केही समय पहिले ‘ईन्गेजमेन्ट’ बोलको गीत भिडियो सहित सार्वजनिक गरेर चर्चामा रहन सफल गायक प्यासीले ‘काली’ र ‘तिमी मान्छे’ बोलका दुई गीत श्रोता, दर्शकमाझ ल्याउने अन्तिम तयारी गर्दैछन् । आफ्नै शब्द, स्वर रहेको यी दुई गीतले आफ्नो बिगतका सिर्जनाहरुले जस्तै सफलता पाउने कुरामा उनी विश्वस्त देखिन्छन् । गायक भुवन प्यासीका दर्जनौँ गीत स्रोता रुचिका छन्ः जसमा ट्राफिक जाम, झम्के झम्के, हे बरै, लेहेङ्गा हार, माइली, यो देशको लागि, मखमली, हल्का हल्का चुम्न देऊ न काली, ईन्गेजमेन्ट अलिबडी चर्चामा रहे ।
सांगीतिक कार्यक्रमको सिलसिलामा सिङ्गापुर, थाइल्याण्ड, जर्मनी, मलेसिया, हङकङ, दुबई, युके, अमेरिका लगायत दुई दर्जन भन्दा बढी देशको सांगीतिक भ्रमण गरिसकेका गायक भुवन प्यासी राष्ट्रिय स्तरका र बिभिन्न संघ संस्थाबाट सम्मानित भएका छन् । सांगीतिक क्षेत्रमा राम्रो सफलता हात पारेका युवा पुस्ताका लोकप्रिय गायक प्यासीसंग जनसवाल राष्ट्रिय दैनिकले गरेको गरेको कुराकानी :
० पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
दुईवटा गीत रेकर्ड गरेर भ्याएको छु । म्युजिक भिडियो सहित दर्शक, श्रोता समक्ष प्रस्तुत हुने तयारीमा छु ।
० बीचमा हराउनु भएको हो ?
हराएको होइन, गीतहरु रेकर्डिङमा बिजि भैयो । मिडियामा कम आएको कारण त्यस्तो लाग्नु स्वभाविक हो । यो बीचमा सांगीतिक कार्यक्रम लिएर अमेरिका टुरमा थिएँ ।
० विदेशमा नेपाली संगीत लिएर जाँदा कस्तो महशूस गर्नुहुन्छ ?
गौरबको महशूस हुन्छ । नेपाली डायस्पोराले यति धेरै माया दिनुहुन्छ कि लाग्छ म गीत होइन, संस्कृति बोकेर आएको छु । अमेरिका लगायतका देशमा नेपाली युवाले नेपाली गीत गुनगुनाइरहेको देख्दा गर्व लाग्छ । विदेशको बसाई जति नै व्यस्त भएपनि नेपाली गीतसंगीतलाई माया गरेर कार्यक्रममा उपस्थित हुनु नै हामी कलाकारको लागि खुशीको कुरा हो ।
० कस्तो खालको गीत गाउन रुचाउनु हुन्छ ?
सबै खाले गीत गाएको छु । लोक आधुनिक, राष्ट्रिय गीत, होली गीत समेत बजारमा ल्याईसकेको छु । थोरै गीत गाउने तर कालजयी गीत गाउन रुचाउछु ।
० सुरुवाती दिनलाई सम्झनु पर्दा ?
कुनै पनि क्षेत्रमा संघर्ष बिना सफलता असम्भव छ । निरन्तर संघर्ष, काम प्रतिको ईमान्दारिता र धैर्यका कारण आज यो सफलता मिलेको हो ।
सबै खाले गीत गाएको छु । लोक आधुनिक, राष्ट्रिय गीत, होली गीत समेत बजारमा ल्याईसकेको छु । थोरै गीत गाउने तर कालजयी गीत गाउन रुचाउछु ।
० गीतसंगीतको क्षेत्र महंगो भो भन्छन् नि ?
महंगीयो भन्दा पनि समय अनुसार चल्नु पर्ने बाध्यताका कारण यस्तो लागेको हो । किन की अहिले सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको प्रचलन बढेको छ । जसले गर्दा स्वभाविक रुपले महंगो हुने नै भयो ।
० यो महंगीमा आर्थिक व्यवस्थापन कसरी गर्नु हुन्छ ?
विदेशमा हुने साँस्कृतिक कार्यक्रमहरु र देशमा हुने मेला महोत्सवहरुबाट गर्ने गरेको छु । डिजिटल प्लेटफर्मबाट पनि धेरथोर सहयोग हुने गरेको छ ।
० संगीत किन सुन्ने ?
गीतसंगीतलाई मनोरञ्जनको साधनको रुपमा मात्र लिनु हुदैन । गीतसंगीतले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ । गीतसंगीतले कतिपय देशमा व्यवस्था परिवर्तन गर्न सघायको इतिहास छ । अर्को कुरा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न पनि गीतसंगीतको महत्वपूर्ण भूमिका रहन्छ । थकान र पिडा हरणको लागि पनि गीत सुन्दा मनलाई सितलता प्रदान गर्ने अचुक औषधी भएकोले पनि गीत सुन्नु पर्छ ।
० अन्त्यमा, के भन्न चाहनु हुन्छ ?
जतिनै आधुनिकतामा रमाए पनि जतिनै पाश्चात्य संगीतमा झुमे पनि एक छेउमा आएर नेपालीको मन भने तिनै मौलिक भाका भनौ या आआफ्ना भाषामा बनेका गीतहरुमा नै रम्ने गर्छन् । यो नै एउटा मौलिक संगीतको महत्व पनि हो । त्यसैले हामी जस्ता युवा पुस्ताले पाश्चात्य र क्षणिक चर्चामा रहने भन्दा पनि आफ्नै मौलिकपन झल्कने कालजयी गीतसंगीतलाई अंगाल्न अनुरोध गर्न चाहन्छु ।