शनिबार, कार्तिक ८ २०८३

शनिबार, कार्तिक ८ २०८३

साउदी अरवमा रहेका नेपालीहरुको हक अधिकारका लागि दूताबास सधैँ तत्पर छ (अन्तर्वार्ता)

बिहिबार, जेष्ठ २९ २०८२

–डा. नरेशविक्रम ढकाल
नेपाली राजदूत साउदी अरव

तपाइँ साउदीमा राजदूत भएर आएपछि यहाँका काम कसरी गरिरहनुभएको छ ?
अहिले मेरो यहाँ छैटौँ महिना बितिरहेको छ । मैले धेरै कुरा सिक्ने अवसरका रुपमा यो अवधिलाई लिएको छु । यहाँको नेपाली समूदाय, यहाँको वातावरण, नेपालीहरुले भोग्नुपरेका सस्या र दूताबासले गर्नुपर्ने कामकारबाहीका बारेमा धेरै सिक्ने मौका पाएको छु । थप केही कार्यहरु गर्नका लागि हामी तयारीमा पनि छौँ ।

दूताबासबाट अहिले के कस्ता सेवाहरु दिइरहनुभएको छ ?
दैनिक कम्तिमा पनि पाँचसय भन्दा धेरै पासपोर्ट नवीकरण गर्ने, श्रमिकहरुले लिएर आएका समस्याहरु जस्तैः एउटा कम्पनी भनेर नेपालबाट आएको तर अर्कै कम्पनीमा पठाइएको, सम्झौता पत्रमा उल्लेख भएबमोजिमको तलब नपाएको जस्ता समस्या तथा गुनासाहरु लिएर आउनेहरु हुनुहुन्छ । त्यसैगरी कम्पनीमा दु्ई वर्षका लागि भनेर आएको तर दुई वर्षपछि नेपाल फर्किने प्रकृया थाहा नपाएको समस्या लिएर पनि धेरै नेपाली दाजुभाइ दिदी बहिनीहरु आउनुहुन्छ । यहाँ गैरकानूनीरुपमा बसिरहेका र नेपाल फर्किन चाहनेहरुको केस पनि आउँछ । तर यस्तो केस भने निकै कम छ । यहाँ दुई दिनमा एक नेपालीको मृत्यु हुन्छ । औसतमा वर्षमा दुई सय नेपालीको ज्यान जाने गरेको छ । नेपालबाट उहाँहरुको परिवारले छिटो शव पठाउनका लागि माग गरिरहनुहुन्छ । उहाँहरुले कम्पनीबाट पाउने सेवा सुविधासहितको शव पठाउन हामी लगिरहेका हुन्छौँ । यो क्षेत्रमा नै हाम्रो बढी समय खर्चिन परेको छ ।

यहाँबाट पासपोर्ट बनाउन कत्तिको सहज छ ?
हाम्रो जनशक्तिले दिनमा ५–६ सयको पासपोर्ट बनाउँन सक्छौँ । हाम्रो जनशक्ति त्यो काम गर्न सक्षम छ । तर, यहाँका भूगोल निकै ठुलो छ । कार्यरत कम्पनीबाट नेपालीहरुलाई दूताबासम्म आइपुग्न यातायात, अर्थिक, सयम लगायका दृष्टिले निकै समस्या छ । हामी जहाँ धेरै नेपालीहरु हुनुहुन्छ, त्यहाँ दुई महिनामा कम्तिमा दुई दिन पासपोर्ट क्याम्प नै सञ्चाालन गर्छौ । जस्तै दमाम एसियामा नेपालीहरुको संख्या ठुलो रहेको छ । हामी दुई दिनमा कम्तिमा पनि एक हजार जनाको पासपोर्ट रिन्यू गर्ने काम गर्छौँ । यसले गर्दा उहाँहरु दूताबाससम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । उहाँहरुले खर्च कम, हैरानी र सास्ती भोग्नु पर्दैन ।

