काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद, मध्यपूर्व संयोजक रमेश श्रेष्ठले बद्री केसी समूहद्वारा मध्यपूर्वमा फैलाइएको भ्रम र विखण्डनकारी गतिविधिको घोर भत्र्सना गर्दै मध्यपूर्वका सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई एकतामा गोलबन्द हुन अपील गरेका छन् । सर्वोच्च अदालतको परमादेश तथा उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद नै आधिकारिक कार्यसमिति रहेको संयोजक श्रेष्ठले स्पष्ट पारे । यो कार्यसमिति नेपाल सरकारबाट समेत मान्यता प्राप्त गरी विश्वभर कार्य गर्दै आइरहेको कुरा सर्वविदितै रहेको विज्ञप्तिमा उल्लेख छ ।
उच्चस्तरीय समितिद्वारा आयोजित एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेकोमा कुनै द्विविधा नरहेको भन्दै संयोजक श्रेष्ठले बद्री केसी समूहले मध्यपूर्वका आम गैरआवासीय नेपालीहरुलाई दिगभ्रमित र विखण्डित पार्ने गरि जारी गरेको सर्कुलरप्रति घोर भत्र्सना गरे । मध्यपूर्वका नेपालीहरुलाई विखण्डन गराएर आफ्ना कुत्सित उद्देश्यहरु पुरा गर्न चाहने बद्री केसी समूहको यो हर्कत आफैंमा निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।
गैरआवासीय नेपाली संघ मध्यपूर्व श्रमिकहरुको हक हित र अधिकार रक्षाको लागी सदैव एक ढिक्का रहेको तथा मध्यपूर्वमा रहेका एनसीसीहरु सदैव एकताबद्ध रहेको र रहने प्रतिबद्धता व्यक्त गर्दै संयोजक श्रेष्ठले सम्पूर्ण एनसीसीहरु, गैरआवासीय नेपाली संघका सदस्यहरु तथा अन्य बैचारिक, सामाजिक, जातिय एवं क्षेत्रीय संघसंस्थाहरुलाई विखण्डन र फुटको पक्षमा नलाग्न अपील गर्नुभएको छ । उहाँले बद्री केसी समूहले छरेको भ्रममा नपरी एकताको मार्फत निर्वाचित एनआरएनए आईसीसीमा गोलवन्द हुँदै भ्रमको खेती गरेर आफ्ना स्वार्थको विस्कुन सुकाउन लागी परेका तत्वहरुलाई दृढतापूर्वक परास्त गर्दै अघि बढ्न समेत आग्रह गरेका छन् ।
विगत केही दिन यता सोही समूहले मध्यपूर्वका केही एनसीसीहरुको सम्बन्धन खारेज गरेको भन्दै एनसीसी अधिवेशन गर्न तदर्थ समितिको नाममा आफ्ना गुटका सीमित व्यक्तिहरु राखेर ’नाटक मञ्चन’ भइरहेको कुरालाई समेत संयोजक श्रेष्ठले ’अवान्छित गतिविधी’ भन्दै खारेज गरेका छन् । गैरआवासीय नेपाली संघ मध्यपूर्व नेपालीहरुको समस्या समाधान, श्रम अधिकार, पेशागत तथा व्यवसायिक स्तर उन्नतीको लागी निरन्तर लागिरहने कुरा समेत उनले स्पष्ट पारे । बद्री केसी समूहले आफू अनुकुल हुन नसकेपछि यूएई र कतारसहितका चार एनसीसीलाई कारबाही गरेका थिए । जुन कार्यलाई केसीको धम्क्याउने शैलीको रुपमा टिप्पणी भइरहेको छ ।