सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मुसिकोट नगरपालिकाको छेरामा मिनिट्रक र मोटरसाइकल ठोकिँदा दुई जना घाइते

शुक्रबार, जेष्ठ ३० २०८२

रुकुमपश्चिम, ३० जेठ । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ छेरामा मिनिट्रक र मोटरसाइकल ठोकिँदा दुई जना घाइते भएका छन् ।

शुक्रबार बिहान मुसीकोट नगरपालिका–४ को सोलाबाङबाट माछिमीतर्फ जाँदै गरेको रा ५ प ७० नम्बरको मोटरसाइकल सानीभेरीको सिम्लीबाट दाङतर्फ जाँदै गरेको रा १ ख १४९३ नम्बरको मिनिट्रकमा ठोक्किएको हो ।

दुर्घटनाको खबर लगत्तै घटनास्थल पुगेका त्रि सिद्धेश्वरी राप्ती यातायात समितिका रुकुम इन्चार्ज टेकबहादुर बिकले दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुईजना घाइते भएको जानकारी दिए । घाइते हुनेहरुमा रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका ७ निवासी टीकाराम केसी र भीमप्रकाश डाँगी रहेको इन्चार्ज बिकले बताए ।

घाइतेहरूलाई प्रहरी चौकी सोलाबाङका इन्चार्ज गणेश बिक, स्थानीयलगायतका टोलीले उद्धार गरेर जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । दुवैजना घाइतेलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

ट्रक चालक सल्यानका निर्मल बिक फरार रहेको र उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ । ट्रक भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार