शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु

आइतबार, असार २९ २०८२

धनगढी, २९ असार । छाउगोठमा सुतेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की २८ वर्षीया कमला आउजी दमाईको विषालु सर्पले टोकेर ज्यान गएको छ ।

शुक्रबार राति सर्पले डसेको उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा शनिबार बेलुका ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । मृतकको शव अस्पतालको शव चिस्यानमा राखिएको छ ।

छाउपडी प्रथाविरुद्ध अभियान चलाएको पालिकामा देउता रिसाउने भन्दै महिनावारीको बेला छाउगोठमै सुत्ने गरेकाकारण दुःखद घटना घटेको वडा अध्यक्ष मोहनबहादुर बस्नेतले बताए । “मृतकको घर पक्की छ । तर महिनावारी भएको बेला छाउघरमा बसेको बेला शुक्रबार राति ९ बजे सर्पले डसेको थियो”, उनले भने, “तत्कालै सेती प्रादेशिक अस्पताल लगे पनि ज्यान जोगिएन ।”

वडा अध्यक्ष बस्नेतका अनुसार मृतकका १५, ९ र ६ वर्षका तीन छोरा छन् । श्रीमान् भने रोजगारीको सिलसिलामा भारतको दिल्लीमा बस्ने गरेका छन् । घटनापछि मृतकको श्रीमान् आइरहेको वडा अध्यक्षले जानकारी दिए । उनले कृष्णपुरमा एकचोटी छाउगोठ भत्काइ सकिए पनि देउता रिसाउने भन्दै फेरि मान्छेले गोठ बनाएर महिनावारीको बेला त्यसैमा बस्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार