शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बारीका कान्लामा अरिँगाल पालन !

बिहिबार, असार १२ २०८२

म्याग्दी, १२ असार । पाखो बारीको भित्तामा ससाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिँगालका गोला छन् ।

म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाही राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिँगाल पालन गर्छन् । शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिँगाल पाल्न थालेको जानकारी दिए । राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र जामुनाखर्कमा घरको बार्दलीमा उनीसँगै श्रीमती गीताले अरिँगाल पालन गरेका हुन् ।

“नयाँ किसिमको व्यवसाय गर्ने योजनाअनुसार गतवर्ष जङ्गलबाट घरमा ल्याएर गरेको अरिँगाल पालन सफल भएको छ”, गीताले भनिन, “मौरी जसरी नै गोला स्थानान्तरण विधिबाट अरिँगाल पाल्दा यसको संरक्षणसँगै आम्दानीको स्रोत हुने रहेछ ।”

पर्वतको जलजला गाउँपालिकाको लघुउद्यम विकास सहजकर्तासमेत रहेकी गीताको योजनालाई गाउँमा हस्तकला तथा फर्निचर उद्योग सञ्चालन गर्दै आएका श्रीमान् अशोकले साथ दिएका छन् ।

प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिँगालको लार्भा निकाल्न सकिने शाहीले जानकारी दिए । “जङ्गलमा अरिँगालको गोला देखाउनेलाई बिक्री गरेर भएको आम्दानीको आधा रकम दिने गरेका छौँ”, अशोकले भने, “अरिँगालले टोक्न नसक्ने कपडा र सुरक्षा कवच (सेफ्टी बेल्ट) प्रयोग गरी रुखमा चढेर रानीसहितको अरिँगालको गोला ल्याएर पाल्ने गरेका छौँ ।”

“अरिँगाल पाल्न सजिलो काम भने होइन । गोला जङ्गलबाट सार्दा सावधानी अपनाउन सकिएन भने ज्यान जोखिममा पर्छ । अरिँगाल रिसाएर टोक्ने सम्भावना बढी हुन्छ”, अशोकले भने, “बास बसेको समयमा स्थानान्तरण गर्नुपर्छ । मानिसको आवतजावत कम हुने ठाउँमा ल्याएर पालेका छौँ ।” उनका अनुसार रातो र कालो जातका अरिँगाल बढी पाइन्छन् ।

जङ्गलबाट ल्याइएको अरिँगाल २५ प्रतिशत भागेर जाने र ७५ प्रतिशत मात्रै राखेको ठाउँमा बस्ने गरेका शाही दम्पतीको अनुभव छ । “बेनीका होटलमा अरिँगालको लार्भाबाट बनेका परिकार बिक्री हुन्छन् । काँचो लार्भा प्रतिकिलो रु। तीन हजार ५०० का दरले बिक्री हुने गरेको छ”, शाहीले भने ।

गतवर्ष ३० किलो लार्भा उत्पादन गरेका शाही दम्पतीले यस वर्ष २५ वटा गोला पालेर करिब एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेको बताए। “एउटा गोलाबाट एकपटकमा आठ किलोसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक दुई÷दुई महिनामा लार्भा निकाल्न सकिन्छ”, उनले भने ।

पालेका अरिँगाल चरनका लागि जङ्गल र खेतबारीमा जान्छन् । किरा, फट्याङ्जा, विभिन्न प्रजातिका फूल तथा फलफूल अरिँगालका आहारा हुन् । झरी परेको समयमा मासु र फलफूल आहाराका रूपमा दिने गरेको शाहीले बताए ।

शक्तिवर्द्धक मानिने अरिँगालको भुटेको लार्भा प्रतिरिकापी रु ६०० का दरले बिक्री हुने बेनीका होटल व्यवसायी राजन लामाले बताए । अरिँगाल बर्खायाममा बेनीमा आउने पाहुनाको प्रमुख रोजाइमा पर्ने गरेको उनको अनुभव छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिँगालका लार्भा कात्तिकसम्म बिक्री हुन्छन् ।

“अरिँगाल पाल्न सजिलो काम भने होइन । गोला जङ्गलबाट सार्दा सावधानी अपनाउन सकिएन भने ज्यान जोखिममा पर्छ । अरिँगाल रिसाएर टोक्ने सम्भावना बढी हुन्छ”, अशोकले भने, “बास बसेको समयमा स्थानान्तरण गर्नुपर्छ । मानिसको आवतजावत कम हुने ठाउँमा ल्याएर पालेका छौँ ।” उनका अनुसार रातो र कालो जातका अरिँगाल बढी पाइन्छन् ।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले अरिँगाल पालन म्याग्दीमा नयाँ वनजन्य उद्यम भएको बताए । “लार्भाका लागि गोला पोलेर अरिँगालको वंश नै नष्ट गर्नुभन्दा पालन गर्दा यसको संरक्षण पनि हुने, आम्दानी पनि हुन्छ”, उनले भने “जोखिम भएकाले अरिँगाल पालनमा सावधानी भने अपनाउन आवश्यक छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार