शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एमालेको निष्कर्ष :जरा अभियानले पार्टी र जनताबीचको सम्बन्ध सुधारियो

मंगलबार, असार ३१ २०८२

काठमाडौं । नेकपा एमालेले पार्टी र जनताबीचको सम्बन्ध विगतको तुलनामा सुधार हुँदै गएको निष्कर्ष निकालेको छ। माघदेखि चैतसम्म सञ्चालन गरिएको ‘जरा अभियान’ले कार्यकर्तालाई चलायमान बनाउनुका साथै स्थानीय कमिटीहरूलाई सक्रिय तुल्याएको पार्टीको संगठन विभागले जनाएको छ।

विभागीय सचिव माधव ढुंगेलले एमालेले सञ्चालन गरेको वडा केन्द्रित पार्टी निर्माण अभियानले संगठनात्मक रूपमै उल्लेखनीय परिवर्तन ल्याएको उल्लेख गरिएको छ। “जरा अभियानले नेता र कार्यकर्ताको जनसामान्यसँगको सम्बन्ध सुधारेको, कार्यकर्ताको सक्रियता बढाएको र निर्णय कार्यान्वयन प्रक्रियामा सकारात्मक प्रभाव परेको छ,” उनले मंगलबार भने।

पार्टीका अनुसार अभियान अवधिभर ९८ प्रतिशत पालिका कमिटीको अधिवेशन सम्पन्न भएको छ भने ८५ प्रतिशत वडा कमिटीहरूको पनि अधिवेशन भइसकेको छ। साथै, १७ हजारमध्ये १० हजारभन्दा बढी टोल कमिटीहरू गठन गरिएका छन्।

उनले भने, “जनसंगठनहरू क्रमशः समुदायमा स्थापित हुँदै गएका छन्, पार्टी सदस्यता नवीकरण र विस्तारमा उल्लेख्य प्रगति भएको छ र अधिकांश मातहत कमिटीहरूमा नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ।”

पार्टीले भने अभियानको क्रममा राजावादी शक्तिहरूको प्रतिगामी गतिविधिका कारण केही कामहरू अवरुद्ध भएको स्वीकार गर्दै ती अधुरा कार्यलाई निरन्तरता दिन निर्देशन दिइसकेको उल्लेख गरेको छ।

जरा अभियानपछि पनि समान प्रकृतिका जनमुखी कार्यक्रम लिएर अघि बढ्नुपर्ने आवश्यकता महसुस भएको भन्दै ढुंगेलले पार्टी नेतृत्वलाई विभिन्न प्रस्तावहरू समेत पेश गरेको जनाएका छन्। तीमध्ये पार्टीलाई व्यवस्थित, प्रणालीमा आधारित, डिजिटल प्रविधिमा अभ्यस्त बनाउने र पार्टी सदस्यता वितरणअघि अनिवार्य परीक्षा प्रणाली लागू गर्ने प्रस्तावहरू छन्।

यससँगै पार्टीले मतदाताको कम्तीमा ६ प्रतिशत बराबर सदस्य संख्या पुर्‍याउने योजना अघि सारेको छ। समुदायसँग जनसंगठन अभियान सञ्चालन गर्ने, सबै तहका कमिटीमा लघु प्रशिक्षण आयोजना गर्ने, जिल्लास्तरीय एमाले प्रोफाइल तयार गर्ने, दुई पुस्तालाई समेटेर कार्यक्रम सञ्चालन गर्नेजस्ता निर्णयहरू पनि बैठकमा गरिएको छ।

एमालेले हालसम्म २३ वटा जनसंगठनको महाधिवेशन सम्पन्न गरेको जनाएको छ। ७७ मध्ये ४९ जिल्लामा निर्वाचनमार्फत र बाँकी २८ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

पार्टी विधान महाधिवेशन नजिकिँदै जाँदा संगठन विभागले सबै कमिटीहरूलाई विधान संशोधनका प्रस्ताव मर्यादित भाषामा पेश गर्न निर्देशनसमेत दिएको छ।

विभागीय बैठकले एमालेलाई मुलुकको निर्णायक शक्ति बनाउने लक्ष्यसहित आगामी दिनमा थप योजनाबद्ध, नीति आधारित र सशक्त संगठन निर्माण अभियान सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

ढुंगेलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “जरा अभियानले सुरु गरेको जागरणलाई निरन्तरता दिँदै अब जनताको घरदैलोमा पुग्ने र पार्टीका कोर मूल्यहरू व्यवहारमा उतार्ने समय आएको छ।”

प्रतिक्रिया
सम्बन्धित समाचार