काठमाडौं, १८ जेठ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले नेपाली समुदायको तर्फबाट कतारको सामुदायिक प्रहरी विभागसँग छलफल गरेको छ ।
परिषद्ले हालै कतारको आन्तरिक मन्त्रालय अन्तर्गतको सामुदायिक प्रहरी विभागका निर्देशकसँग विशेष छलफल गरेको हो । यस छलफलको उद्देश्य नेपाली समुदायको सुरक्षामा सहयोग र सहकार्यलाई अझ मजबुत बनाउनु रहेको परिषद्का महासचिव रबिन मगरले जनाएका छन् ।
महासचिव मगरका अनुसार चारवटै सामुदायिक प्रहरी कार्यालयसँग परिचय र सम्बन्ध मजबुत बनाउन आफूहरु इच्छुक रहेको र यसले संचार र सहकार्यलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ । त्यसैगरी छलफलले प्रवासी कामदारहरूका लागि सुरक्षा, अधिकार र उपलब्ध सहयोगबारे जनचेतना दिने कार्यक्रम आयोजना गर्ने योजना बनाउनुकासाथै हरेक तीन महिनामा नेपाली समुदायद्वारा जनचेतना कार्यक्रम गर्न हलको माग गरिएको छ।
त्यसैगरी डुङगा प्रयोग गर्नेहरूमाझ पानी सुरक्षा सम्बन्धी जनचेतना फैलाउन लाइफ ज्याकेट प्रयोगलाई अनिवार्य बनाउने अभियान सञ्चालन गरिनेबारे छलफल भएको छ भने कतारी समाज र प्रवासी समुदायबीच समझदारी र सांस्कृतिक आदानप्रदान बढाउन संयुक्त कार्यक्रमको प्रस्ताव राखिएको छ ।
महासचिव मगरका अनुसार लिमोजीन सेवा प्रदान गर्ने चालकहरूका लागि यातायात नियम र सुरक्षित ड्राइभिङ्गबारे तालिमको योजना बनाइएको छ। विश्व वातावरण दिवसमा पंक्षी (शान्तिको प्रतीक) उडाउने कार्यक्रम गरी दुवै समुदायले वातावरण संरक्षणप्रति प्रतिबद्धता देखाउने बारेमा पनि छलफल भएको छ ।
कामदारहरूका लागि स्वास्थ्य परीक्षण शिविर आयोजना गर्न प्रहरी विभागसँग सहकार्य गर्ने, महिला प्रवासीहरूको सुरक्षामा केन्द्रित विशेष जनचेतना कार्यक्रम सञ्चालन गरिने, लागूपदार्थ र मदिरा दुरुपयोग विरुद्ध जनचेतना फैलाउने र प्रहरीलाई सहयोग गर्ने, कतारका विशेष राष्ट्रिय दिवसहरूमा सामान्य अपराधमा जेल सजाय भोगिरहेका नेपाली कैदीहरूको माफीको लागि अनुरोध गर्नेबारेमा पनि छलफल भएको थियो ।