शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय : जंगली जनावरको बढ्दो आतङ्क

बिहिबार, असार ५ २०८२

केही दिनदेखि देशका बिभिन्न स्थानमा जंगली जनावरहरु मानव वस्तीमा प्रवेश गरी मानिस तथा घर पालुवा जनावरलाई आक्रमण गरी ज्यान नै लिने मात्र होइन, अन्न बालीसमेत सखाप पार्न थालेका घटना बिभिन्न सञ्चारमाध्यबाट सार्वजनिक भइरहेका छन् ।
यसैक्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा २१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोन रहेका छन् । ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा बुधबार बिहान क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

त्यसैगरी धादिङको नीकलण्ठ नगरपालिका–५ खाल्टे, डाँडागाउँ क्षेत्रमा बाघ आतङ्क बढेको छ । केही दिनदेखि मानव वस्ती नजिकैको खेतबारीमा बाघ देखिँदा स्थानीयहरु एक्लैदुक्लै हिँड्न पनि डराउ थालेका छन् । एक हप्ताअघि कोशीखोला फलामे निवासी यदुकुमार रिमालले घर मास्तिरको वनमा चराउँदै गरेको खशी बाघले आँखै अगाडिबाट तानेर लगेको थियो । सोही स्थानमा तीन दिन अघि मात्रै सोही बाघले स्थानीय भिमकुमारी रिमाललाई आक्रमण गर्न खोजेको थियो । यसरी गाउँमा दिन दहाडै बाघ देखा पर्दा सोही क्षेत्रको जंगलको बाटोहुँदै विद्यालय जाने बालबालिका र उनीहरुका अभिभावकहरु पनि त्रसित बनेका छन् । यसबारेमा जिल्ला वन कार्यालय, स्थानीय सरकार, जनप्रतिनिधि र सरकारवाला निकायले समयमै ध्यान दिनुपर्ने र आफूहरुको जिउज्यानको सुरक्षा हुनुपर्ने स्थानीयको माग छ ।

यस्ता घटना पटक–पटक भइरहँदा कृषकहरुले अधिकाँश जमिन बाँझै राख्न थालेका छन् । यी समस्या समाधान गर्नका लागि स्थानीय सरकारले कृषकलाई जंगली जनावर धपाउने औजार र प्राविधिक उपलब्ध गराउनुपर्ने माग दैनदिन बढिरहेको छ । जंगली जनावरलाई पासोमा पारेर मार्न नेपालको वनजंगल सम्बन्धी कानूनले दिँदैन । तसर्थ गाउँ वस्तीमै प्रवेश गर्ने बाघ, भालु जंगली हात्ती जस्ता हिंस्रक जनावारहरु भगाउन तालिमप्राप्त प्राविधिकहरु स्थानीय पालिकाले खटाउन जरुरी छ ।

यसैगरी झापाको मेचीनगरमा हात्तीको समूहको आवतजावत धेरै नै बढ्न थालेपछि त्यसबाट हुनसक्ने क्षति कम गर्नका लागि नेपाली सेनाको सहयोग माग्ने निर्णय सरोकारवालाले गरेका छन् । मेचीनगर नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय झापाले सरोकारवाला निकायसँग छलफल गरेपछि ठुलो मात्रामा हात्ती आइरहने गरेकाले नेपाली सेनाले गर्न सक्ने सहयोगका बारेमा अरिदमन गणका गणपतिलाई आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गर्ने निर्णय गरेका छन् ।

बाहुनडाँगी क्षेत्रमा केही दिन यता हात्तीका हुलका हुल आएपछि स्थानीय भयभित हुने गरेका छन् । यहाँ हात्तीले वर्षेनी मकैखेती, फलफूल खेतीमा मात्र नभई मानिसका घरहरुमा पनि ठूलो क्षती पुर्याउने गरेको छ । यी त केही प्रतिनिधि घटना मात्र हुन् । देशका बिभिन्न राष्ट्रिय निकुञ्जका वरिपरीका वस्तीका जनता त दैनिकजसो घाँसपात गर्न जंगलमा जाँदा जंगली जनावरको आक्रमणमा पर्ने गरेका छन् । बर्दिया जिल्ला त झन यस्तो घटान हुने अग्रस्थानमा पर्छ ।

ती स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बलका कार्यालयहरुसमेत भएपनि जंगली जनावर मानव वस्तीमा प्रवेश गरेर बिध्वंश मच्चाउने घटना न्यूनिकरण हुन सकेका छैनन् । अहिले देशका अधिकाँश स्थानका कृषकले मकैखेती गरिरहेका छन् । मकैमा जंगली जनावरहरु बाँदर, दुम्सी र बँदेलले कृषकहरुलाई निकै कष्ट दिने गरेका छन् । दिनभरी खेतबारी रुँघेर जोगाइएका बाली रातभरी जंगली जनावर पसेर सखाप पार्दा देशका अधिकाँश कृषक आजित नै भएका छन् । यस्ता घटना पटक–पटक भइरहँदा कृषकहरुले अधिकाँश जमिन बाँझै राख्न थालेका छन् । यी समस्या समाधान गर्नका लागि स्थानीय सरकारले कृषकलाई जंगली जनावर धपाउने औजार र प्राविधिक उपलब्ध गराउनुपर्ने माग दैनदिन बढिरहेको छ । जंगली जनावरलाई पासोमा पारेर मार्न नेपालको वनजंगल सम्बन्धी कानूनले दिँदैन । तसर्थ गाउँ वस्तीमै प्रवेश गर्ने बाघ, भालु जंगली हात्ती जस्ता हिंस्रक जनावारहरु भगाउन तालिमप्राप्त प्राविधिकहरु स्थानीय पालिकाले खटाउन जरुरी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार