आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सम्पादकीय : तुलसीको महत्व

सोमबार, असार २३ २०८२

असार २२ गते आइतबार शुक्ल एकादशीका दिन घरमा भएका तुलसीको मठमा बिरुवा सारिएको छ । हिन्दू परस्परा अनुसार प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन तुलसीको मठमा तुलसीको बिरुवा सारिने परम्परा छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिन घरघरको तुलसीको मठमा राखिएको दलका बिरुवा यस दिन सारिएको हो । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको संस्कृतिविद्हरुको कथन छ ।

बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । त्यसैले मानिसहरुले घरको आँगनमा तुलसीको मठ बनाई त्यसमा तुलसीको बिरुवा रोप्ने गर्दछन् । तुलसीको मठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता रहिआएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।

त्यसका अलवा तुलसीको पातको रस वा चिया बनाएर सेवन गर्दा ज्वरो, खोकी, श्वासप्रश्वासको समस्या कम हुने भएकाले पनि यसको बिरुवा रोप्ने गरिन्छ । तुलसीको मठ नहुनेहरुले घरको छत, कौशी, बरण्डा र अन्य खाली स्थानमा गमलामा तुलसीको बिरुवा रोप्ने गरेको पनि हामी पाउछौंँ । तुलसीको पात सेवन गर्नाले पाचन सुधार गर्ने, पाचन प्रणालीलाई सक्रिय बनाउने र ग्यास, अपच कम गर्ने काम गर्छ । त्यसैगरी यसको सुगन्धले मानसिक तनाव कम गर्ने, मनलाई शान्त बनाउने र तनाव घटाउने गुण हुन्छ । तुलसीको पेस्टले दाद, खटिरा, एलर्जी लगायतका समस्या निको पार्न पनि मद्दत गर्ने भएकाले यसलाई औषधीय गुण भएको वनस्पती पनि भन्ने गरिन्छ । कतिपय आयुर्वेदिक औषधीहरुमा तुलसीको पात, डाँठ, फूल र गेडा सुकाएर त्यसको धुलो बनाई प्रयोग गरिने भएकाले यसको निकै ठूलो गुण हुन्छ ।

तसर्थ, तुलसी केवल एक औषधीय बिरुवा मात्र नभई वातावरण शुद्ध गर्ने, धार्मिक महत्व राख्ने र जीवनशैली सुधार गर्ने प्राकृतिक वरदान हो । यसलाई घरमा रोपेर नियमित रुपमा प्रयोग गर्दा शरीर, मन र वातावरण तीनै कुरामा लाभ मिल्ने भएकाले पूर्वीय समाजमा यसको निकै महत्व छ । हिन्दूू परम्परा अनुसार जव मानिस आफ्नो जीवनको अन्तिम क्षणमा पुगेको हुन्छ, त्यतिबेला उसको शवलाई तुलसीको मठ अगाडि राख्ने चलन पनि छ । यसले गर्दा रोग लागेर सिथिल भई मृत्युवरण गरेको व्यक्तिको शरिरमा रहेका किटाणुहरु तुलसीको गन्धले गर्दा टाढा भाग्ने जनविश्वास रहिआएको छ । तसर्थ तुलसीको बिरुवालाई हामीले आफ्नो घर वरिपरी रोप्दा यसले निकै फाइदा पुर्याउने भएकाले यसलाई भगवान विष्णुको प्रतिकका रुपमा समेत लिने गरिएको हो ।

भगवान त्यो हो, जसले मावन जाती मात्र नभई समग्र प्राणी, पृथ्वी, जल, वायु सबैको हित एवम् कल्याण गर्छन् । सबैको कल्याण गर्ने भएकैले ती भगवानको प्रतिकका रुपमा पुजिएका हुन् । आजको विज्ञान र प्रविधिको युगमा तुलसीको महत्वलाई कसैले त नकार्ल तर विज्ञानका प्रयोशालाहरुले बनाउने औषधीमा प्राृकतिक वनस्पपतिहरुकै प्रयोग गरिएको छ । हामी जति सुकै आधुनिक भएपनि प्रकृतिभन्दा ठूलो र प्रकृतिभन्दा माथि कोहि र केही छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार