काठमाडौं(जस)–नेपालको प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक फोनपे ले “फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५” को औपचारिक सुरुवात गरेको छ। देशभरका विश्वविद्यालयस्तरीय विद्यार्थीहरूलाई डिजिटल वित्तीय साक्षरता, फिनटेक नवीनता र सामाजिक नेतृत्वमा सशक्त बनाउने उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रममा १५० विद्यार्थीको सहभागिता सुनिश्चित गरिएको छ । कार्यक्रम अन्तर्गत देशभरबाट प्राप्त १७० भन्दा बढी आवेदनमध्ये ७५ टोली छनोट गरिएको फोनपेले जनाएको छ। हरेक टोली दुई जना विद्यार्थीबाट बनेको छ, जसले आ–आफ्नो कलेज र प्रदेशको प्रतिनिधित्व गर्दै आठ हप्ते नेतृत्व विकास यात्रामा सहभागी हुनेछन् ।
फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रमको मुख्य उद्देश्य डिजिटल समावेशी नेपालको निर्माणमा युवा पुस्तालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्नु हो । फोनपेकी मार्केटिङ प्रमुख सलिना नकर्मी भन्छिन्,“हामी युवाको शक्ति र परिवर्तन ल्याउने क्षमतामा विश्वास गर्छौं। स्टुडेन्ट एम्बेसडर कार्यक्रममार्फत उनीहरूलाई आवश्यक सीप दिन चाहन्छौं, जसले उनीहरूले सिकेको ज्ञान आफ्ना अभिभावक र समुदायमा बाँड्न सकून् । यो केवल नेतृत्व निर्माणको कार्यक्रम होइन, यो सामूहिक सशक्तिकरणको अभियान हो ।”
कार्यक्रमको विशेष पहल “टाइम टु टीच ब्याक” अन्तर्गत विद्यार्थीहरूलाई आफ्ना अभिभावक तथा वृद्ध समुदायलाई डिजिटल भुक्तानी प्रणाली र उपकरण प्रयोग गर्न सिकाउने अवसर प्रदान गरिनेछ । यसले पुस्ताबीचको डिजिटल दूरी घटाउने अपेक्षा गरिएको छ । कार्यक्रम अवधिभर सहभागी विद्यार्थीहरूले डिजिटल भुक्तानी प्रवद्र्धन, सामग्री सिर्जना, सञ्चार रणनीति विकास, र समुदायमा सचेतना अभियान सञ्चालन जस्ता विभिन्न अभ्यासात्मक कार्यमा संलग्न हुनेछन् ।
उनीहरू फोनपे स्टुडेन्ट एम्बेसडर का रूपमा आफ्ना कलेज र स्थानीय तहमा डिजिटल रूपान्तरणको अभियन्ता बन्नेछन् । छनोटमा परेका विद्यार्थीहरू नेपालभरका विविध शैक्षिक संस्थाबाट प्रतिनिधित्व गरिरहेका छन्, जसले कार्यक्रमको राष्ट्रिय पहुँच र शैक्षिक विविधता झल्काउँछ । फोनपेको यो कार्यक्रमलाई नयाँ पुस्ताको क्षमता अभिवृद्धि गर्दै समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने दिशामा एक सशक्त कदमका रूपमा हेरिएको छ ।