नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले आफू आज ज्यादै नै खुसी भएको प्रतिक्रिया दिएका छन्। शुक्रबार नेकपा एकीकृत समाजवादीसँग राष्ट्रिय एकता अभियानबीच भएको एकता समारोहलाई सम्बोधन गर्दै उनले चार वर्षको प्रयासपछि दुई पार्टी एक भएको बताए।
‘आज म ज्यादै खुसी भएको छ। अलिअलि पनि होइन ज्यादै धेरै। मैले धेरै व्यक्त गर्न सक्दिनँ। नेकपा एकीकृत समाजवादीमा एकीकृत हुन चारवर्ष पहिलेदेखि सुरु गरेँ। मेरो पार्टी कार्यालय र यहाँ धेरै टाढा होइन तर मलाई यहाँ आउन चार वर्ष लाग्यो। मैले भने जसरी एकता भएको छ,’ उनले भने, ‘म धेरै हन्डर ठक्कर खाएर आएको हुँ। मैले एसएलसी मात्रै पास गरेको मान्छे छु त्यो पनि थर्ड डिभिजनमा बल्लबल्ल। तर आज मैले ब्रमान्डमा विचरण गर्छु। कहिले म कन्टम सिद्धान्तमा विचरण गर्छु। र साँच्चै आनन्दित भएको छु। अन्तिम अवस्थामा प्रवेश गरिरहेको छु। सय वर्ष त म बाँच्न पर्ने हो भन्ने मलाई लाग्छ।’
उनले आफू सय वर्षको उमेर हुँदासम्म कम्युनिस्ट आन्दोलनलाई अघि बढाइरहने पनि बताए।
‘त्यो बढी त बाँच्न आवश्यक पनि छैन। १०० वर्षसम्म मैले देशको कम्युनिस्ट आनदोलन अघि बढाउँछु। मैले मेरो जीवनमा के प्राप्त गर्नपर्छ भन्ने जान्ने भएपछि सकंल्प गरेको छु। १, राजतन्त्रको अन्त्य र २, कम्युनिस्ट आन्दोलन एउटै बनाएर एक पार्टी बनाउने।’
०७५ सालमा दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा बन्दा आफूलाई अब बाँकी केही छैन भन्ने लागे पनि त्यो टुंगोमा पुग्न नसकेकोमा दु:ख व्यक्त गरे।