शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सरकारको कार्यशैलीप्रति शेखर–गगन असन्तुष्ट, खुमलटारमा शेखर र प्रचण्डबीच छलफल

शुक्रबार, साउन २ २०८२

काठमाडौं(जस)–सरकारको कार्यशैलीप्रति नेपाली कांग्रेसका शीर्ष नेताहरू शेखर कोइराला र गगन थापाले असन्तुष्टि जनाएका छन् । उनीहरूले वर्तमान केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार जनअपेक्षा अनुरूप काम गर्न नसकेको गुनासो गरेका हुन् । कोइराला कांग्रेसका वरिष्ठ नेता हुन् भने थापा महामन्त्री हुन् । बिहीबार बिहान कांग्रेस नेता डा. शेखर कोइराला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगे । झण्डै दुई घण्टा लामो भेटवार्तामा कोइरालाले सरकारको नीति, कार्यशैली र सुशासनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै गठबन्धन सरकारले झनै जनतामा निराशा बढाएको धारणा राखेको स्रोतको दाबी छ ।
उनका अनुसार संविधान संशोधन, सुशासन र आर्थिक समृद्धि जस्ता मूलभूत एजेण्डामा सरकार चुकेको भन्दै कोइरालाले प्रचण्डसँग असन्तुष्टि व्यक्त गरे । ’म स्वयंले एमाले र कांग्रेस मिल्नुपर्ने प्रस्ताव गरेँ । तर त्यो प्रस्तावको जगमा बनेको सरकार आज कुनै पनि उपलब्धि दिन असफल भएको छ’ स्रोतले कोइरालाको भनाइ उद्धृत गर्दै बतायो । कोइरालाले प्रधानमन्त्री ओली गठबन्धनको संस्कृति अनुरूप चल्न नसकेको, सरकारलाई एमालेकरण गर्न खोजिएको र सरकारभित्र निरन्तर विवाद बढिरहेकोप्रति पनि आपत्ति जनाएका थिए । संघीय निजामती सेवा विधेयक, संघीय प्रहरी विधेयक, विद्यालय विधेयक जस्ता महत्वपूर्ण कानुनहरू लम्ब्याउने र विवादास्पद रुपमा अघि बढाउने प्रयासप्रति उनी असन्तुष्ट देखिए ।
खुमलटार भेटका क्रममा भूमि व्यवस्था सम्बन्धी विधेयक, संघीयता कार्यान्वयनको ढिलाइ, र सरकारमा देखिएको गम्भीर काण्डहरूबारे पनि छलफल भएको बुझिएको छ । यद्यपि सत्ता समीकरणमा फेरबदल हुने वा गठबन्धन तोडिने विषयमा भने कुनै गम्भीर छलफल नभएको स्रोतको भनाइ छ । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने प्रचण्डसँग भेटको पुष्टि गरे पनि छलफलको विवरणबारे आफू अनविज्ञ रहेको बताए । उनले भने, ’दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।’ यसैबीच कांग्रेसका महामन्त्री गगन थापाले पनि बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सरकारको कार्यशैलीप्रति असन्तोष प्रकट गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई ‘एक वर्षपछि सत्ता सुम्पिन्छु’ भन्ने शैलीमा सरकार चलाउनु हुँदैन भनेका छन् ।
‘सरकार दिन गनेर बस्ने होइन । एक वर्षमा म के–के गर्छु भनेर जनता सामु स्पष्ट योजना ल्याउनुपर्छ,’ थापाले भने । उनका अनुसार सरकारसँग उद्योग चलाउने हैसियत मात्र होइन, उद्यमशील सोच पनि हुनुपर्छ । थापाले कांग्रेस नेतृत्वको सरकार बनेपछि के गर्ने भन्ने स्पष्ट रणनीति बनाउन पार्टीभित्र तयारी भइरहेको जानकारी दिए । उनले कांग्रेस आगामी निर्वाचनभन्दा अगावै प्रशिक्षण कार्यक्रममार्फत आफ्ना प्राथमिकता सार्वजनिक गर्ने तयारीमा रहेको बताए । हालको सरकार निराशाजनक गतिमा अघि बढिरहेको गगन थापाको बुझाइ छ । उनले भने, ’विरोधको राजनीति गर्न सजिलो हुन्छ तर सकारात्मक परिवर्तन ल्याउन कठिन हुन्छ । तर हामी त्यो कठिन बाटो हिँड्न तयार छौं ।’ थापाले देशमा माग र क्रयशक्ति बढ्दो भए पनि त्यसअनुसार उत्पादन हुन नसकेको र सरकारले त्यसतर्फ कुनै प्रभावकारी योजना ल्याउन नसकेको आलोचना पनि गरे । उत्पादन वृद्धि, निजी लगानी प्रवद्र्धन र स्वदेशी क्षमताको उपयोगलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
सरकारप्रति कांग्रेस नेताहरूको यो चर्को असन्तुष्टि आगामी दिनमा सत्ता समीकरणमा फेरबदलको संकेत हो वा केवल दबाबमूलक राजनीति, त्यो भने स्पष्ट छैन । तर शीर्ष नेताहरूको खुलेको आलोचना र प्रचण्डसँगको समन्वयात्मक छलफलले कांग्रेस र माओवादी केन्द्रबीच नयाँ समीकरणको संकेत गर्न थालेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । यद्यपि नयाँ समीकरणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाकै सक्रियता चाहिन्छ । किनकी देउवाको निर्णय बिना कांग्रेसका अन्य नेताको सक्रियताले खासै अर्थ राख्दैन । एक वर्षअघि कांग्रेसको बलियो समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका थिए । तर एक वर्षको अवधिमा ओलीले काम भन्दा पनि बढी आलोचना कमाएका छन् । साथसाथै पछिल्लो दिनमा त उनकै मन्त्रीहरु घुकाण्डमा मुछिएका छन् । एक जनामन्त्री राजकुमार गुप्ताले त राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार