गलकोट, १५ असार । प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा कंडेलको आइतबार बिहान निधन भएको छ । चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाने तयारी गर्दैगर्दा उनको निधन भएको परिवारका सदस्यले बताए ।
२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा नेपाली कांग्रेसको तर्फबाट विजयी कंडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमानदार नेताका रूपमा परिचित छन् । बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्व सभापति हुन् । २०४६ सालको आन्दोलनका क्रममा जेल परेका कंडेल बहुदलपछि पार्टी सभापति र सांसद बनेका थिए ।
१९९५ साल पुस १० गते काठेखोला गाउँपालिका वडा नं ६ बिहुँकोटमा जन्मिएका शर्माको शव आइतबार जन्मस्थल बिहु ल्याउने र सोमबार अन्त्येष्टि गरिने छोरा नविन कंडेलले जानकारी दिए । स्वर्गीय कंडेलकी धर्मपत्नी विष्णुदेवी कँडेलको दुई वर्ष पहिले निधन भएको थियो । कँडेलका दुई छोरा र एक छोरी छन् ।