शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्रिय धान दिवस : असारे भाका र दही चिउरा

असारलाई ‘मानो रोपेर मुरी उब्जाउने सिजन’ पनि भनिन्छ । अर्थात, यो आयआर्जनको स्रोत बढाउने मेलो पनि हो । थोरै खाएर धेरै काम गर्ने बेला हो । वास्तवमा भन्ने हो भने किसानहरुलाई फुर्सदले खाने समय पनि हुँदैन यतिबेला ।

आइतबार, असार १५ २०८२

फणीन्द्र फुयाल ज्वाला

‘छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले,
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले
पूर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर ।’

आज असारको पन्ध्र गते । राष्ट्रिय धान दिवस अनि दही चिउरा खाने दिन । यसैगरी असारे भाकामा गीत गाउँदै, लाठे, हली र बाउसेले तयार पारेको हिलोको मेलोमा रोपारले धानका गाँज रोपेर आज देशभर धुमधामकासाथ असार पन्ध्र मनाइँदै छ । यो बर्खेझरीको महिना पनि हो । आज असार पन्ध्र मनाउन मन्त्रीदेखि कलाकार, विद्यार्थीदेखि खेलाडी, पत्रकारदेखि विभिन्न पेसाकर्मी हातमा धानको हरियो बीउ बोकेर हिलोमा खुट्टा चोपलेको पनि आज देख्न पाइन्छ । आज हिलोमा टेके गति परिन्छ भन्ने मान्याता पनि रहिआएको छ ।
विद्यालयमा व्यावहारिक शिक्षा सिक्ने विद्यार्थीहरू त झन रमाएर, हौसिएर र जोसिएर दुनाटपरीमा दही चिउरा खाएको देख्दा रमाइलो लाग्ने गर्छ । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था गर्छन्, दहीको जोहो गर्छन् । यसमा कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केराको । घरघरमा दही चिउरा खाइन्छ । आजको दिन दही चिउरा खाए गति परिन्छ भन्ने चलन पनि गाउँघरतिर छ ।

दही चिउरा खानु नेपाली परम्परा हो । तर, यो परम्परा अर्थपूर्ण पनि छ । असार पन्ध्रमै किन दही चिउरा खाने चलन चलाइयो ? यसको विशेष महत्व छ । हाम्रो मुलुक कृषिमा आधारित छ । धेरैजसोको जीवन खेती किसानीमा बित्ने गर्छ । धेरैजसोले पशुपालन गर्छन्, अन्नबाली लगाउँछन् । अतः असार साउन अर्थात् वर्षायाम खेतीबाली लगाउने याम हो । यतिबेला मकै भित्र्याएर धान, भटमास, बोडी, मासलगायत अन्नबाली लगाउने गरिन्छ । अन्नबाली लगाउनका लागि यो नै अनुकूल याम हो ।

खेतीपातीमा खटिने किसानहरुलाई यतिबेला भ्याइनभ्याइ हुन्छ । किसानहरु दिनभर माटोमा खेल्छन्, हिलोमा खेल्छन्, मलखाद तयार गर्छन्, अन्नबाली लगाउँछन् । बिहानदेखि साँझसम्म उनीहरू काममा खटिन्छन् । त्यसैले त असारलाई ‘मानो रोपेर मुरी उब्जाउने सिजन’ पनि भनिन्छ । अर्थात, यो आयआर्जनको स्रोत बढाउने मेलो पनि हो । थोरै खाएर धेरै काम गर्ने बेला हो । वास्तवमा भन्ने हो भने किसानहरुलाई फुर्सदले खाने समय पनि हुँदैन यतिबेला ।

कामको चटारो हुने र गर्मी पनि हुने भएकाले यतिबेला किसानका लागि छिटोमीठो खाजा हो, दही चिउरा । दही चिउरा तयारी परिकार भएकाले पकाइरहनु पर्दैन । दही चिउरा बनाउन समय पनि लाग्दैन । त्यसैले कामको हतारोबीच दही चिउरा उपयुक्त हुन्छ खाजाको लागि । दही चिउरा मीठो पनि हुन्छ ।
वर्षायाममा दही चिउरा सेवन गर्नुको सम्बन्ध स्वास्थ्यसँग पनि छ । वर्षायाममा खानेकुराको माध्यमबाट संक्रमण हुने भय हुन्छ । यतिबेला झिंगा, लामखुट्टे, साङ्ला आदिले खानेकुरा दूषित बनाउन सक्छन् । यसैगरी गर्मीले गर्दा चाडै सड्ने, गल्ने हुन्छ । त्यसैले पकाएको वा पकाएर राखेको खानेकुराले पेटमा संक्रमण हुने, अपच हुने डर हुन्छ ।

दही चिउरामा त्यस्तो संक्रमणको भय हुँदैन । दही पाचन यन्त्रका लागि निकै उपयोगी मानिन्छ । दहीमा भएका ब्याक्टेरियाबाट पाचन पक्रियामा सघाउ पुग्छ । त्यसैगरी गर्मीमा दहीले शरीरलाई शीतल बनाउँछ । त्यसो त दहीले शरीरलाई फुर्तिलो बनाइराख्न सहयोग गर्छ ।
त्यसैगरी चिउरा स्वास्थ्यवर्धक खानेकुरा हो । यो सड्ने, गल्ने, बासी नहुने भएकाले कुनै पनि किसिमको संक्रमण हुँदैन । चिउरा र दहीको सम्मिश्रण स्वादिलो हुन्छ । साथसाथै सुपाच्य पनि हुन्छ । यसो त दही र चिउरा असार पन्ध्रमा मात्र खाने परिकार पनि होइन । आफ्ना बालबच्चालाई जंकफुड (पत्रुखाना) होइन, दही चिउरामा बानी पार्दा राम्रो हुन्छ ।

