हुम्ला, २६ जेठ । अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाको वडा नं. १, २ र ३ को श्रीनगरलाई खानेपानी आपूर्ति हुँदै आएको च्याम खोलाको मुहानमा बर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दै जादा श्रीनगरमा समस्या भएको हो ।
श्रीनगरका स्थायी बासिन्दा ७४ वर्षीया बिर्ष महताराले जिल्लाकै घना बस्तीमा पर्ने गाउँपालिका केन्द्रमा हाल खानेपानीको समस्या चरम रुपमा देखिएको बताए । उनले सार्वजनिक धारामा आधामा १ घण्टा मात्र पानी आउने भएका कारण पानी भर्नका लागि चौबीसै घण्टा पानी भर्ने ग्यालेन लाइनमा राख्नुपरिरहेको बताए । यहाँ हरेक वर्षको चैतबाट खानेपानिको समस्या हुने र साउनदेखि मात्रै सबै तिर मुहान फुट्दा पानी सहज हुने गरेको बताए ।
खानेपानीको अन्य विकल्प नभएपछि घरको एक जना मानिसको काम लाइनमा बसेर पालो आएको बेला पानी भर्ने रहेको बताउँदै उनले जति समय लागे पनि लाइनमा बसेर पानी भर्नुको अन्य विकल्प नभएको गुनासो गरे । पानी भर्नकै लागि उपभोक्ताहरुले राति १–२ बजे उठेर लाइनमा बस्नुपर्ने बाध्यता छ । यतिबेला पानीको स्रोत कम भएकै कारण स्थानीयले खानेपानीका लागि दुःख भोग्नु पर्ने अवस्था छ ।
मानिसका लागि मात्र नभएर श्रीनगरका पशुवस्तुलाई समेत सोही धाराबाट पानी खुवाउने गर्छन् । अर्का स्थानीय हेलु भण्डारीले पानीको समस्याका कारण ग्यालेनमा भरेर ल्याएको पानी बचत गरेर खर्च गर्नुपर्ने अवस्था रहेको बताए । दस जना परिवार भएको उनको घरमा दैनिक एक गाग्री पानी मात्रै पाइरहेका छन् ।
आफूले पानीका लागि मुहानम भएको सबै स्रोतबाट पानी ल्याउने प्रयास भए पनि धारासम्म पुर्याउन नसकिएको बताएका छन् ।
धारामा पानी नआएपछि बजारवासीले कर्णाली करिडोरको गल्फागाड खोला, वडा नम्बर ४ को अधेरीखोलाबाट समेत पानी ओसार्ने गर्छन् । १५ सयभन्दा बढी घरधुरी रहेको श्रीनगरमा प्रहरी चौकी, कर्मचारीहरुका लागि जम्मा तीन वटा सार्वजनिक धारा छन् । त्यसैबाट सबैपानीको व्यवस्था गर्नुपर्ने बाध्यता उपभोक्तामा छ । यतिबेला खोलाको पानी समेत निकै धमिलो भएका कारण सो पानी खादा गाउँमा सङ्क्रमण रोगहरु फैलिने चिन्ता स्थानीयमा छ ।
अदानचुली गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा एक घर एक धाराको व्यवस्था गर्ने नीति लिएको पनि झण्डै दुई वर्ष वितिसकेको भए पनि पूर्णता पाएको छैन । हाल श्रीनगरका लागि ल्याइएको खानेपानी वडा नम्बर ५ को स्रोत हो । जसले गर्दा दुई वडाका बिचमा समेत बेला बेला विवाद हुने गरेको छ ।