काठमाडौं(जस)–काठमाडौं– नेपाल बैंक लिमिटेडले आफ्नो पालुङ शाखाका कर्मचारी तलब खाता ग्राहक स्व. रघुनन्दन यादवको निधनपश्चात बीमा दाबी रकम वापत रु. ५ लाखको चेक मृतकको परिवारलाई हस्तान्तरण गरेको छ । स्व. यादव मकवानपुर जिल्ला, थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयका शिक्षक थिए । २०८२ जेठ १२ गते थाहा नगरपालिका–३ मा भएको सडक दुर्घटनामा उनको निधन भएको थियो । बैंकको कर्मचारी तलब खाता योजनाअन्तर्गत खाता खोलेको एक वर्षभित्र ग्राहकको दुर्घटनावश मृत्यु भएमा रु. ५ लाखसम्मको बीमा सुविधा उपलब्ध हुने प्रावधानअनुसार यादव परिवारलाई बीमा रकम तुरुन्त भुक्तानी गरिएको हो ।
नेपाल बैंक लिमिटेडले असार २२ गते आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले श्रद्धाञ्जली अर्पण गर्दै स्व. यादवकी श्रीमती अमिरा कुमारी यादवलाई चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सीईओ पाण्डेयले भने, “नेपाल बैंकले आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षालाई सधैं प्राथमिकतामा राख्दै आएको छ । भविष्यमा पनि सहज, सुरक्षित र भरपर्दो सेवा दिन प्रतिबद्ध छौं ।” त्यस अवसरमा श्रीमती अमिरा कुमारी यादवले बिना झन्झट सहज रूपमा प्राप्त बीमा रकमले परिवारको जीवनयापनमा ठूलो सहयोग पुगेको बताउँदै नेपाल बैंकप्रति आभार व्यक्त गरे ।
नेपाल बैंक लिमिटेड देशभरका ग्राहकहरूलाई विश्वासिलो सेवा, सुरक्षा र सहज पहुँच प्रदान गर्दै आएको छ । यस्तै असार १६ गते बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, नयाँ बानेश्वर अवस्थित लेट मि इन प्रा ।लि । मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा ।लि ।का प्रबन्ध निर्देशक डोङ्ग सुमाले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि लेट मि इन प्रालिको कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धि सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरुले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशत सम्म छुट पाउने भएका छन् ।