चिउरा कार्बोहाइड्रेडको स्रोत हो । दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ । यही कारण धेरै काम गर्ने दिन अर्थात् असार १५ मा दही–चिउरा खाने प्रचलन चलेको हुनुपर्छ ।
असार १५ मा गर्मी पनि बढेको हुन्छ । गर्मीमा धान रोप्दा पसिनाको माध्यमबाट जाने पानीलाई समेत यसले परिपूर्ति गर्ने भएकाले दही–चिउरा खाने चलन बसाएको हुनुपर्छ हाम्रा पुर्खाहरुले । दही–चिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि कामको चाप भएका बेलाको खाना वा खाजाका रुपमा यसलाई रोजिएको हुनुपर्छ ।

तर अचेल दही–चिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्न छैन । अरुबेला पनि दही–चिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ । यो जुनसुकै उमेर समूहले पनि खान सकिन्छ, जुन बेला पनि खान सकिन्छ । दूध फाटेर बन्ने दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ । यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया समेत हुन्छ । चिउरामा भने कार्बोहाइड्रेड, आइरन र प्रोटिन पाइन्छ ।

धानलाई भिजाएर ओखल वा मिलमा कुटेर तयार गरिएको खाद्यपदार्थ नेपाली खाना चिउराको ठूलो महत्व छ । चिउरालाई चोखो खाद्यपदार्थका रुपमा पनि लिइन्छ । हिजोआज चिनी हालेर गुलियो बनाएर दही खाने चलन छ । चिनी हाल्नुभन्दा सिजन अनुसारका फलफूल केरा, आँप आदि मिसाएर खाँदा उपयुक्त हुन्छ । यसरी खाँदा हामीले थप भिटामिन र खनिज पदार्थ पनि पाउन सक्छौं । यदि गुलियो बनाएर खाने हो भने पनि प्रकृतिक गुलियो सखर, खुदो मिसाइयो भने स्वास्थ्यका लागि अझ लाभदायी हुन्छ ।

राष्ट्रिय धान दिवस

नेपालले वि.सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रुपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाइँले ठूलो महत्व राख्छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरु हुन्छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ । त्यसैले कृषकहरू असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाइँ गर्न नपाएमा धान पाक्ने ढिलो हुनाले पनि बढी चटारो भएको हो ।

सामाजिक, धार्मिक र सांस्कृतिक पक्ष

रोपाइँ मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि जोडिएको छ । रोपाइँको पहिलो दिन देवतालाई बीउ चढाई, अन्नपूर्णको आराधना गरी श्रीगणेश गरिन्छ । रोपाइँमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्म लगाएर काम गर्दा यसले सामाजिक एकता र सद्भाव बढाउँदै आएको छ । कतैकतै ठूला खेती भएकाले रोपाइँ गर्दा पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालालाई मसला र रुमाल बाँड्ने पनि प्रचलन छ । हुनत, पानी धेरै नपर्ने स्थानमा घैया धान लगाउन सकिन्छ तर वर्षे धान भन्दा यसको उत्पादन कम हुन्छ ।

हिजोआज खेतिपातिमा प्रविधि भित्रिएसँगै खेतमा हलगोरु नारेर रोपाईँ गरेको बिरलै देख्न सकिन्छ । तराईका फाँटमा त पहिल्यैदेखि ट्याक्टरले खेत जोत्ने प्रचलन छँदै थियो । तर पहाडमा पनि अचेल हाते ट्याक्टर प्रयोग गरेर खेतिपाति गर्ने चलन बढेको छ । कतिपय स्थानीय तहले कृषकलाई अनुदान प्रदान गरेपछि आफ्नो थोरै लगानीमा पनि यो प्रविधि उनीहरुले प्रयोग गर्न थालेका हुन् । हाते ट्याक्टरको प्रयाले गर्दा किसानलाई खेतिपाति गर्न निकै सजिलो भएको छ । एकातिर दिनभरीमा हलगोरु र हलिले जोत्ने मेलो हाते ट्याक्टरले ४,५ घण्टामै तयार पारिदिन्छ भने अर्कातिर वर्षैभरी गोरु पाल्नु पर्ने, घाँस काट्नुपर्ने लगायतका दुःख र झण्झट हाते ट्याक्टरले हटाइदिएको छ । त्यहि भएर नै कृषकहरु हाते ट्याक्टरप्रति आकर्षित हुँदै गएका छन् ।

नेपालमा समुद्री सतहभन्दा ७० मिटर उचाइमा रहेको झापाको केचनादेखि २ हजार ७८० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिन्छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पहिला पहिला मार्सी, तौली, थापाचिनियाँ, बासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताइचुङ्ग, विन्देश्वरी, खुमल, मन्सुली, राधा चार आदि विकासे जातका धान लगाइन थालेको छ । धान खेतीको ७९ प्रतिशत क्षेत्रफल विकासे जातका धानखेतीले ओगटेको बताइन्छ ।

‘असारे मासको दबदबे हिलो छी मलाई घीन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो ।
खडेरीले फाटेको यो मन असारमै जोडौँला,
लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौला ।’

प्रतिक्रिया
सम्बन्धित समाचार