सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जापानमा दुई साताको अवधिमा ९०० भन्दा धेरै भूकम्प आएपछि मानिसहरु अत्तालिए

बिहिबार, असार १९ २०८२

एजेन्सी, १९ असार । बितेको दुई साताको अवधिमा दक्षिणी जापानमा पातलो बस्ती भएको टापुहरूको समूहमा ९०० भन्दा धेरै भूकम्प आएपछि मानिसहरू अत्तालिएका छन्।

जुन २१ तारिखदेखि टोकारा टापुहरू वरपरको समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय रहेको अधिकारीहरूले बताएका छन्। बुधवार त्यहाँ ५.५ म्याग्निट्यूडको भूकम्प आएको थियो।

अहिलेसम्म क्षतिका विवरण आएको छैन र सुनामीको चेतावनी पनि जारी गरिएको छैन।खतर अधिकारीहरूले परेको खण्डमा त्यहाँबाट अन्यत्र जानको निम्ति स्थानीय बासिन्दाहरूलाई तयार रहन भनेका छन्।

‘जहिल्यै हल्लिरहन्छ’

एकजना स्थानीय बासिन्दाले क्षेत्रीय प्रसारक एमबीसीसँग कुरा गर्दै ‘सुत्न पनि डर लागेको छ’ । भने ‘जहिल्यै हल्लिरहेको जस्तो अनुभव भएको छ।’

टोकारा क्षेत्रले विगतमा पनि यस्ता भूकम्पहरू बेहोरेको छ तर लगातार एकपछि अर्को गरी आएका पछिल्ला भूकम्पहरू अलि अस्वाभाविक लागेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

भूकम्पको दृष्टिले जापान संसारमै सबभन्दा सक्रिय देशहरूमध्ये पर्छ। प्यासिफिक रिङ अफ फायर भनिने कैयन् टेक्टोनिक प्लेटहरूको सङ्गम रहेको स्थलमा जापान अवस्थित छ। त्यहाँ हरेक वर्ष करिब १,५०० भूकम्प जाने बताइन्छ।

टोकाराको १२ मध्ये सात टापुमा करिब ७०० मानिस बस्छन्। कतिपय विकट टापुहरूमा अस्पताल छैनन् – सबैभन्दा नजिकको टापु भनेको उक्त प्रिफेक्चरको राजधानी कागोशिमाबाट डुङ्गामा कम्तीमा छ घण्टा पर छ।

‘भूकम्प आउनुअगाडि समुद्रबाट अनौठो गर्जनजस्तो आवाज आउँछ, खास गरी रातको समयमा। निकै डरमर्दो छ,’ आकुसेक्जीमा टापुकी चिजुको आरिकावाले द असाही शिम्बुनसँग भनिन्।

‘सबै जना थकित छन्। हामी सबै जना यो रोकियोस् भन्ने चाहन्छौँ,’ समुद्र तटमा आफ्ना पतिसँग बस्ने यी ५४ वर्षीया महिलाले भनिन्।

‘यति धेरै भूकम्पपश्चात् अब त केही नहुँदा पनि जमिन हल्लिरहेको जस्तो लाग्छ,’ आकुसेक्जीमा टापुका स्थानीय बासिन्दाहरूको सङ्घका अगुवा ६० वर्षीय इसामु साकामोतोले भने।

तोशिमा गाउँमा कतिपय बासिन्दाहरू अनिदो र थकित भएको अधिकारीहरूले बताए। सञ्चारमाध्यमहरूलाई प्रश्नको वर्षा नगर्न पनि गाउँलेले आग्रह गरेका छन्।

‘हामी तपाईँहरूलाई अलि विचार पुर्‍याउन र ज्यादा प्रश्न वा अन्तर्वार्ताका लागि नभन्न आग्रह गर्छौँ,’ गाउँको वेबसाइटमा राखिएको सूचनामा भनिएको छ।

टोकारा टापुका केही गेस्टहाउसहरूले भूकम्पका कारण पर्यटकहरूलाई आउनबाट रोकेको र तिनलाई आवश्यक परे स्थानीयका लागि आश्रयको रूपमा प्रयोग गरिने वेबसाइटमा उल्लेख छ।

ठूलो भूकम्पको हल्ला

यी भूकम्पका शृङ्खला त्यतिखेर आएका छन् जतिखेर ठूलो र विनाशकारी भूकम्प चाँडै आउन लागेको भनेर जापानभरि हल्ला फिँजिएको छ।

माङ्गा आर्टिस्ट रियो तात्सुकीको सन् १९९९ को एक चित्रकथाले ती हल्ला झन् फैलाइदिएको छ। सन् २०२१ मा सार्वजनिक भएको नयाँ संस्करणमा उनले यो वर्षको जुलाई ५ मा अर्को ठूलो भूकम्प आउने दाबी गरेकी थिइन्।

केही पर्यटकहरू ती हल्लाले तर्सिएका छन्। कैयन् भ्रमण योजना रद्द भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

जापानमा आउने अधिकांश भूकम्प साना हुन्छन् तर केही चाहिँ विनाशकारी हुन्छन्। उदाहरणका लागि सन् २०११ को भूकम्पले उत्तरपूर्वी तटमा ठूलो सुनामी ल्यायो जसकारण १८ हजारभन्दा धेरै मानिसको ज्यान गयो।दशकौँदेखि अधिकारीहरूले ‘अर्को ठूलो’ भूकम्प – जुन शताब्दीमा एकपटक आउँछ – आउला भन्ने डर पालेका छन्। धेरै मानिसहरू यो डरमाझ नै हुर्किएका छन्। एकदमै खराब अवस्थामा तीन लाख मानिसको ज्यान जाने प्रक्षेपण गरिएको छ।

यो साताको सुरुमा सरकारले त्यस्ता सम्भावित विपत्तिलाई मध्यनजर गर्दै तटबन्धहरूको निर्माण अनि भवनहरूबाट उद्धारसम्बन्धी नयाँ कदमहरू चालेर जनताको तयारी अवस्था सुदृढ पार्न खोजेको छ – तर उसले अझै धेरै गर्नु पर्ने आवश्यकता पनि औँल्याइएका छन्। बीबीसीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार