शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्रपतिपछि राजनीतिमा कमब्याक, सक्रिय राजनीतिमा फर्किएको विद्या भण्डारीको घोषणा

आइतबार, असार १५ २०८२

काठमाडौं(जस)–पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेकी छन् । जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले आफू नेकपा एमाले परिवारको सदस्यको रुपमा पुनः जोडिएको बताएकी हुन् । दोस्रो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी राष्ट्रपति पदबाट अवकाश लिएकी भण्डारीको यो घोषणाले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । उनले आफ्नो लामो राजनीतिक यात्रालाई नेकपा एमालेबाटै निरन्तरता दिने स्पष्ट पारेकी हुन् । सम्बोधनका क्रममा पूर्व राष्ट्रपति भण्डारीले आफ्नो राजनीतिक जीवनको सुरुवात अनेरास्ववियुबाट भएको स्मरण गरिन् । विद्यालय तहदेखि नै विद्यार्थी आन्दोलन र पार्टीको सम्पर्कमा रहेको उल्लेख गर्दै उनले २०३५÷३६ सालको आन्दोलनले आफूलाई झनै सक्रिय बनाएको बताइन् । अनेरास्ववियुका विभिन्न कमिटीमा काम गर्दै उच्च शिक्षा अध्ययनका क्रममा पनि स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएर विद्यार्थी हितको अभियानमा केन्द्रित भएको उनको भनाइ थियो ।
त्यसबेला नेकपा मालेको नीति अन्तर्गत अगुवा विद्यार्थी नेता कार्यकर्तालाई पार्टीमा जोड्ने परिपाटीले आफू पार्टी राजनीतिमा जोडिएको भण्डारीले उल्लेख गरिन् । निरंकुश निर्दलीय पञ्चायती व्यवस्था विरुद्धको संघर्षका क्रममा नै आफू अनेरास्ववियु र पार्टीको कार्यकर्ताको रुपमा अगाडि बढेको उनले बताइन् । बहुदलीय व्यवस्था प्राप्तिपछिको खुल्ला राजनीतिक वातावरणमा व्यक्तिको जिम्मेवारी र भूमिका बदलिएको सन्दर्भ जोड्दै उनले मदन भण्डारीसँगको वैवाहिक जीवन र सहयात्राबारे चर्चा गरिन् । मदन भण्डारीको व्यस्त राजनीतिक जीवनलाई सहज बनाउन आफूले पारिवारिक दायित्व बढी लिएको र उनको निधनपछि आफ्नो राजनीतिक यात्राले अर्कै मोड लिएको तितो यथार्थ पनि उनले सुनाइन् ।
मदन भण्डारीको निधनपछि राष्ट्र शोकमा रहेकै बेला पार्टीले काठमाडौँको संसदीय उपनिर्वाचनमा आफूलाई उमेदवार बनाएको स्मरण गर्दै उनले त्यो राजनीतिक घटनालाई आफ्नो ’दोस्रो जन्म’ को रुपमा लिएको बताइन् । ’यस राजनीतिक घटनाले मेरो पहिलो जन्म आमा बुवाले दिनुभयो भने मेरो दोस्रो जन्म विद्या भण्डारीको रुपमा काठमाडौँका जनताले दिए भन्ने मैले अनुभूति गरेको थिएँ,’ उनले भनिन् । जनताको माया, विश्वास र पार्टीको भरोसाले निर्वाचन जितेको र सोही बेलादेखि आफूले ’जनताको छोरी’ को रुपमा सम्पूर्ण जीवन राष्ट्रलाई दिने संकल्प गरेको उनले बताइन् । पार्टीले विभिन्न जिम्मेवारी दिँदै संसदीय निर्वाचनमा उमेदवार बनाउने निर्णय गरेपछि आफ्नो राजनीतिक सक्रियता बढेको र क्रमशः उपाध्यक्ष हुँदै राष्ट्रपतिको गरिमामय जिम्मेवारीमा पुगेको भण्डारीले उल्लेख गरिन् । करिब सात वर्ष राष्ट्रपतिको भूमिकामा रहँदा देश र जनताको सेवामा फरक ढंगले क्रियाशील हुनुपर्ने अवस्था बनेको र त्यस अवधिमा आफूले राष्ट्र र नागरिकको स्वाभिमानमा कुनै पनि आँच आउने काम नगरेको दाबी गरिन् । उनले आफ्नो कार्यकाल किताबको खुल्ला पाना जस्तै छर्लङ्ग रहेको बताइन् ।
राष्ट्रपति पदबाट बाहिरिएपछि करिब दुई वर्षको अवधिमा देशका विभिन्न भागमा पुगेर जनता र विज्ञहरूसँग अन्तरक्रिया गरेको अनुभव सुनाउँदै भण्डारीले त्यसबाट एउटा निचोडमा पुगेको बताइन् । उनको निचोड थियो, ’सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो ।’ यही गहन दायित्वलाई पूरा गर्न सबैले अग्रसर हुनुपर्नेमा जोड दिँदै उनले राष्ट्रपति पदबाट बाहिरिएपछि आफ्नो सामाजिक तथा राजनीतिक जीवनबारे संचार जगत र पार्टी पंक्तिबाट समेत चासो व्यक्त भएको उल्लेख गरिन् । यी चासो र सार्वजनिक चर्चा परिचर्चाहरूलाई गहन रुपमा चिन्तन मनन गरी आफू निष्कर्षमा पुगेको र आज त्यसलाई स्पष्ट पार्न आवश्यक ठानेको उनले बताइन् ।
आफ्नो पुनरागमनको उद्देश्य व्यक्तिगत आकांक्षा नभएको स्पष्ट पार्दै भण्डारीले भनिन्, ’मेरो कुनै विशिष्ट आकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो ।’ उनले जननेता मदन भण्डारीका भनाइहरू जनता भनेका भगवान् हुन् र राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैनलाई स्मरण गर्दै तिनै आदर्शलाई व्यवहारमा उतार्दै आफू समर्पित बनिरहेको बताइन् । नेपाली क्रान्तिको मौलिक सिद्धान्त ’जनताको बहुदलीय जनवाद’ (जबज) को मार्गदर्शनमा सामाजिक आर्थिक रुपान्तरण गर्ने दायित्व बाँकी रहेको र यसलाई पूरा गर्न नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रुपमा विकसित नेकपा एमाले सक्षम हुनेमा आफूलाई दृढ विश्वास रहेको भण्डारीले बताइन् । पार्टीको सदस्यको रुपमा पुनः जोडिएको घोषणा गर्दै उनले यो जिम्मेवारीलाई वहन गर्न तयार रहेको संकेत गरिन् । पार्टी नेतृत्व र सिंगो पार्टी परिवारको विश्वासका कारण नै आफू गरिमामय जिम्मेवारीमा पुग्न सफल भएको भन्दै उनले सबैलाई धन्यवाद समेत ज्ञापन गरिन् ।
पूर्वराष्ट्रपतिको यो घोषणाले अब उनी नेकपा एमालेको भावी राजनीतिमा सक्रिय भूमिकामा देखिने निश्चित भएको छ । सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पनि सहभागिता रहेको थियो । तर ओलीले उनको राजनीति यात्राबारे खुलेर नबोलेपनि ईश्वर पोखरेलले भने भने पार्टीलाई उनको स्वागत हुने बताए ।
राष्ट्रपतिपछि राजनीतिमा कमब्याक
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीति क्षेत्रमा लामो र महत्वपूर्ण यात्रा तय गरेकी छन् । उनी पहिलो महिला राष्ट्रपति बन्ने गौरवशाली इतिहास बोकेकी पात्र हुन्, जसले २०७२ सालको संविधान कार्यान्वयनपछि राष्ट्रपतिको पद सम्हालेकी थिइन् । उनको राष्ट्रपतिको कार्यकाल २०७२ देखि २०७९ सालसम्म दोहोरो रूपमा निरन्तर रह्यो । कार्यकालभर उनी राष्ट्रको संवैधानिक संरक्षकको रूपमा खडा भएकी थिइन्, तर केही निर्णयहरूले विवाद पनि निम्त्याए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका दुई घटनामा राष्ट्रपति भण्डारीले उक्त विघटनलाई अनुमोदन गरेकी थिइन्, जसले संविधानको रक्षा र लोकतन्त्रका लागि प्रश्न उठायो । सर्वोच्च अदालतले यी निर्णयहरू उल्टाउँदै संसद् पुनस्र्थापना गराएको थियो ।
राष्ट्रपति पदबाट पछि हटेपछि विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनः प्रवेश गरेकी हुन् । उनले नेकपा एमालेमा पुनः सदस्यता लिइसकेकी छन् । विद्यादेवी भण्डारीको राजनीतिक यात्रा नेपाली राजनीतिमा विभिन्न विवाद र समर्थनबीच रहेको छ । राष्ट्रपतिका रूपमा उनले संवैधानिक मर्यादा र राजनीतिक दबाबबीच सन्तुलन कायम राख्न खोजेकी थिइन् । उनका हालका राजनीतिक गतिविधिहरूले देशको आगामी राजनीतिक परिदृश्यमा ठूलो प्रभाव पार्ने देखिन्छ । यसरी, पूर्व राष्ट्रपति भण्डारीको राजनीति पुनः सक्रिय हुनु नेपाली राजनीतिका लागि महत्वपूर्ण मोड हुनसक्छ, जसले आगामी दिनहरूमा राजनीतिक समीकरणहरूमा नयाँ परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

‘नेकपा एमाले एक छ, टुक्र्याउने सपना नदेखे हुन्छ’
यसैगरी प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकढिक्का भएकाले कसैले टुक्र्याउन नसक्ने बताएका छन्् । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा शनिबार यहाँ आयोजित जबजका तीन दशक कार्यक्रममा उनले एमाले टुक्र्याउने सपना नदेख्न चेतावनी दिए । अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले धुलो पार्न सकिने शक्ति होइन ।” उनले एमाले एक रहेको र एक रहने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले एमालेले सुरु गरेको मिसन–८४ सफल पार्न आग्रह गर्दै नेकपा (एमाले) माक्र्सवादी चिन्तन र बहुदलीय जनवादलाई आत्मसात् गरेकाले निकै बलियो रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीले राष्ट्रिय राजनीतिमा पु¥याएको योगदान र गरेको दिशानिर्देश नेपालको राजनीतिक विकासक्रमको इतिहासमा एउटा विशेष कालखण्ड भएको बताए । “जतिबेला विश्वमा वामपन्थी र समाजवादी आन्दोलनमाथि भयानक सङ्कट पैदा भएको थियो, त्यसबेला मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले)ले नयाँ विचार अगाडि सारेको थियो”, उनले भने, “तत्कालनि परिस्थिति कसरी सामना गर्ने भन्ने अवस्थामा मदन भण्डारीले सोचबुझका साथ समयानुकूल ढङ्गले पार्टीलाई अगाडि बढ्नुभएको थियो ।” आफूहरुले पछिल्ला तीन दशकमा जबजका सिद्धान्त अगाडि बढाउँदै कार्यान्वयन गर्दै आएकोसमेत उल्लेख गरे ।
मदन भण्डारीले आफूलाई समयानुकूल ढङ्गले अगाडि बढाउँदै जनताको बहुदलीय जनवाद (जबज)को विचार निर्माण गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शनिबार पनि नेपाल सोही विचारलाई मियो मानेर अगाडि बढेको बताए । आफूहरुले एमालेको पाँचौँ महाधिवेशनमा जबज सूत्रीकृत गरे पनि यसका सम्पूर्ण आधार भने चौथो महाधिवेशमै बनाएको उल्लेख गरे । “एमालेको चौथो महाधिवेशनले नेपालको राजनीतिक आन्दोलनमा दुई वटा असाधारण योगदान पु¥याएको थियो, ती जबजको बाटो आत्मसात् र मदन भण्डारीलाई महासचिव बनाउने निर्णय थिएँ”, उनले भने ।
प्रधानमन्त्री ओलीले एमालेको चौथो महाधिवेशनले लिएको नीतिले पञ्चायती व्यवस्था ढालेकोसमेत उल्लेख गरे । “चौथो महाधिवेशनले लिएको नीतिले वाममोर्चा निर्माण भयो, नेपाली कांग्रेससँग सहकार्यको नीति अगाडि सघन वार्ता भयो, फलस्वरुप संयुक्त आन्दोलन भई छ महिनामा पञ्चायती व्यवस्था ढल्यो, निरंकुश राजतन्त्र संवैधानिक भयो”, उनले भने । कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू शनिबार स्पेनको औपचारिक भ्रमणमा जान लागेको उल्लेख गर्दै त्यहाँबाट फर्किएपछि हुम्ला सदरमुकाम सिमकोट जोड्ने सडक सञ्जाल उद्घाटन गर्ने बताए । “कर्णालीमा पुल बनेको छ, म स्पेनबाट फर्किएपछि पुल उद्घाटन हुन्छ, त्यसपछि हुम्लाको सदरमुकाम मोटर चढेर जान सकिन्छ, अब नेपालका कुनै पनि सदरमुकाम दुर्गम रहँदैनन्, यो पनि जबजको सफलता हो”, उनले भने । उनले महाकाली सन्धी पक्षमा अहिले पनि एमाले रहेको उल्लेख गर्दै सम्झौता कार्यान्वयन गरिने बताए । “यो सम्झौता कार्यान्वयन गर्नुपर्नेछ, सोही सम्झौताअनुसार हामीले बिजुलीको पैसा र पानी लिएका छौँ, अब पनि दोधारा–चाँदनीबाट थप पानी ल्याउनेछौँ”, उनले भने ।
अवरोध गर्नेको हिसाबकिताब गरिनेछः प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन् । जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब गरिने बताए ।
“हामी अर्जुनदृष्टिका साथ मिसन–८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन”, अध्यक्ष ओलीले भने, “हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।” प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा गत वर्षको भन्दा १४ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए । प्रधानमन्त्री ओलीले मौका परीक्षामा सहभागी हुने र आउने एसइईका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित समाचार