काठमाडौं, २९ असार । सुवास लामिछानेले एनआरएनए जापानको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । जापानभर फैलिएका शाखाहरू, सदस्यहरूको बढ्दो संख्यासँगै अबको नेतृत्व थप जिम्मेवार, संवादमुखी र नतिजामूलक हुनुपर्ने आवाजबीच लामिछानेले आफ्नो उम्मेदवारीले स्थायित्व र निरन्तरताको सन्देश दिएको बताउँछन्।
भन्छन्, ‘म उम्मेदवार हुनुअघि मैले गर्ने भनेको नेपाली समूदायका सबै साना–ठुला समस्या समाधानका लागि गर्ने पहलको प्रतिवद्धता हो। बाँकी एनआरएनए सदस्यहरु सबै सचेत हुनुहुन्छ।’
उम्मेदवारी बारे उनी समाजिक सञ्जालमा लेख्छन्, ‘यही जुलाई १२, २०२५ मा एनआरएनए जापानको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा सभामा उपस्थित भई मलाई हौसला प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय अग्रजहरू, मेरा सहकर्मी मित्रहरू, युवा साथीहरू, महिला दिदीबहिनीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिज्यूहरू, पत्रकार मित्रहरू र शुभचिन्तकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
तपाईंहरूको यो साथ, सद्भाव र उपस्थिति मेरो लागि ठूलो प्रेरणाको स्रोत हो। सन् २००७ देखि सुरु भएको मेरो जापान बसाईका अनेक भोगाई, समाजप्रतिको लगाव र तपाईहरुको स्नेहको फलस्वरुप आज म एनआरएनएको अध्यक्ष बन्छु भन्ने हिम्मत गर्नसक्ने भएको हुँ ।
पर्वत समाज जापानको सदस्य, उपाध्यक्ष र अध्यक्ष हुँदै, एनआरएनए जापानको प्रवक्ता र उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा मैले सधैं समुदायको हितलाई प्राथमिकता दिएँ । नेपाल फेस्टिवलमा उप–संयोजकको भूमिका निभाउँदा होस् या हटलाइन सेवा र घुम्ती सेवामार्फत हजारौं नेपालीलाई सहयोग गर्दा, भूकम्प पीडित बालबालिकाको शिक्षाका लागि कोष संकलन गर्दा होस् या चेपाङ संरक्षण केन्द्रमा सहयोग गर्दा, हरेक पाइलामा मैंले तपाईंहरूको विश्वास र मायाँ पाएको छु।
विद्यार्थीका समस्यामा साथ दिँदै, जापानी विद्यालयहरूसँग समन्वय गरी सहजीकरण गर्नेदेखि लिएर नेपाली चलचित्रको प्रवर्धन र खेलकुद विकासमा समेत मेरो सक्रियता निरन्तर रहनेछ। नेपाल हाउस निर्माणको सपनालाई साकार पार्ने र एनआरएनए जापानलाई सबैको साझा, पारदर्शी र राजनीतिक प्रभावमुक्त संस्था बनाउने मेरो अठोट छ।
आज मैंले संस्थागत सुदृढीकरण, सामुदायिक कल्याण, नेपालसँगको सम्बन्ध, युवा तथा महिला सशक्तीकरण, सांस्कृतिक प्रवर्द्धन र स्मार्ट एनआरएनए निर्माण लगायतका प्रतिबद्धताहरू सार्वजनिक गरेको छु। यी सबै प्रतिबद्धताहरू पूरा गर्न तपाईंहरूको साथ र सहयोग अपरिहार्य छ।’
यीनै पक्षहरुलाई थप सवल बनाउने योजनाकासाथ सुवासले एनआएनएमा अध्यक्ष पदको उम्मेदवारी दिएका छन् ।