काठमाडौं ।परराष्ट्र मन्त्रालयले इरान र इजरायलबीच जारी युद्धका कारण मध्यपूर्वी देशको यात्रा नगर्न आग्रह गरेको छ । बुधबार ट्राभल एडभाइजरी जारी गर्दै परराष्ट्र मन्त्रालयले उक्त आग्रह गरेको हो । ‘इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य कुनै प्रायोजनको लागि जाने तयारी गरिरहेका नेपाली नागरिकहरूलाई हालको जटिल परिस्थित कायम रहेसम्म त्यस्ता भ्रमण तथा यत्रा नगर्नू, त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नू,’ परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरीमा भनेको छ ।
इजरायल–इरानबीच विकसित घटनाक्रमलाई सरकारले नजिकबाट नियालिरहेको र त्यस स्थानमा रहेको नेपालीहरू हालसम्म सुरक्षित रहेको मन्त्रालयको भनाइ छ । दुई देशबीचको द्वन्द्वले हवाईमार्ग बन्द रहेकाले तेस्रो मुलुक हुँदै नेपाल फर्किनुपर्ने अवस्था आउन सक्ने भन्दै परराष्ट्र मन्त्रालयले त्यसका लागि ट्रान्जिट भिसाको आवश्यकता परे त्यसका लागि सहजीकरण गरिदिने आश्वासन पनि दिएको छ । त्यस्तै इजरायल र इरानमा रहेका नेपालीहरूलाई आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राख्न र सेल्टरबाहेक बाहिर ननिस्किन आग्रह गरेको छ । त्यस्तै इजरायल सरकारले जारी गरेको सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी लिन र त्यसको पालना गर्न पनि परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।