साउदीमा मृत्यु भएका कामदारको शव नेपाल पठाउने काम ढिला हुने गरेको छ, यसका पछाडि के कारणहरु छन् ?
नेपालीको शव स्वदेश पठाउने मात्र प्रमुख कार्य होइन । उसको कसरी मृत्यु भयो, कम्पनीबाट पाउनुपर्ने सेवा सुविधाहरु के के छन् भन्ने कुराहरु भेरिफाई गरेर शव पठाउनुपर्दा केही समय लाग्ने गरेको हो । उसको नेचुरेल डेथ हो वा एक्सिडेन्टल डेथ हो त्यो हस्पिटलबाट भेरिफाई हुनुपर्यो । उसको एक्सिडेन्टल डेथ हो भने प्रहरीले रिपोर्ट दिनुपर्छ । कुनै केसहरु कम्प्लिकेटेड भई इन्भेष्टिगेशनमा जानुपर्ने हुन्छ, यहाँको कानूनी प्रकृया पुरा गर्नुपर्ने हुन्छ । त्यसले गर्दा नेपालमा शव पठाउन समय लाग्ने गर्छ । अर्को कुरा भूगोलका कारणले कुन मान्छेको कहाँ मृत्यु भयो भन्ने कुरा दूताबासलाई समयमै थाहा हुँदैन । नेपालीहरुलाई थाहा भएपनि उसले पहिला नेपालमा रहेका घरपरिवारलाई जानकारी दिन्छ, दूतावासमा उनीहरुको एक्सेस हुँदैन । नेपालबाट आएर सिधै कम्पनीको काममा जोडिँदा उनीहरुलाई प्रकृयाका बारेमा थाहा नै हुँदैन । अधिकाँश मृत्युका घटना सडक दुर्घटनाका कारण हुने गरेको पाइन्छ । कहाँबाट बाटो काट्ने, जेब्रा क्रसिङ कहाँ छ ? यसको काम के हो भन्ने बारेमा नै उनीहरु जानकार हुँदैनन् । आफैंले गाडी चलाउँदा दुर्घटना भएर मृत्यु हुने केस पनि यहाँ धेरै छन् । नेचुरल डेथका बारेमा नेपालीहरु धेरै नै सचेत हुनुपर्ने देखिन्छ । म अर्काको देशमा आएको छु, यहाँबाट म बँचेर स्वदेश फकिनुपर्छ, नेपालमा मेरा घर परिवारहरु छन् भन्ने कुरा हरदम सोचेर काम गर्नुपर्छ । कम्पनीले समयमै तलव नदिँदा र कामदारले समयमै स्वदेशमा पैसा पठाउन नसक्दा, आफू विदेश आउँदा लिएको ऋणको ब्याज समयमै तिर्न नसक्दा कतिपय कामदारहरु डिप्रेसनमा जाने गरेको पनि बिभिन्न अध्ययनले देखाएका छन् । उसले मृत्यु नै समाधानको बाटो हो भन्ने सेचेर आफैँ मृत्युवरण रोज्ने गरेको पाइन्छ । त्यसैले परिवारले पनि अनावश्यक तनाव दिनु हुँदैन ।

नेपालीहरुका कतिपय समस्यहरु त टेलिफोनबाटै पनि समाधान गर्न सकिन्छ । तर, दूतावासको टेलिफोन नैं उठ्दैन भन्ने जनगुनासाहरु पनि छन् नि ।
यो गुनासोलाई मैले स्वभाविक रुपमा नै लिन्छु । एउटै व्यक्तिले तीन चारवटा फोन एकैपटक उठाउन त सक्दैन । तर जहाँ नेपालीहरुको धेरै बसोबास रहेको छ, त्यहाँ हामीले दूतावासको प्रतिनिधिको रुपमा एक जनालाई नियुक्ति दिएर पठाएका छौंँ । उसले त्यहाँ सहजीकरणका काम गर्ने गरेको छ । उसले त्यहाँ गर्न सक्ने आफैँ गरिदिने र गर्न नसक्ने कामका डकुमेन्ट दूतावासमा पठाउने, टेलिफोन रिसिभ गर्ने, गुनासाहरु सुन्ने काम गरिरहेका छन् । हामीले अहिले एउटा पकेट बुक तयार गर्दैछौंँ । त्यसमा के कन्टेन्ट हुने भन्ने विषय हामीले टुङ्ग्याइसकेका छौँ । यो बुकमा हामीले नेपाली कामदारले के के गर्न हुने, के के गर्न नुहने, यहाँ आएपछि के समस्या पर्यो भने के गर्ने, कसलाई भन्ने, लगायतका समाधानका विषय समेटर हामीले त्यो पकेट बुक प्रकाशन गर्दै छौंँ । हामी नेपाली श्रमिकहरुका लागि कस्तो प्रकृतिको समस्या, गुनासो वा घटानको लागि कति नम्बरमा फोन गर्ने भनेर नम्बर उपलब्ध गराएका छौं । त्यो हटलाइन नम्बर हो । हाम्रो जनशक्तिले भ्याउने गरी जनगुनासो सकेसम्म नआउँनुगरी काम गरिरहेका छौंँ । कतिपय समस्या समाधानका बारेमा च्याट जीपीटी, युट्युव, समाजिक सञ्जालमा पनि डकुमेन्टहरु उपलब्ध छन् । तिनको उचित प्रयोग गर्न जान्ने हो भने धेरै कुरा हल हुन्छन् ।

नेपालीहरुलाई कम्पनीले समयमा तलव नदिने, एउटा भनेर अर्को काम लगाउने, नेपाल फर्किने बिदा नपाउने गुनासाका बारेमा दूताबासले कसरी काम गरिरहेको छ ?
जुन कम्पनीले तलव कम दियो भन्ने उजुरी हामीकहाँ अएका छन्, ती कम्पनीको कामदार माग प्रमाणिकरण रोकेका छौंँ । कतिपय समस्या समाधान पनि भएका छन् । कतिपयका डकुमेन्टहरु अझै पनि पेन्डिङमै छन् । हाम्रो उद्देश्य नेपाली मेनपावर कम्पनीलाई सहयोग त गर्ने हो तर नेपाली कामदारको हितलाई ध्यानमा राखेर मात्र सहयोग गर्छाँै । उहाँहरुले ल्याउने फाइलमा सेलरी सिट उल्लेख भएको हुनैपर्ने, कामदारको फोन नं हुनैपर्ने र ती मेनपावरले हिजोका दिनमा गरेका कमी कमजोरी र उनीहरुमार्फत आएका नेपालीहरुले पाइरहेका दुःख, समस्या र उजुरी समाधान नभइकन हामी एप्रुभल नै दिदैनौँ । हामीले त्यस्ता कम्पनीलाई ब्ल्याकलिष्ट नै गरेर राखेका हुन्छौँ, यो हाम्रो सिस्टममै हुन्छ । गल्ती गर्ने कम्पनीले मेनपावर परिवर्तन गरेर चोरबाटोबाट फाइल छिराउन खोजेपनि कम्प्युटर सिस्टमले छिर्नै दिँदैन । जसरी नेपालका मेनपावरहरुको रेकर्ड नेपाल सरकारसँग हुन्छ, त्यसैगरी यहाँका कम्पिनीको पनि दूताबासमा ट्रयाक रेकर्ड हुन्छ । पुरानो समस्या समाधान गरि त्यही कम्पनी वा मेनपावरको अर्को फाइल आयो भने पनि फाइल अगाडि बढ्दैनन् । त्यस्ता फाइल यहाँ धेरै छन् । हामीले कुनै पनि फाइलको अटेश्टेशनको प्रकृया पन्ध्र दिन भित्रमा सक्नुपर्छ । पहिलो चरणमा अपरेटरले फाइल हेर्ने, पुरानो रेकर्ड के छ त्यो हेर्ने हुन्छ । दोस्रो चरणमा त्यसको प्रमाणिकरण गर्ने । भेरिफाइमा लेवर इस्यू के कस्तो छ त्यो हेर्ने काम हुन्छ । र, अन्तिममा अप्रुभ गर्ने काम हुन्छ । तीनवटै चरण पुरा गर्दा स्वाभाविक रुपमा समय त लाग्छ । हाम्रो तर्फबाट कुनै राजा मेनपावर र कुनै रैती मेनवापर हुने अवस्था र व्यवहार हुँदैन ।

यहाँ धेरै सप्लाई कम्पनीबाट पनि नेपाली कामदारहरु ल्याइने गरेका छन् । उनीहरुका समस्याप्रति दूताबास कत्तिको सचेत छ ?
हामीले हेर्ने भनेको कम्पनीको विगतको रेकर्ड नै हो । समस्याग्रस्त कम्पनी छ भने उसको फाइल नै एपु्रभ हुँदैन । सप्लाई कम्पनीले नेपाली कामदारलाई ल्याएर कुन कम्पनीमा पठाउँछ, त्यो दूताबासलाई थाहा हुने विषय होइन । सप्लाई कम्पनीमार्फत भोलि कुनै नेपालीलाई समस्या पर्यो वा गुनासो आयो भने हामीले डिमान्ड ल्याउने कम्पनीमाथि नै एक्शन लिने हो । म राजदूत भएर आएदेखि सप्लाई कम्पनीकै कारण कुनै गुनासो आएको छैन । हामीलाई एनआरएनहरुले पनि सहयोग गरिरहनुभएको छ । ती हाम्रा स्टेकहोल्डरहरु नै भएकाले हामी आपसी सहकार्य गरेर नै अगाडि बढ्छौँ । हामी आगामी अढाई वर्ष भित्रमा आफ्नै भवनबाट कार्य थालनी गर्ने तयारीमा छौँ । नेपाल सरकारले पनि यसमा तदारुकता देखाएको छ । म यहाँको राजा तथा राजपरिवारलाई पनि नेपाल भ्रमणमा लैजानु पर्छ भन्ने मान्यतामा छु । यहाँस्थित नेपाली राजदूताबास भवन बनिसकेपछि त्यसको उद्घाटनका लागि नेपालबाट प्रधानमन्त्री, मन्त्री वा अन्य उच्च पदस्थ अधिकारीहरु अफिसियल्ली आउनुहुनेछ । त्यतिबेला पनि यहाँको राजपरिवारलाई अफिसियल्ली इन्भाइट त हुन्छ नैं । यसले गर्दा नेपाल र साउदी अरवको मित्रता अझै प्रगाढ हुने विश्वास लिएको छु । म यो प्रयत्नमा छु, आशा गरौँ, साउदी अरवबाट उच्च तहको नेतृत्वलाई नेपाल भ्रमण गराउन हामी सफल हुनेछौँ । त्यसका लागि मिडियाको पनि भूमिका हुनेछ भन्ने आशा गरेको छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार