शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

पतञ्जलि जग्गा प्रकरणमा माधव नेपाल ३५ लाख धरौटीमा रिहा

बुधबार, असार ११ २०८२

काठमाडौं(जस)–विशेष अदालतले पतञ्जलि समूहलाई जग्गा हदबन्दी छुटमा दिने निर्णयमार्फत आर्थिक अपचलन गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बुधबार थुनछेक बहस सकिएसँगै विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड रुपैयाँ बिगो दाबी गर्दै जेठ २२ गते नेपालसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले पतञ्जलि योगपीठलाई लाभ दिने गरी मन्त्रिपरिषदबाट निर्णय गराएको आरोप लगाएको छ । अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, विशेष सरकारी वकिल मोहन सागर बस्याललगायतले बहस गरेका थिए । नेपालको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, खम्बबहादुर खाती, कृष्णप्रसाद भण्डारी र रमण श्रेष्ठले बहस गर्दै ‘मन्त्रिपरिषद्को सामूहिक निर्णयमा व्यक्तिगत आरोप लगाउन मिल्दैन’ भन्ने जिकिर गरेका थिए । नेपालका पक्षबाट ५० जनाले वकालतनामा दिए पनि केहीले मात्र बहस गरेका थिए । ०६९ सालमै अख्तियारले सो जग्गाबारे अनुगमन गर्न काभ्रेको मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।
जेठ २२ गते १८ करोड रुपैयाँको बिगोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाललाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जारी बहसका लागि नेपालका पक्षबाट ५० जनाले वकालतनामा लेखाए पनि केहीले मात्रै बहस गरेका थिए । अख्तियारको तर्फबाट ५ जनाले बहस गरेका थिए । ०६९ सालमै अख्तियारले ५ वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रेपलाञ्चोक मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको थियो । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएको हो ।
पतञ्जलीको नेपाल प्रमुख शालिग्राम सिंह, केही जग्गा व्यवसायी र सरकारी निकायका अधिकारी मिलेर गैरकानुनी रूपमा ३५३ रोपनी जग्गा अपचलन गरेको उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको थियो । अख्तियारले बुधबार नै पूर्व प्रधानमन्त्री नेपालसँग बयान पनि लिएको थियो। बयान दिन नेपाल अख्तियारमै पुगेका थिए । २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलिलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती र गाई फार्म चलाउन काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।
सोही स्वीकृतिबमोजिम बनेपा नगरपालिकाको साँगा, नासिकास्थान र चलाल गणेशस्थान (महेन्द्र ज्योति) क्षेत्रमा पतञ्जलीले ५९३ रोपनीभन्दा केही बढी जग्गा खरिद गरेको पाइएको छ । उद्योग र शैक्षिक प्रतिष्ठान स्थापनाका लागि किनिएको उक्त जग्गा चैत ६ र २६ गते बेच्न स्वीकृति दिइएको छ, जुन भूमिसम्बन्धी विद्यमान कानुन प्रतिकूल छ । हदबन्दी छुटमा किनिएको जग्गामध्ये ३५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचेको भेटिएको छ । पतञ्जलीका लागि धुलिखेलमा ८८ रोपनी जग्गा किनेको फेला परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार