आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सम्पादकीय :  बाढीले बितण्डा

बिहिबार, असार २६ २०८२

मंगलबार बिहान भोटेकोशीमा आएको भिषण बाढी र यसले मच्चाएको बितण्डाका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ । सो घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनिया नागरिक गरी १९ जना बेपत्ता भएका छन् । उनीहरुको खोजीकार्य जारी छ । बेपत्ताहरुको खोजीकार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको गहमन्त्री रमेश लेखकको भनाई छ ।

त्यसैगरी धादिङस्थित त्रिशुली नदीको किनारमा नाम, थर, वतन नखुलेको दुई वटा पुरुषको शव फेला परेको छ भने रसुवा, धादिङ्ग र नुवाकोटमा गरी तीन वटा मानव शरीरको अंग फेला परेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट ३० जना नागरिकको उद्दार गरिएको छ । बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने उक्त सडक खण्डको धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध हुँदा आवतजावत बन्द भएको छ । सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि राखिएका २३ वटा मालबाहक कन्टेनर ट्रक, ३५ वटा विद्युत्तीय गाडी र ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको छ । रसुवागढी हाइड्रोपावरको ड्याम, त्रिशुली–३ बगाएको छ । उक्त स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार नै नेपाली सेनाको हेलिकोप्टरबाट स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएका छन् ।

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले नेपाल र चीन जोड्ने नाका रसुवागढीस्थित मितेरी पुल बगाएकाले आवागमन पूर्ण रुपमा अवरुद्ध भएको हुँदा उक्त पुलको पुनर्निर्माण गरी नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत मित्रराष्ट्र चीन सरकारलाई तत्काल अनुरोध गर्नुपर्छ । घटनाका मृतक र बेपत्ताका परिवारलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ भने सबै घाइतेहरुलाई सुविधानसम्पन्न अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउनु पर्छ । त्यसैगरी बाढीका कारण भएको सरकारी तथा व्यक्तिका निजी आवास, सम्पत्ति तथा पूर्वाधारको क्षति संकलन गरी उचित राहत प्रदान गर्दै निर्माण कार्यको थालनी गनुपर्छ ।

वर्षायाममा नेपालमा यस प्रकारका घटनाहरु पटक–पटक दोहोरिएर जनधनको व्यापक तथा अकल्पनीय क्षती हुने गरेकाले सूचना प्रणालीहरु देशका बिभिन्न स्थानमा जोड्न जरुरी छ । यस्ता घटना सबै नागरिकलाई पर्न सक्ने भएकाले एक स्थानका नेपालीलाई परेको प्राकृतिक प्रकोपका घटनामा अर्को स्थान र प्रदेशका सरकारले पनि उत्तिकै सहयोग गर्नुपर्छ । यस्ता घटनामा कसैले पनि राजनीतिक चलखेल गर्नुहुँदैन । घटनाको मौका छोपेर कालोबजारी, ठगी, भ्रष्टाचार र अन्य गैरकानुनी तथा आपराधिक गतिबिधिहरु पनि हुन सक्ने भएकाले यसप्रति सबै सरोकारवाला निकायहरु उत्तिकै सचेत र चनाखो हुन पनि जरुरी छ । उद्धार र राहत वितरण कार्य एकद्वार प्रणालीबाट भएको खण्डमा ‘कसैलाई खातै खात, कसैलाई पुुर्पूरोमा हात’ भने झैँ हुँदैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार