्बोधन गर्दै संगठनको उपलब्धिहरूको समीक्षा गर्नुका साथै आगामी कार्यदिशा प्रस्तुत गरे । उनले एनआरएनएको मूलमन्त्रका रूपमा एकता, पारस्परिक सहयोग र सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै प्रवासी नेपाली समुदायको सशक्तिकरणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे ।
संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार सुदर्शनकुमार खड्काले नव निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराउँदै जिम्मेवारीप्रति निष्ठावान् रहने आह्वान गरे । नवनेतृत्वले पनि संगठनप्रति समर्पण, पारदर्शिता र प्रतिबद्धता सहित कार्यभार सम्हाल्ने घोषणा गर्यो।
कार्यक्रममा सहभागीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न ओपन फोरम र सेल्फ इंट्रोडक्शन सेसनसमेत राखिएको थियो, जसले आपसी चिनजान, विचार आदानप्रदान र सुझावहरूको बहसलाई सहज बनायो।
सांस्कृतिक स्वाद र मनोरञ्जनको संयोजनसहितको समापन सत्रमा ‘काठमाण्डौ ठकाली किचेन मनीला’ द्वारा नेपाली भोजन परोसीएको थियो भने इमिलियो अगुइनाल्दो कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूले प्रस्तुत गरेका गीत-संगीत र नृत्यहरूले नेपाली कला, पहिचान र विविधताको जीवन्त प्रस्तुति दिएका थिए।
सुदर्शन खड्काले समापन मन्तव्यमा एनआरएनएको मूल उद्देश्यप्रति पुनः प्रतिबद्धता जनाउँदै सबै प्रवासी नेपालीलाई साझा हितमा जुट्न आह्वान गर्नुभयो। स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, व्यापार र सामाजिक सेवामा क्रियाशील नेपालीहरूको साझा प्रतिनिधित्व गर्दै एनआरएनए फिलिपिन्सले प्रवासी नेपालीहरूका लागि एक सुदृढ मञ्चको भूमिका निर्वाह गरिरहेको छ।
यो कार्यक्रमले नेतृत्व हस्तान्तरणको औपचारिकता मात्र नभई, नेपाली समुदायको आत्मीयता, सहकार्य र पहिचानप्रति थप दृढता प्रदान गरेको अनुभूति दिलाएको छ।