काठमाडौं । प्यालेस्टाइनमाथि इजरायली आक्रमण र गाजामा भइरहेका मानव अधिकार उल्लङ्घनविरुद्ध नेकपा (माओवादी केन्द्र) सहित १२ वटा राजनीतिक दलहरुले संयुक्त जनप्रदर्शन गर्ने भएका छन्। माओवादी केन्द्रका महासचिव देव गुरुङले बुधबार जारी गरेको सर्कुलर अनुसार शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरिनेछ।
सर्कुलरमा भनिएको छ, ‘अमेरिकी साम्राज्यवादको संरक्षणमा इजरायली सरकारले गाजा लगायतका क्षेत्रमा गरिरहेको हमला, जनसंहार, बस्ती उठाउने, अस्पताल र विद्यालयमाथिको आक्रमणजस्ता गतिविधि मानवताविरोधी अपराध हुन्। त्यसको विरोध स्वरूप सामाजिक र राजनीतिक रूपमा सचेत जनमत तयार पार्न संयुक्त प्रदर्शनको आयोजना गरिएको हो।’
यसअघि असार २३ गते बसेको संयुक्त बैठकमा विभिन्न १२ वटा राजनीतिक घटकहरूबीच साझा धारणा बनाइएको थियो। सो बैठक माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रिय पहलमा बसेको बताइएको छ।
माओवादी केन्द्रको नेतृत्वमा हुने विरोध प्रदर्शनमा सहभागी हुने भनिएका प्रमुख राजनीतिक दलहरूमा नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा लगायतका दलहरू छन्। सत्तारुढ र अन्य वामपन्थी तथा लोकतान्त्रिक धारका दलहरू यो विषयमा साझा आवाज उठाउन एकजुट भएका हुन्।
इजरायल तथा अमेरिका विरुद्धको विरोध प्रदर्शन शान्तिपूर्ण तर प्रभावकारी हुने बताइएको छ। कार्यक्रमको स्थान, समय र व्यवस्थापनको जिम्मा आयोजक दलहरूले आ–आफ्नो संयोजनमा लिनेछन्। महासचिव गुरुङले भने, ‘हामी मानव अधिकार, न्याय र शान्तिको पक्षमा छौं। प्यालेस्टाइनी जनतामाथि भइरहेको नृशंस दमनको विरोध गर्नु नेपाली जनताको पनि अन्तर्राष्ट्रिय दायित्व हो।’ उनले इजरायली ज्याजदीको प्रतिवादमा नेपाली जनताको सामूहिक चेतना र अन्तर्राष्ट्रिय समन्वय आवश्यक भएको औंल्याए।
यो प्रदर्शनले नेपालको जनस्तरमा फैलिएको प्यालेस्टाइनी जनताप्रतिको ऐक्यबद्धता अन्तर्राष्ट्रिय समुदायमा सशक्त सन्देश पुर्याउने विश्वास सम्बन्धित राजनीतिक विश्लेषकहरूले व्यक्त गरेका छन्। हाल गाजामा जारी युद्ध, बालबालिका र महिलाहरूको मृत्युदर, नागरिक पूर्वाधारमाथि आक्रमण लगायतले मानवता नै संकटमा परेको बताउँदै नेपाली राजनीतिक दलहरूले पनि त्यसविरुद्ध ऐक्यबद्धताको आवाज उठाउने निर्णय लिएका हुन्।
प्रदर्शनको तयारीलाई तीव्र पारिएको छ भने दलहरूले आफ्ना कार्यकर्ताहरुलाई उपस्थितिका लागि निर्देशन जारी गरिसकेका छन्। आयोजक पक्षले सबैलाई शान्तिपूर्ण, अनुशासित र भावनात्मक रूपमा सहभागी हुन आग्रह गरेका छन्।