शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

आलम प्रकरणमा नयाँ मोड, बम विस्फोटमा जलेका गौरीशंकरले मागे न्याय

सोमबार, असार २३ २०८२

काठमाडौं(जस)–२०६४ साल चैत २७ गतेको दिन संविधानसभा निर्वाचनको पूर्वसन्ध्या । रौतहटको राजपुर फरहदवास्थित राजा इँटाभट्टामा भारतको सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार मजदुरी गर्थे । त्यो दिन उनी आफ्ना दुई साथीहरूसँग मजदुरीबापतको पारिश्रमिक लिन कांग्रेस नेता मोहम्मद अफ्ताब आलमको घरतिर लागे । आलमकै घरको ढोकासम्म पुगेका गौरीशंकरलाई थाहा थिएन, त्यहाँ भित्र के हुँदैछ । उनले भोगेका पीडाको स्मृति अझै ताजै छन्, जुन उनले बयान गर्दा आँखा रसाउँछन् । “घरको ढोकाको छेउमै पुगेको बम पड्कियो,” उनले सम्झिए, “आगो लागेपछि म भागेँ, पानीमा हाम फालें, केही बेरपछि होस गुमेछ, आँखा खुलेपछि आफू भारतको अस्पतालमा छु भन्ने थाहा पाएँ ।”
बम विस्फोटमा परेर उनको दुवै कान उडे, अनुहार, छाती र घाँटीमा गम्भीर चोट लाग्यो । तीन महिनासम्म भारतमै उपचार चल्यो । परिवारले साढे तीन लाख भारतीय रुपैयाँ जुटाएर उनको ज्यान बचायो । तर, उनी आज पनि ती दिन सम्झेर भक्कानिन्छन् । उनको भनाइमा विस्फोट अफ्ताब आलमको काकाको घरमा भएको थियो, त्यही घरमा उनी पैसा लिन बोलाइएका थिए । विस्फोटपछि गाउँलेहरूले उनलाई अचेत अवस्थामा भारत पुर्याएका रहेछन् । त्यो घटनामा केही अन्य व्यक्ति पनि घाइते भए भने कति जनाको ज्यान गएको भन्ने अझै अस्पष्ट छ । गौरीशंकर भन्छन्, “अफताबले एकचोटि पनि मलाई भेट्न आएन, न त कुनै सहयोग ग¥यो । उसका मान्छेले त मेरो आमासँग धम्की दिएर भने– तिम्रो छोरा बाँच्दैन अब, गयो त्यो ।”
सो घटनासँग सम्बन्धित मुद्दामा उच्च अदालत वीरगन्ज इजलासले पर्याप्त प्रमाण नपाइएको भन्दै अफ्ताब आलमलाई सफाइ दिएको छ । अदालतले बम विस्फोट भएको पुष्टि नभएको उल्लेख गरेको छ । तर गौरीशंकर भन्छन्, “त्यो घरमा बम पड्किएको म आफ्नै शरीरले महसुस गरेँ । मलाई त्यही विस्फोटले घाइते बनायो । अब कसरी भन्ने त्यो विस्फोट भएको होइन ?” उनको शरीरमा अहिले पनि घाउका डाम छन्, कान सुन्न सक्दैनन् । काम गर्न सक्ने अवस्था छैन । घरको जिम्मेवारी, दुःख, गरिबी र असहाय अवस्थाको बिसाउनी बनेर उनी भन्छन्, “त्यस्तो मान्छे छुट्यो, मलाई झन डर लागिरहेको छ । उसले धम्की दिएको छ । म अब मर्छु कि बाँच्छु, मलाई थाहा छैन ।”
उनको माग छ–राज्यले पीडितलाई न्याय दिनुपर्छ । उनले भने, “सरकारसँग म बिन्ती गर्छु, त्यस्तो मान्छेलाई छोड्न हुँदैन । कडाभन्दा कडा सजाय हुनुपर्छ ।” गौरीशंकर राम चमार न्यायको आशमा छन्, तर राज्यको निर्णयले उनको पीडामा मल्हम होइन, अझ चोट थपेको महसुस गर्दैछन् । अदालतको फैसलाले कान त उडायो, अब आवाज नपुगेको उनी जस्तै अरू पनि होलान् ? आलमले अदालतबाट सफाइ पाइसक्दा उनी भने अहिले आफ्नो पीडा सुनाउन काठमाडौँ आएका छन् । यही मेसोमा आइतबार उनले आफ्नो पीडा सुनाए । आलम छुटेपछि उनलाई अब आफ्नो ज्यानको सुरक्षाको पनि चिन्ता छ । त्यसवेला घरमै गएर आलमका मान्छेहरूले धम्की दिएको सम्झिँदै आफूलाई आलमले मार्छ कि भन्ने डर भएको उनी बताउँछन् ।
‘म घरमा नहुँदा आलमको मान्छे गएर मेरो आमालाई भनेको छ– तेरो छोरा त गयो अब । दुई साल, चार साल, पाँच साल बितेपछि बाँच्दैन,’ उनले त्यसवेला दिइएको धम्की सम्झिँदै भने, ‘बम फाटेर हामीलाई यस्तो पीडित बनाएको त्यस्तो मान्छे छुट्यो । आज म सरकारसँग निवेदन गर्छु त्यस्तो मान्छेलाई छाड्नुभएन । कडाभन्दा कडा सजाय दिनुप¥यो ।’ त्यसदिन आलमको घरमा कति जना मानिस थिए भन्ने सवालमा उनी बताउँछन्, ‘त्यहाँ धेरै मान्छे थिए ।’ उच्च अदालत वीरगन्जले सफाइ दिएसँगै नेपाली कांग्रेसका नेता आलम रिहा भइसकेका छन् । गत जेठ १४ गते न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो । आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको पूर्णपाठमा बम विस्फोट भएको प्रमाणको अभावमा घटना भएको पुष्टि नभएको, शव जलाइएको पुष्टि नभएको, साक्षीले फेरेको बयान आदिलाई आधार मानिएको छ । मारिएका व्यक्तिको वारदात (इँटाभट्टा)मा मृत्यु भएको पुष्टि हुन नसकेकाले प्रतिवादीले सफाइ पाउने फैसलाको पूर्णपाठमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार