काठमाडौं(एजेन्सी)–भारतको अअहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २०४ पुगेको छ । २३० यात्रु र १२ जना क्रु मेम्बरसहित २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो । अहमदावाद प्रहरीले २०४ जनाको शव फेला परेको जनाएको छ । साथै ४१ जनाको अस्पतालमा उपचार भइरहेको समेत जनाएको छ । सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो । त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।
बिहीबार लण्डन जाँदै गरेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटना हुँदा ठूलो क्षति भएको हो । “अहमदाबादको त्रासदीले हामीलाई स्तब्ध र दुःखी बनाएको छ। एयर इन्डियाको उडान नम्बर १७१ उडेको केही क्षणमा नै दुर्घटनाग्रस्त भएको हृदयविदारक घटनाले विश्वलाई नै स्तब्ध बनाएको छ,” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् । हमदावाद शहरका प्रहरी आयुक्त जीएस मलिकले एएफपीसँग भने, “दुर्घटनामा कोही पनि बाँच्न सफल भएको जस्तो देखिएको छैन ।” उनले भने, “विमान आवासीय र केही कार्यालय भएको क्षेत्रमा खसेकाले हताहत हुनेको सङ्ख्या पनि बढी हुन सक्छ ।”
घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, “हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ । हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो तल्लाबाट हामफालेको देखेका छौँ । विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो ।” विमानमा दुई चालकसहित १० चालक दलका सदस्य गरी २४२ जना सवार रहेको भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । एयर इन्डियाका अनुसार लण्डन ग्याटविकका लागि उडेको विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडियाली यात्रु सवार थिए ।
बेलायती प्रधानमन्त्री केइर स्टार्मरले दुर्घटनाका दृश्यहरू ‘विनाशकारी’ देखिएको ‘गहिरो शोकको घडीमा’ पीडित यात्रु र उनीहरूका परिवारहरूलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी एक सन्देशमा भनेका छन् । नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानले खतराको सूचक ‘मे डे’ कल जारी गरेको थियो र उडान भरेलगत्तै विमानस्थलको परिधिबाहिर दुर्घटनाग्रस्त भएको थियो । भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादमा करिब ८० लाख मानिसको बसोबास छ र व्यस्त विमानस्थल घना बस्तीले घेरिएको छ ।
स्थानीय पुनम पटनीले एएफपीसँग भनिने, “जब हामी घटनास्थलमा पुग्यौँ त्यहाँ धेरै शवहरू थिए र अग्निनियन्त्रकहरूले आगो निभाइरहेका थिए ।” “धेरै शव जलेर चिन्न नसकिने अवस्थामा भेटिएका छन्,” उनले भनिन । भारतको राष्ट्रिय सुरक्षा निकाय ‘सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स’ले सार्वजनिक गरेको तस्वीरमा विमानको पछाडिको भाग एउटा भवनमा ठोक्किएको देखिएको छ । विमान अहमदाबादको सिभिल अस्पताल र शहरको ‘हर्स क्याम्प’ नजिकैको क्षेत्रमा खसेको थियो ।
भारतले घातक हवाई दुर्घटनाहरूको शृङ्खलाको सामना गरेको छ । यसमा सन् १९९६ को दुर्घटना पनि समावेश छ । त्यसबेला दुई जेट नयाँदिल्लीमाथि हावामा ठोक्किएर करिब तीन सय ५० जनाको ज्यान गएको थियो । सन् २०१० मा दक्षिण पश्चिम भारतको मङ्गलोर विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको जेट दुर्घटना भएर आगो लागेको थियो । उक्त दुर्घटनामा एक सय ६६ यात्रु र चालक दलका सदस्यमध्ये एक सय ५८ जनाको मृत्यु भएको थियो । दशकौँअघि सन् १९८५ जुनमा मन्ट्रियलबाट लन्डन उडेको एयर इन्डिया बोइङ ७४७ आयरल्यान्डको समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा तीन सय २९ जना यात्रु सवार थिए र कोही पनि बाँचेनन् । उग्रवादी सिखहरूले विमानले बोकेको सामानमा बम राखेको एउटा भारतीय आयोगले निर्धारण गरेको थियो ।